
महेश खरेल काभ्रेको पाँचखाल नगरपालिकाका मेयर हुन् । राजनीतिक पारिवारिक पृष्ठभूमि भएका मेयर त्यसक्षेत्रका उदियमान नेताका रुपमा परिचित छन् ।
अमेरिकामा अध्ययन गरेर फर्किएका खरेलले पार्टीहरुलाई गुटले बिगारेको धारणा राख्छन् ।
आफ्नो गुटको नेताले गरेको गल्तीमा पनि कार्यकर्ताले औँला ठड्याउन नसक्दा राजनीतिमा विसंगति मिसिएको उनको तर्क छ ।
प्रस्तुत छ, मेयर भएपछि गरेका काम, आगामी योजना, पार्टी राजनीतिलगायतका विषयमा मेयर खरेलसँग बाह्रखरीले गरेको कुराकानी :
यहाँको कार्यकाल लगभग पूरा हुने चरणमा छ । आफूले आफ्नो मूल्यांकन गर्दा कति काम गर्न सकेँ या सकिन भन्ने लाग्छ ?
हामीले जनप्रतिनिधिको रुपमा शपथ खाएर काम गरेको लगभग ५० महिना भयो । इमान्दारितापूर्वक भन्नुपर्छ सुरुको पहिलो वर्ष धेरै कुरा सिक्नमा नै लाग्यो ।
प्रदेश तह र स्थानीयतहबीच अधिकार, कानुन स्रोतको बाँडफाँडका कुरा थिए । तीनैतहमा समन्वय पनि भयो । दोस्रो वर्षबाट राम्रोसँग काम गर्न थाल्यौँ । हामीले के विचार गर्यौँ भने केन्द्रमा र प्रदेशमा दल, वादको नाममा विभाजन देखिएको छ, त्यसले मुलुकलाई राम्रो गरेको छैन भनेर हामीले पाँचखालमा एकताबद्ध गर्न सफल भयौं ।
म पार्टीगत हिसाबमा अल्पमतमा थिएँ । तर त्यो कुरा कहिल्यै आउन दिएनौँ । हरेक निर्णय सर्वसम्मत गर्यौँ ।
कर बढी लिनेभन्दा पनि करको दायरा फराकिलो पारेर सबैलाई करको दायरमा ल्याउन लाग्यौँ । काभ्रे जिल्लामा नै सबैभन्दा कम कर लगायौँ ।
अन्यत्रभन्दा ७०–८० प्रतिशत कर छुट गरेर किसानलाई सहज हुने नीति निर्माण गर्यौँ ।
त्यसबाहेक ?
त्यसपछि हामीले केन्द्रीय सरकारको नीति एक गाउँपालिका एक कालोपत्रे सडक अवधारणा अघि सार्यौँ ।
हामीले एक वडा कम्तिमा एक कालोपत्रे सडक भन्यौँ ।
५० महिनाको अवधिमा १२ वटै वडामा १८ वटा बाटो कालोपत्रे गरिसकेका छौं । एउटा वडाको बाँकी छ । यो वर्ष हामी त्यो पनि गर्दैछौँ ।
एउटा वडामा सीमित नभएर हरेक विद्यालयमा कालोपत्रे सडक पुर्याउने, प्रमुख मठ मन्दिर, स्वास्थ्यचौकी र वडा कार्यालयमा कालोपत्रे सडक पुर्याउने भन्ने लक्ष्य पनि छ ।
त्यसबाहेक सबैभन्दा ठूलो उपलब्धि सुनकोशी खानेपानी आयोजना एडिबी र नगर विकासँग सम्झौता गर्न सफल भयौँ ।
सम्झौतामात्रै होइन टेन्डर पनि लागेर पाइप बिच्याउने काम भइरहेको छ ।
प्रत्येक नगरबासीको घरमा एक घर एक धारा नारा दिएका थियौँ । त्यसै स्वच्छ खानेपानी एक वर्षमा पुर्याउछौँ ।
रोजगारी सिर्जना गर्ने दिशामा हामीले स्पेशल इकोनोमिक जोन सेज (विशेष आर्थिक क्षेत्र) सरकारले घोषणामात्र गरेको थियो । वर्षेनी बजेट आउने तर काम गर्न नसक्ने ।
त्यहाँ सुकुम्बासी थिए, वन उपभोक्ता समितिको विवाद थियो । हामी निर्वाचित भएको एक वर्षभित्रमा सबै समस्याको समाधान गर्यौँ । बजेट आउनु ठूलो कुरा होइन । त्यहाँ निर्माणको काम थालिएको छ ।
त्यहाँ ४७ वटा उद्योग स्थापना हुँदैछ । ४ हजार रोजगारी सिर्जना हुँदैछ । हामीले कृषिमैत्री र वातावरण मैत्री उद्योगलाई प्रोत्साहन गर्यौँ । तीन हजार रोजगारी भनेका थियौँ ।
ठूला लगानीमा फार्म हाउस बनिरहेको छ । जसले सय जना बढी रोजगारी सिर्जना गरिरहेको छ । सानोसानो फार्म हाउसलाई पनि प्रोत्साहन गर्यौँ । उहाँँहरुलाई सफ्ट लोन लिनका लागि समन्वय गरिहेका छौँ ।
पाँचखालमा तीन हजार होइन सात हजार रोजगारी सिर्जना हुन गइरहेको छ ।
हरितमहिला औद्योगिक ग्रामलाई सय रोपनी जग्गा दिइसकेका छौं ।
महिला उद्यमीहरुका लागि स्थानीय तरकारी, फलफुलहरुलाई ब्रान्डिङ गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच बनाउनका लागि काम गरेका छौँ ।
प्रदेश सरकारसँग समन्वय गरेर अर्गानिक मल पाँचखालमा नै बनाउनका लागि काम सुरु भइसकेको छ । यो वर्ष उत्पादन पनि सुरु हुन्छ ।
त्यहाँको पातपतिङ्गर, रातो माटो र उत्पादन भएको जैविक फोहोरलाई संकलन गरेर मल बनाउन लागिरहेका छौँ ।
योबाहेक पाँचखाल नगरपालिकामा रोजगारी, खानेपानी, कालोपत्रे सडकको लागि दुईवटा रिङरोडको ट्र्याक खोलिसकेका छौँ । एउटाको अलिक काम बाँकी छ ।
हामीले खेत जोगाएर भावी पुस्तालाई कस्तो हुन्छ भनेर देखाउनकमा लागि सञ्चय गर्छौँ । बाली लाग्ने खेतमा प्लटिङ, प्यानिङमापूर्ण रोक लगाएका छौँ ।
हामीले घरका लागि नक्सा पास गर्दा नै सेफ्टिट्याङ्की अनिवार्य गरेका छौँ । ढल बनाउँदैनौं । त्यो सम्भव पनि छैन ।
नेपालको विद्युत नेपालमा नै खपत गर्न सकियोस् र पेट्रोलियम पदार्थ बाहिरबाट आयात गर्न नपरोस् भनेर हामीले रकम नेपालमा नै जोगाउन नयाँ अध्यास पनि सुरु गरेका छौं ।
कोभिडको बेलामा एफएम रेडियोबाट पठनपाठन सुरु गर्यौं । हामीले नगरपालिकामा शिक्षकको भिडियो क्लिप्स बनाएर अभिभावकहरुलाई म्यासेन्जरमा पठाउने काम पनि गर्यौँ ।
एक विद्यालय एक बालबालिका पार्क अवधारणा ल्याएका छौँ ।
अतिविपन्न विद्यार्थीहरुलाई विभिन्न संघसंस्थासँग हातेमालो गरेर स्टेसनरी सामान, झोला वितरण गरेका छौं ।
हामी चुनाव जित्नेबितिकै काठमाडौं विश्वविद्यालयसँग एउटा सम्झौता गर्यौँ । पाँच सय रोपनी जग्गा पनि उहाँहरुलाई उपलब्ध गराइसकेका छौं ।
त्यस्त राष्ट्रपति र प्रधानमन्त्रीले विश्वविद्यालयको सिटी नै स्थापना गर्ने आग्रह गरेपछि वन क्षेत्रको १२ हजार रोपनी मदन भण्डारी स्टेट युनिभर्सिटीका लागि दियौँ । यो पटकको बजेटमा एक अर्ब रुपैँया आएको छ ।
युवा विदेशमा जान नपरोस् भन्ने मेरो उद्देश्य रहेको छ । म पनि १४ वर्ष विदेश बसेको परिवारसँग छुट्टिएर बस्नुको पीडा महसुस गरेको छु ।
पाँचखाललाई जबको हबकोरुपमा विकास गर्दैछौँ ।
पाँचखाललाई एउटा सुनको कचौराको रुपमा भविष्य भएको काठमाडौंको वैकल्पिक सहरको रुपमा हामीले पी ट्वान्टी (पाँचखाल इन ट्वान्टी इयर्स) को अवधारण ल्याएका छौँ । त्यो मेरो भिजन पनि हो ।
कति वर्षमा पाँचखाल सुनको कचौरा हुन्छ ?
पाँचाखाल पहिलेदेखि सुन नै हो । त्यो हामीले चिनेका थिएनौं । कृषकहरुले जुन खेती गर्दै आउनुभएको थियो । त्यस्तो खेतीले कुनै पनि कृषकले प्रगति गर्न सक्नुभएन । धेरै किसानका छोराछोरी विदेश पलायन हुनुभयो ।
त्यो स्थितिको अन्त्य गर्नका लागि पाँचखालको माटोको गुणस्तर सुधार गर्नलाई एकलाख किलो चुन वितरण गरिसकेका छौँ ।
हामीले आईपिएम पाठशाला स्थापना गरेका छौँ । ६ सय कृषकलाई लव ग्रीन नेपाल र युसएआइडीबाट तालिम दिलाएका छाैँ ।
तालिम लिएकाले अरुलाई सिकाइरहनुभएको छ । गाउँमा नै जैविक मल र विषादीको मल बनाउने तालिम पनि दिइरहेका छौं ।
प्रत्येक श्रीमान् र श्रीमतीले काम गरेर आफ्नो तलब ३० हजारको दरले छुट्ट्याएर त्यससहित एक परिवारले १० लाख कमाउनैपर्छ ।
वार्षिक रुपमा १० लाख कमाउन लागि सफ्ट लोन लिन एभरेष्ट, कृषि विकास र मुक्तिनाथ विकास बैंकसँग सहकार्य गरिरहेका छौँ ।
क्रेडिट कार्ड दिन पनि सहकार्य गरिरहेका छौँ । कृषकलाई लोन लिन सहयोग गर्ने डेस्क स्थापना पनि गरिसकेका छौं ।
लोन लिएर उक्त आम्दानी गर्नका लागि टर्की पालन, बोयर बोका, लोकल कुखुराका अण्डा, कालिज, गाई, भैंसी, बंगुर पालन गरिरहेका छौँ ।
सुन हामीसँग थियो । सुनको कचौरा पहिचान गर्दैछौँ । पाँचवर्षभित्र पाँचखालमा धेरै परिवर्तन देखिन्छ । चाँडै नै पाँचखाललाई काठमाडौंको वैकल्पिक सहरका रुपमा स्थापित गर्दैछौँ ।
लकडाउनका कारण किसानका तरकारी बारीमा कुहिए । ती किसानहरुलाई के सहयोग गर्नुभयो । उत्पादन गरेका सामग्रीको व्यवस्थापन कसरी गर्नुभयो त ?
अघिल्लो लकडाउन हुँदा किसान मारमा पर्नुहुन्छ भनेर हामीले अरु नगरपालिकाले कृषकको दुध भर्न बन्द गरे हामीले कहिल्यै बन्द गरेनौँ ।
हामीले भीडभाड नहोस् भनेर ६ बजेभन्दा अघि दुध भर्ने र सातबजे अघि नै बिक्री गर्ने व्यवस्था मिलायौँ । दुधको डेरी र संकलन गर्ने ठाउँमा साबुन पानी, मास्क, सेनिटाइजरलगायत सामग्रीको वितरण गर्यौँ । लकडाउन र निषेधाज्ञामा दुध खेर गएन । यो कुरामा हामी खुसी छौँ ।
लकडाउनका कारण पार्टी प्यालेस, होटेल, होटेल बन्द भएकाले तरकारीले मूल्य पाएनन् ।
तर, हामीले पहुँच पुर्याउन उपत्यकाबाहेक तनहुँ, दमौली, सिन्धुली, सिन्धुपाल्चोकलगायतका जिल्लासँग समन्वय गरेर तरकारीबाट कोरोना फैलिँदैन बिना अवरोध तरकारी पठाउने व्यवस्था मिलाइदिन आग्रह गरेर त्यहाँसम्म पुर्यायौँ । खेर जान दिएनौं ।
यो वर्ष तरकारीको राम्रै मूल्य पनि पाइरहनुभएको छ । किसानहरु सन्तुष्ट पनि हुनुहुन्छ । कतै गाडी रोकिए राति २ बजे भए पनि मआफैँ गएर छुटाएको पनि छु ।
कृषका लागि मेरो हटलाईन जतिबेला पनि खुला हुन्छ ।
कोरोनाको जोखिमबाट जनता बचाउन के गर्नुभयो ?
कोभिड–१९ मा जब भारतीय सीमाक्षेत्रबाट बिना चेकजाँच नेपालीहरु छिरिरहेको, केन्द्रीय सरकार र प्रदेशको लापरबाही हामीले देख्यौं । पाँचखालमा ढिलो चाँडो कोरोनाको कहर आउँछ भन्ने मूल्यांकन गरेर तुरुन्त आकस्मिक बैठक डाकेर २५ वटा अक्सिजनसहितको आइसोलेसन बेड स्थापना गर्यौँ । हामीले घरघरमा बिरामी भएको ठाउँमा अक्सिजन सिलिन्डर पुर्यायौैँ ।
निःशुल्क अक्सिजन, ल्याब, रगत परीक्षण, डिजिटल एक्सरे गरेर कोभिडका बिरामीहरुलाई निःशुल्क उपचार गर्यौँ ।
हामीले निःशुल्क एम्बुलेन्सको व्यवस्था पनि गर्यौँ ।
जनप्रतिनिधिको गाडीलाई एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई प्रयोग गर्न दियौँ । मेरो निजी गाडी पनि स्वास्थ्यकर्मी चढ्न प्रयोग भएको छ । हामीले अतिविपन्न नागरिकको उपचार गर्न १० हजार दिने निर्णय गर्यौँ । प्रत्येक वडा, टोलटोलमा स्वाब परीक्षण गर्न गयौँ । काभ्रे जिल्लामा सबैभन्दा बढी हामीले पीसीआर परीक्षण गरायौँ र टोलटोलको अवस्था मुल्यांकन गरेर बेलैमा नगर सिल गर्यौं । समयमा नै लकडाउन कडा गर्यौँ त्यसको परिणाम राम्रो देखियो ।
५० प्रतिशतभन्दा बढी रहेको पोजेटिभ दर अहिले निकै तल झर्यो ।
हामीले घरघरमा संक्रमितहरुलाई स्वास्थ्य शाखाबाट फोन गर्ने, स्वास्थ्य अबस्थाबारे बुझ्ने कामलाई निरन्तरता दियौँ ।
गाह्रो भएको भए टोलटोलमा डाक्टरको घुम्ती सेवा, घरघरमा गएर ज्वरो नाप्ने बढी भएकाले आफैँले अस्पताल ल्यायौँ ।
रातदिन नभनी जनप्रतिनिधि र स्वाथ्यकर्मी मिलेर धेरैको जीवन रक्षा गर्न सक्यौं ।
नागरिकलाई कोरोनाको बेला राज्य छ है भन्ने आभास दिलायौं । प्रत्येक दिनको अपडेट सामाजिक सञ्जाल, वेबसाइटमा दियौँ । म आफैं लाइभमा पनि बसेर दिएँ । नागरिकको जीवन रक्षाका लागि भूमिका खेल्न पायौं ।
चुनौती के रहेछ स्थानीय तहमा ?
दृढ इच्छा शक्ति नै सबैभन्दा ठूलो कुरा हो । आफ्नो स्वार्थबाटमाथि उठ्नुपर्छ । पदमा पुगेर यसलाई जागिर पेशाको रुपमा गरेको हाम्रै अघि ज्वलन्त रुपमा देखिन्छ । केही वर्षमा नै चप्पलबाट पजेरोसम्म हैसियत पुग्यो, गाउँको छाप्रोबाट काठमाडौंमा ठूलाठूला महल भए भन्ने कुरा देखेर जनतामा वितृष्णा पनि छायो ।
त्यसैले राजनीतिलाई पेशा होइन सेवाको भावना लिएर र दृढ इच्छाशक्ति भयो भने काम गर्न सकिने रहेछ । यो पार्टी त्यो पार्टीभन्दा पनि दलबादबाट माथि उठेर सबैलाई समेटेर ज–जसले काम गर्न सक्नुभएको छ । उहाँहरु सफल हुनुभएको छ ।
हामीकहाँ कर्मचारी र जनप्रनिधिबीच आजको दिनसम्म विवाद नै छैन । मेयर र उपमेयरबीच विवाद नै छैन । अधिकारको बाँडफाँडमा उपमेयरलाई मात्रै होइन वडा अध्यक्षलाई पनि कार्यवाहक मेयरको जिम्मेवारी दिएर देशभरी नै ज्वलन्त नेतृत्वको अभ्यास सुरु गरेका छौँ ।
किनभने उहाँहरु पनि भोलि मेयर भएर चलाउनका लागि सक्षम हुनुप¥यो भनेर नौलो अभ्यास गरिरहेका छौँ ।
विशेषगरी स्वार्थभन्दा माथि उठ्नुपर्यो । पानीको मूल सफा त धारमा पानी सफा आउँछ । नेतृत्व गर्ने व्यक्तिको मनसाय सही हुनुपर्यो । जनताप्रति उत्तरदायी हुनुपर्यो ।
त्यसका लागि सबैले चेक पनि गर्नुपर्यो । स्थानीय तहमा काम गर्न हामीलाई असहज भएन ।
तपाईँ नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुन्छ । त्यहाँ एमाले वा अर्को पार्टीको बाहुल्यता होला । संघमा, प्रदेशमा अर्को पार्टीको बाहुल्यता हुँदा चुनौती महसुस हुँदैन ?
चुनौती महसुस त भयो नै । तर, संघ र प्रदेशको दुवै माननीयसँग पाँचखाल नगरपालिकालाई अघि बढाउने विषयमा सौहार्दरुपमा नै छलफल भए ।
हामी नै पहिलो पालिका हो काभ्रेमा संघबाट निर्वाचित गोकुल बाँस्कोटा र प्रदेशबाट निर्वाचित लक्ष्मण लम्साललाई नगरपालिकामा सम्मान गर्ने ।
कार्यक्रममा बोलाउने, छलफल गर्ने, विकास निर्माणका कुरामा सल्लाह गर्नेलगायतका काम हुन्छ ।
त्यसैले उहाँहरुले पनि अलि बढी पाँचखाललाई माया गरिदिनुभयो । स्थानीय निकायमा विकास गर्न सकिने रोल मोडल विकास गर्यौँ ।
अझै त्यहीँ रहेर जनताको सेवा गर्न तयार हुनुुहुन्छ कि त्यहाँँ भन्दामाथि उठेर आफ्नो दायरा फराकिलो बनाउन चाहनुहुन्छ ?
मलाई कृष्णप्रसाद भट्टराई किसुनजीले साह्रै माया गर्नुहुन्थ्यो । उहाँले मलाई सधैं भन्नुभयो, बाबु राजनीति जहिले पनि सेवाको भावनाबाट गर ।
राजनीतिलाई पेशाको रुपमा कहिल्यै नगुर्नू भन्नुहुन्थ्यो । मेरो बुबाले पनि सधैँ निष्ठाको राजनीति गर्नुभयो ।
बुबाले पनि ठूलो मान्छे बन्ने प्रयास कहिल्यै नगर्नु असल मान्छे बन्नु भन्नुभयो ।
उहाँलाई बीपी कोइरालाले पनि त्यही भन्नुहुन्थ्यो रे । मैले जनताको सेवा गर्नमात्रै जानेँ । म चौध वर्ष अमेरिका बसेर सुख सुविधा त्यागेर, सुख छोडेर दुःखभित्र सुख खोज्न आएको मान्छे ।
म कमाउन होइन, सेवा गर्नका लागि आएको हुँ ।
मेरो उद्देश्य कुनै न कुनै भूमिकामा बसेर नेपाली नागरिक जनताको सेवा गर्ने, बाहिर आफूले सिकेर आएका कुरालाई व्यवहारमा लागु गर्ने हो ।
पार्टी र जनताले पत्याएको खण्डमा स्थानीय निकाय होस्, प्रदेश संघमा होस् आफ्नो बुद्धि विवेकले भ्याएसम्म विकास र सेवा गर्न तयार छु ।
यो खालको पार्टी पोलिटिक्समा त्यो सम्भव हुन्छ ?
राजनीतिले युवापुस्ता आम नागरिकहरुलाई डिप्रेशन नै भइसकेको छ । तर, किनारामा बसेर मात्रै राजनीति गर्ने मान्छे खराब छन्, घृणित छ, फोहोरी खेल हो भनेर दोषारोपण गर्दा त यो झन् घृणित भएर जाने भयो । त्यसैले यसमा पढेका युवाहरु आउनुपर्छ । काम र व्यवसाय गर्न सक्षम युवाहरु जोडिनुपर्छ ।
विस्तारै हाम्रो पुस्ताबाट सुरु हँुदैछ । तमाम युवापुस्तारुलाई अघि बढाउन पनि राजनीतिमा मेरो उपस्थिति हो । जब युवाहरु किनारामा बसेर दोषारोपण भन्दा पनि त्यहीँभित्र छिरेर संघर्ष त्यस्ता तत्वहरुलाई हराएर सेवा गर्ने भावना भएका व्यक्तिहरुलाई राजनीतिमा स्थापित हुन जरुरी छ । केही दशकमा पूरा हुन्छ जस्तो पनि लाग्छ ।
राष्ट्रिय राजनीतिमा देखिएको तरंगले समस्या सिर्जना गर्दैन ?
धेरै गर्छ । अहिले के भएको छ भने पार्टी पार्टीभित्र पनि आफ्नो गुटले जे गरे पनि धुपपत्ति बालेर पुजा गर्ने, आफ्ना नेताले भ्रष्टाचार गरे पनि ढाकछोप गर्ने, आफ्ना नेताले जस्तोसुकै काम गरे पनि बढाइचढाई कुरा गर्ने प्रवृति छ त्यसको अन्त्य हुनुपर्छ ।
जबसम्म आफ्ना मान्छेलाई चाकडी गरेर सरुवा बढुवा गर्न नेताकहाँ गएर झुक्ने चलन, कर्मचारीतन्त्र, आम नागरिकले जबसम्म नेतालाई मालिक बनाउन छाड्नुहुन्न त्यसबेलासम्म राजनीति सुधारिँदैन ।
हामीले दासत्वबाट मुक्ति गर्नका लागि राणाशासन, पञ्चायत शासनविरुद्ध संघर्ष गर्न तयार भयौँ । तर त्यही ल्याएर नेतालाई छोटे राजा बनाइदिएका छौँ । हामी शासक होइन, राजनीतिक पदमा भएका व्यक्ति सेवक हौँ ।
सेवकलाई सेवककै हैसियतमा राख्नुपर्यो । शासक बनाइदिनुभएन । त्यो गरिदिए खराब राजनीतिक संस्कार अन्त्य भएर जानेछ ।
अब, पार्टीभित्र युवाहरुले हस्तक्षेप गर्ने बेला भएन ? पार्टी नै नसङ्लिए कसरी राष्ट्रिय राजनीति राम्रो हुन्छ ?
नेपाली कांग्रेस सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी हो । विभिन्न कालखण्डमा अग्रज व्यक्तित्वहरुले नेतृत्व गर्नुभयो । निष्ठा इमान्दारिता र त्यागको राजनीति नेपालमा स्थापित गरेर जानुभएको छ ।
मूल्यमान्यताको राजनीति किसुनजी, गणेशमानजी, बीपी, सुवर्ण शमशेर, सुशील कोइरालाले गर्नुभयो । बाँकी रहेका नेतृत्वको इतिहासले मुल्यांकन गर्छ । त्यसबाट हामीले धेरै कुरा देख्यौं र सिक्यौं । हाम्रो पार्टीभित्र पनि यो अधिवेशनबाट युवाहरुद्वारा संघर्ष हुन्छ । पुरानो नेतृत्व यसपटक विस्थापित हुनेछन् भन्ने विश्वास लिएको छु ।
तपाईँ आफू नेतृत्वको लागि तयार हुनुहुन्छ ?
पक्कै पनि । म नेतृत्व गर्नकै लागि राजनीतिमा आएको हुँ । अहिले स्थानीय निकाय, क्षेत्रीय स्तरमा गरिरहेको छु । एकदिन पार्टीको केन्द्रीय राजनीतिमा गएर आफूलाई स्थापित गर्ने र नेपालको सेवा गर्ने मेरो लक्ष्य छ । मेरो अभियान कहाँसम्म सफल हुन्छ । भाग्य, मेहनत र स्वाथ्यले साथ दिएसम्म केन्द्रीय राजनीतिमा स्थापित हुन्छु ।
कांग्रेसलाई लोकतान्त्रिक पद्धतिबाट डोर्याएर नेपाललाई एकाइसौं शताब्दीको नेपाल, रोजगारीको समस्या नभएको नेपाल, अवसर नै अवसरको नेपालका बनाउनका लागि एउटा भिजनसहित आएको छु ।
यसपटक केन्द्रीय सदस्यमा उमेदवारी दिुनुहुन्छ ?
पार्टीले आवश्यकता ठानेको खण्डमा साथीभाइहरुले त्यो कुरामा प्रोत्साहित गनुहुन्छ भने म केन्द्रीय राजनीतिमा जान तयार छु ।
कांग्रेसमा गुटको राजनीति बढी छ । तपाईंहरुलाई पनि त्यसको प्रभाव त अवश्य पर्छ होला नि ?
नेपाली कांग्रेस र सबै पार्टीमा गुट उपगुट देखियो । कांग्रेसमा पहिले किसुनजी र गिरिजाबाबुको एक किसिमको लाइन देख्यौं । संघर्ष पनि देख्यौँ । दुवैतिर शिखर पुरुष हुनुहुन्थ्यो । त्यसपछि गिरिजाबाबु र शेरबहादुर देउवाबीच पर्यो ।
पछि सुशील दा’ र शेरबहादुर देउवाबीच पर्यो । अहिले पछिल्लो अवस्थामा कृष्णप्रसाद सिटौला दाइले पनि भिन्नै गुट खोल्नुभयो । त्यसपछि मान्छेहरुलाई गुटको राजनीति फाप्ने रहेछ, सानोसानो समूह बनाएर भए पनि हामी अघि बढ्दा फाइदा हुनेरहेछ भन्ने गलत नजिर स्थापना भएको छ । मभन्दा अग्रज दोस्रो पुस्ताका नेता हुनुहुन्छ उहाँहरुले यो कुरा बुझेर गुट भन्दा पनि महाधिवेशनमा एक्लाएक्लै जानुपर्छ, आफूलाई प्रमाणित गर्नुपर्छ ।
गुटको वैशाखी टेकेर स्थापित हुने होइन कि आफैँले काम गरेर कति कार्यकर्ताको मन रिझाउन सकेको रहेछु, कति असल काम गर्न सकेको रहेछु भनेर हेर्ने हिम्मत चाहिँ गर्नुपर्छ ।
सभापति महामन्त्रीमा एउटा गुट होला त्यो आफ्नो ठाउँमा छ । तर त्यसबाहेक सबै बिनागुट एक्लाएक्लै लड्ने हिम्मत गर्नुपर्छ । परीक्षण गर्नुपर्छ ।