
काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमण दर विश्वकै तुलनामा उच्च रहेको बताइरहेको सरकारले कोरोनाभाइरसविरुद्धको खोप ल्याउन भने सकिरहेको छैन । अनुदानबाहेकको १० लाख डोज खोप खरिद गरेपछि थप खोप ल्याउने सरकारको प्रयास सफल भएको छैन ।
सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार बढी रहेको नेपालमा अहिले दुई करोड ९५ लाख नागरिक खोप पाउने/नपाउने भन्ने अन्योलमा छन् भने साढे १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको पखाईमा छन् । तर, असारसम्म आधारभूत जनसंख्यालाई खोप दिइसक्ने आश्वासन दिँदै आएको सरकारको रेडिमेड जवाफ छ– थप खोप ल्याउने पहल भइरहेको छ ।
कसले कति पाए खोप ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकानुसार नेपालमा हालसम्म चार लाख २६ हजार ५१० जनाले कोभिड–१९ विरुद्धको दुवै डोज लगाएका छन् । २१ लाख १३ हजार ८० जनाले पहिलो डोज खोप लगाएका छन् । सरकारको तथ्यांकमा नेपालको जनसंख्यामध्ये ७० प्रतिशत जनसंख्या कोभिड–१९ विरुद्धको खोप लगाउने सूचीमा छन् । चालु आर्थिक वर्षको अन्त्यसम्म ४१ प्रतिशत लक्षित जनसंख्यालाई पुग्ने गरी एक करोड डोज खोप खरिद गर्ने सरकारको वार्षिक कार्यक्रममा उल्लेख छ ।
नेपालमा भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभ्याक्स कार्यक्रमअन्तर्गत आएको तीन लाख ४८ हजार डोज कोभिसिल्ड, सरकारले खरिद गरेको १० लाख गरी जम्मा २३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप ल्याइएको छ ।
त्यस्तै, चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज भेरोसेल खोपको दोस्रो डोज अहिले १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिइँदै छ । तर, दोस्रो चरणको अभियानअन्तर्गत पहिलो डोज कोभिसिल्ड खोप लिएका १४ लाख ५३ हजार ज्येष्ठ नागरिकले भने दोस्रो डोज कहिले पाउने भन्ने अन्योल देखिएको छ ।
सरकारभन्दा एजेन्ट तागतिला भए, ५० लाख डोज ल्याउन सकिएन : स्वास्थ्यमन्त्री
सरकारले २० लाख डोज कोभिसिल्ड खोप खरिदका लागि ०७७ फागुन पहिलो साता भारतको सिरम इन्स्टिच्युट अफ इन्डियालाई प्रतिडोज चार डलरका दरले सबै शुल्क भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप फागनु ९ गते नै नेपाल आइपुग्यो । तर, बाँकी १० लाख डोज भने अहिलेसम्म सिरमले पठाएको छैन । भारतबाट निर्यात खुला भएपछि नेपाल खोप पाउने पहिलो मुलुक हुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको दाबी छ ।
त्यसयता थप ५० लाख डोज खोप खरिदका लागि मन्त्रालयले सिरमसँगै प्रक्रिया अघि बढाएको थियो । तर, सिरमको नेपालस्थित लोकल एजेन्टले १० प्रतिशत कमिसन मागेपछि नेगोसिएसनमा नै २५ दिन गुज्रिएको मन्त्री त्रिपाठीको भनाइ छ । “एजेन्टहरु सबै राजनीतिक दलका नजिक हुन्छन्, तिनै एजेन्ट तागतिला भए । हामीले धेरै प्रयासका बाबजुद पनि ५० लाख डोज खोप ल्याउन सकेनौँ,” मन्त्री त्रिपाठीले भने ।
त्यसयता भारतबाट कोभिसिल्ड खोप ल्याउन मन्त्रालयले बलियो पहल गरेको देखिँदैन । नेपालमा भारतका कोभिसिल्ड, कोभ्याक्सिन, चीनको सिनोफार्म र रुसको स्पुनतिक भी खोपलाई आपत्कालीन प्रयोग अनुमति दिइएको छ । नेपालमा ल्याइने कोभिड–१९ विरुद्धको खोपको मूल्य अन्यभन्दा सस्तो हुनपर्ने, नेपालले मागेको जति मात्रा दिनुपर्नेजस्ता निर्णय मन्त्रिपरिषद्बाटै गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन् ।
पछिल्लो समय नेपाललाई आठ लाख डोज खोप अनुदानमा दिएको चीन भेरोसेल खोप दिन सकारात्मक देखिए पनि यसको मूल्यका कारण सरकारले केही निर्णय गर्न सकिरहेको छैन । भेरोसेल खोपको बजार मूल्य १८ डलर प्रतिडोज छ । तत्काल चारवटा कम्पनीसँग छलफल भइरहेको तर ठोस निर्णय भने नभएको खोप सल्लाहकार समितिका सदस्य डा. श्यामराज उप्रेती बनाउँछन् ।
‘विश्व बजारमा अभाव भएर ल्याउन सकिएन, पहल गरिरहेकै छौँ’
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह पछिल्लो समय कोभिड–१९ विरुद्धको खोप ल्याउन चौतर्फी प्रयास जारी रहेको बताउँछन् । “यही देशबाट ल्याउनुपर्छ भनेर ढिलो भइरहेको होइन, खोप नपाएरै नल्याइएको हो । नेपालमा खोप अनुमति पाएका सबै मुलुकसँग हामी निरन्तर छलफलमा छौँ,” उनले भने ।
पहिलो डोज लगाएकाले कुर्नुको विकल्प छैन
भारतले अनुदानमा दिएको कोभिसिल्ड खोप नेपालमा कोभिडकालमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसहित चार लाख २९ हजारजनालाई दिइएको थियो । त्यसपछि कोभिसिल्ड खोप लगाएका कुनै पनि नागरिकले दोस्रो डोज खोप पाएका छैनन् । विश्व स्वास्थ्य संगठनले पहिलो डोज लगाएको १२ हप्ताभित्रमा दोस्रो डोज लगाएमा प्रभावकारी हुने जनाएको छ । तर, नेपालमा भने तीन महिना बित्नै लाग्दा पनि ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाउन सकेका छैनन् ।
“खोप ल्याउन अन्तर्राष्ट्रिय एजेन्सीहरुमार्फत पहल गरिरहेका छौँ । तर, मिलिरहेको छैन । यो अवस्थामा पहिलो डोज खोप लगाएकाहरुले कुर्नुको विकल्प छैन,” खोप विभाग प्रमुख डा. झलक गौतम भन्छन्, “पहिलो डोज लगाएकाहरुमा पनि संक्रमण हुने सम्भावना कम हुन्छ र भइहाले पनि सिकिस्त हुने सम्भावना हुँदैन । त्यसैले नआत्तिन सबै नागरिकलाई म अनुरोध गर्न चाहन्छु ।”
नेपालमा जेठ ६ गतेसम्म कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या चार लाख ९७ हजार ५२ पुगेको छ भने अहिले सक्रिय संक्रमितको संख्या एक लाख १६ हजार १९२ छ । कोभिड संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।