site stats
बाह्रखरी :: Baahrakhari
विशेष
पुष्प व्यवसायीको पीडा– जोत्नुको विकल्प छैन 

चितवन । निषेधाज्ञाका कारण सभा, समारोह, विवाहत्सोव, धार्मिक अनुष्ठान ठप्प छ । जसले गर्दा यी गतिविधिमा निर्भर सहयोगी व्यवसायी थप मर्कामा परेका छन् । त्यसमध्येको एक हो, फूल खेती ।

चितवनमा फुलिसकेका फूल त्यसै ओइल्याएका छन् । कतिपय किसानले फूल बिक्री नहुँदा जोतेर समेत फाल्नुपरेको छ । निषेधाज्ञाका कारण फूलले बजार नपाउँदा किसान समस्यामा परेका हुन् ।

“निषेधाज्ञामा मेरो १२ कट्ठामा लगाएको गोदावरी फूलले बजार नपाउँदा सबै जोतेर फालेँ,” नेपाल फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष प्रकाश पन्त भन्छन् । हाल उनको नर्सरीमा अब आउने सिजनको लागि फूल लगाउन बिरुवा तयार छन् । तर, जारी निषेधाज्ञा कहिलेसम्म लम्बिने हो र यसको असर कहिलेसम्म पर्ने निश्चित छैन ।

यो डेढ महिनाको अवधिमा मात्र झन्डै पाँच लाख रुपैयाँ बराबरको फूल जोतेर फाल्नुपरेको उनले सुनाए । उनीजस्तै व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने अरु किसानको अवस्था पनि पन्तको भन्दा फरक छैन । निषेधाज्ञा र कोरोना कहर अनिश्चित हुँदै जाँदा नर्सरीबाट बारीमा फूल लगाउन पनि किसानले छाडेका छन् ।

विशेषगरी काठमाडौं र पोखरालगायत सहरहरुमा यहाँको फूल लैजाने गरिन्छ । “चितवनमा त फूल बिक्री नै छैन भन्दा हुन्छ,” भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, “मेरोमा अहिले सयपत्री पशुपति आर्यघाटबाट केही अर्डर छ ।”

चर्को भाडा तिरेर फूल काठमाडौं पठाउने गरेको उनले बताए । सयपत्री फूल एक गाडीको १० हजार रुपैयाँ तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा बिक्री गर्नुपरेकोे उनले बताए । “भएका फूल बिक्री हुनै छाडे, नयाँ फूल लगाए पनि बिक्रीको कुनै ग्यारेन्टी नै छैन,” पाख्रिनले भने । निषेधाज्ञाको अनिश्चितता र विभिन्न सभा–समारोहले अनुमति पाउने कुनै टुंगो नभएकोले नयाँ फूल लगाउन जाँगर नै नभएको उनको भनाइ छ ।

पछिल्लो दशकमा चितवनमा फूल खेतीमा आकर्षण बढ्दै गएको थियो । तर, गत वर्षदेखि कोरोना महामारीका यसमा पनि असर परेको छ । “फूललाई न भन्डारण गर्न सकिन्छ न अहिले बिक्री नै भएको छ,” अर्का किसान कमल अर्याल भन्छन् ।

उनले दुई वर्षअघि मात्र फूल खेती सुरु गरेका हुन् । “जब मैले फूल खेती सुरु गरेँ, त्यस समयदेखि नै लकडाउन र निषेधाज्ञा सुरु भयो,” उनले दुखेसो पोखे ।

हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञाका कारण सबै फूल जोत्न लागेको उनले बताए । “यो फूल तयार भएपछि एक हप्ताभन्दा बढी राख्नै मिल्दैन,” अर्यालले भने, “निषेधाज्ञा खुल्ने टुंगो पनि छैन । जोत्नुको विकल्प पनि छैन ।”

करिब डेढ महिनाअघिदेखिको निषेधाज्ञाले चितवनको पुष्प व्यवसायमा पाँच करोड रुपैयाँ बराबरको नोक्सान भएको अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार निषेधाज्ञाअघि तयार भएका फूल बिक्री नहुँदा र निषेधाज्ञापछि जोतेर नष्ट गर्नुपर्दा फूल किसानलाई घाटा भएको हो ।

निषेधाज्ञाका कारण अर्डर गरिएका फूल पनि बजारमा जान नसक्दा र अधिकांश शुभकार्यहरु रोकिँदा यसको असर फूल व्यवसायमा परेको अध्यक्ष पन्तले बताए । यस्तै अवस्था रहिरहे अधिकांश फूल खेती किसान विस्थापित हुने र फूलको लागि फेरि भारतलगायत मुलुकसँग भरपर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

एसोसिएसनले दिएको जानकारीअनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुँदै आएको छ । यहाँ व्यावसायिक फूल खेती गर्नेको संख्या ५० को हाराहारीमा छ भने फूलको नर्सरी र गार्डेनिङ गर्नेको संख्या  २०  को हाराहारीमा छ । चितवनमा बुकी फूल, कटफ्लावर, रोज र ग्याडोलसजस्ता मौसमी फूलको व्यावसायिक खेती पनि हुँदै आएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्