
काठमाडौं । ‘माई सेकेन्ड टिचर’ भर्चुअल माध्यमबाट पाठ्यक्रममा आधारित भिडियोमार्फत बढाउने प्रणाली हो । वैशाख १ गतेदेखि यसले एसईईको तयारीमा रहेका विद्यार्थीलाई करिब ३४० वटा भिडियो बनाएर सोहीमार्फत प्रयोगात्मक ज्ञान दिदै आएको छ । केही वर्षमै कक्षा १ देखि १२ सम्मका पाठ्यक्रममा आधारित भिडियो बनाउने योजना कम्पनीको छ ।
तीन वर्ष अगाडिदेखि नै विश्वका १८ वटा मुलुकमा क्याम्ब्रिजको पाठ्यक्रममा आधारित भिडियो सामग्री बनाएको ‘माई सेकेन्ड टिचर’ का को–फाउन्डर सुलभ बुढाथोकी यो प्रणालीले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताउँछन् । ‘माई सेकेन्ड टिचर’ को अवधारणा के हो ? नेपालको ग्रामिण क्षेत्रका विद्यार्थीको पहुँचमा हुन्छ वा हुँदैन ? यिनै विषयमा केन्द्रित रहेर आइएनजी ग्रुपका अध्यक्षसमेत रहेको बुढाथोकीसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी । (भिडियोसहित)
कोभिडका कारण हरेक क्षेत्र प्रभावित भइरहेको सन्दर्भमा भर्चुअल माध्यमबाट शिक्षाको क्षेत्रमा काम गरिरहनुभएको छ । आजका दिनसम्म आउँदा यसलाई कसरी हेर्नुभएको छ ?
‘माई सेकेन्ड टिचर’ भर्चुअल वातावरण बनाएर यसको माध्यमबाट अगाडि बढिरहेका छौँ । वास्तवमा यो कोडिभजस्ता महामारी आउँछ भन्ने सोचेर सुरु गरिएको होइन ।
शिक्षा क्षेत्रका लागि नयाँ बाटो पहिल्याउनै पर्छ भन्ने उद्देश्यले आजभन्दा तीन वर्ष अगाडि सुरु गरिएको थियो । यही बेलामा विडम्बनापूर्वक कोरोना महामारी पनि आयो । त्यसले यसको आवश्यकता अझ बढी छ जस्तो लाग्छ । कोभिडले साथ दिएको भन्न त नमिल्ला तर यो गाह्रो समयमा पनि शिक्षा क्षेत्रलाई केही राहत दिन सकिन्छ भन्नेमा उत्सुक भएका छौँ ।
विद्यालयपछि घरलाई सेकेन्ड टिचर मान्थ्यौं । अहिले भर्चुअल माध्यमलाई सेकेन्ड टिचर भन्नुपर्ने अवस्था छ । सेकेन्ड टिचर घरलाई मान्ने की यसलाई ?
यसको नाम नै माई सेकेन्ड टिचर छ । विद्यार्थीले भन्दा उसको पहिलो टिचर कक्षामा पढाउने शिक्षक नै हो । अनि हाम्रो यो जुन भर्चुअल प्लेटफर्म विकास गरेका छौँ ।
त्यो पनि कस्तो लेबलमा विकास गरेका छौँ भन्दा त्यहाँ फस्ट टिचरको राम्रो रोल छ । हामीले विद्यार्थी र शिक्षकहरूलाई सहयोग पुग्ने हिसाबले बनाएका छौँ ।
शिक्षकको लोड कम गर्ने र विद्यार्थीले पनि आफैले पढेर, भिडियो हेर्दाहेर्दै परीक्षा दिएर र तत्काल मेरो कमजोरी के रहेछ ? मैले सुधार गर्नुपर्ने के रहेछ ? साथै राम्रो गरेको रहेछ भने पनि तत्काल प्रतिक्रिया दिने माध्यम बनाएको कारणले यो सेकेन्ड टिचर नै हो ।
हाम्रो उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई नै ‘अपलिफ्ट’ गर्ने कारणले नै पहिलो टिचर स्कुलको टिचर र दोस्रो टिचर ‘माई सेकेन्ड टिचर’ जुन भर्चुअल २१औँ शताब्दीको स्मार्ट लर्निङ एन्ड टिचिङ प्लेटफर्म भन्छौँ, त्यो कारणले नै ‘माई सेकेन्ड टिचर’ दोस्रो टिचर हो ।
भनेपछि यो प्लेटफर्म विद्यार्थीका लागि नभएर शिक्षकका लागि पनि केन्द्रित छ ?
हामीले विद्यार्थी र शिक्षकका लागि मात्रै नभएर विद्यार्थी, टिचर, अभिभावक र स्कुललाई गरी चार ओटा क्षेत्रलाई समेटेका छौँ । विद्यार्थीहरूले ‘इन्टर्याक्टिभ लर्निङ’को माध्यमबाट हाँसीहाँसी पढ्न सक्ने, परीक्षा लिन सक्ने र विद्यार्थीहरूले तत्काल फिडब्याक पाउने भए ।
शिक्षकहरूलाई यसले कसरी सहयोग गर्छ भन्दा विद्यार्थीहरूको बेसिक पढाइमा शिक्षकहरूले धेरै मेहेनत गर्न पर्दैन । बेसिक पढाइ, अन्डरस्ट्यान्डिङ, कन्सेप्ट बुझ्ने र पढ्नुपर्ने सबै मार्ई सेकेन्ड टिचरबाट पढ्न सक्ने हुनुभयो । जसले गर्दा शिक्षकको वर्क लोड निकै कम हुन्छ ।
यी प्रणालीले शिक्षकहरूलाई विद्यार्थीहरूको रिपोर्ट पनि दिन्छ । कुन विद्यार्थी कुन कुरामा कमजोर छ ? कुन विद्यार्थी राम्रो गर्दैछ ? अझ विद्यार्थीहरूले नबुझेको कुरा के हो त ? यी सबै रिपोर्ट शिक्षकलाई गइसकेपछि हरेक विद्यार्थीको विश्लेषण गर्न सहयोग गर्छ ।
अर्को प्रिन्सिपलले पनि हरेक विद्यार्थी र हरेक शिक्षकको मोनिटरिङ गर्न सक्नुहुन्छ ।
यसैगरी अभिभावकहरूले पनि आफ्ना छोराछोरीको पढाइको स्तर, कहाँ के गरिरहेको छ, बच्चा केमा ‘इन्गेज’ भइरहेको छ ? आफ्नो बच्चा परीक्षामा सहभागी हुँदैछ भने कस्तो खालको नतिजा ल्याउन सक्छ भन्ने थाहा पाउन सक्नुहुनेछ । अर्थात बच्चा कम्प्युटरमा त छ तर पढिरहेको छ पक युट्युब हेरिरहेको छ कि अथवा गेम खेलिरहेको छ ? आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर त्यो तहसम्मको रिपोर्ट अभिभावकले हेर्न सक्नुहुन्छ । कुन विषय आफ्नो बच्चाको लागि सहज छ, कुन विषयमा कमजोर छ भन्ने जानकारी अभिभावकले पनि थाहा पाउनुहुन्छ र सोहीअनुसार अगाडि बढ्न सहयोग मार्ई सेकेन्ड टिचरले गर्छ ।
यसरी माई सेकेन्ड टिचर विद्यार्थी, शिक्षक, विद्यालय र अभिभावकसँगै समग्र देशकै लागि बनाएका छौँ ।
भनेपछि यसले बालबालिकाको पढाइको विषयमा शिक्षकलाई मात्रै नभई अभिभावकलाई पनि जानकारी गराउँछ ? त्यसको मोनिटरिङ्ग अभिभावकले पनि गर्न सक्छन्, हो ?
शिक्षक, विद्यालय, अभिभावकसँगै विद्यार्थी आफैले पनि आफ्नो पढाइको विश्लेषण गर्न सक्छ । त्यस्तै कक्षामा पढाउने शिक्षकले हरेक बच्चाहरूले के गरिरहेका छन् भन्नेसहित एक–एक विद्यार्थीको रिपोर्टसँगै समरी रिपोर्ट पनि हेर्न सक्नुहुन्छ । त्यसैगरी विद्यालयका प्रिन्सिपलले समग्र विद्यार्थीसहित एक–एक विद्यार्थीको रिपोर्टसहित शिक्षकहरूको रिपोर्ट पनि हेर्न सक्नुहुन्छ । यस्तै अभिभावकले पनि आफ्ना छोराछोरीको रिर्पोट हेर्न सक्नुहुन्छ ।
भर्चुअल लर्निङको योजना कसरी अगाडि आयो र कहिलेदेखि अब नेपालमा पनि यो प्रणाली सञ्चालन गर्नुपर्छ भन्ने सोच्नुभयो ?
नेपालमा ‘लेटेस्ट टेक्नोलोजी’ आउँदैन, प्रयोग गरिदैन भन्ने एउटा गलत बुझाइ छ । जहाँसम्म मलाई लाग्छ भारतमाभन्दा पहिले नेपालमा इन्टरनेट आएको हो । हाम्रो त्यो इतिहास हुँदाहुँदै पनि नेपालमा नयाँ प्रविधि आउँछ र ? माई सेकेन्ड टिचर पनि अलि चाडो भएन र ? भन्ने यदाकदा सुनिन्छ । जे सुकै भएपनि माई सेकेन्ड टिचर अगाडि बढिसकेको छ ।
माई सेकेन्ड टिचरको विषयमा कुरा गर्नुपर्दा क्याम्ब्रिजका तीन जना शिक्षकहरूले क्याम्ब्रिजको पाठ्यक्रम क्याम्ब्रिजका स्कुलहरूका लागि डिजाइन बनाउनुभयो ।
ती तीनै जना नेपाललाई असाध्यै माया गर्ने र त्योमध्ये पनि एक जना मेरा मिल्ने साथी हुनुहुन्छ । उहाँहरूले त्यसको डिजाइन गरिरहँदा मैले के देखे भने त्यसका लागि उहाँहरूलाई डेभलपमेन्ट र अपरेसन चाहिन्छ । मैले उहाँहरूलाई प्रस्ताव गरे कि यसको डेभलमपेन्ट जति पनि बनाउन लाग्छ, कन्टेन्ट होस् कि सिस्टमको होस् कि प्लेटफर्मको होस्, ती सबै नेपालमा डेभ्लप गरिदिन्छौँ भनेँ ।
किनभने हामीसँग सूचना प्रविधि कलेजहरू छन् । त्यो आत्मविश्वासले हामीले यसको डेभलपमेन्ट र अपरेसन नेपालमा गर्न दिन प्रस्ताव गरेँ । हामीले नेपालको शिक्षा क्षेत्रमा पाँच वटा कलेजमा काम गरेको अनुभवका आधारलाई मूल्यांकन गर्नुभयो र हामीलाई यसको विकास र अपरेसन गर्न दिन तयार हुनुभयो ।
हामीले यसको डेभलप गरिदिएवापत उहाँहरूसँग दुई वटा सर्त राख्यौँ । पहिलो, यो सिस्टम नेपालमा सञ्चालन गर्न पाउनुपर्ने, रोयल्टी सकेसम्म नतिर्ने र तिर्नैपरे निकै कम तिर्ने । अर्को जतिपनि यसको अपरेसन छ । भोलि सय ओटा देशमा चल्ला । लाखौँ विद्यार्थीहरू होलान् ।
ती विद्यार्थीहरूलाई पढाउने भिडियो सामग्रीदेखि लिएर सर्पोट गर्ने, प्लेटफर्म बनाउने । यी सबै नेपालमा हुनुपर्छ भन्ने सर्त राख्यौँ । त्यो किनभन्दा रोजगारी सिर्जना गर्न । हाम्रो उद्देश्य पनि सन् २०२४ भित्र कमसेकम ५ हजारलाई रोजगारी दिन्छौँ भन्ने हो । त्यसैअनुसार काम गरिरहेका छौँ । यी दुई सर्त राखेर उनीहरूसँग कुरा गर्यौँ ।
म यो सिस्टम बनाउन र अप्रेसन गर्नका लागि लाग्नुको कारण हामी कही न कही शिक्षाको क्षेत्रमा पछि परेका छौँ भन्ने मलाई लाग्यो । किनभने मेरो २० वर्षको यो अनुभवले देखेको हो ।
हाम्रो पढाउने तरिका भनेको कन्टेन्ट दिमागमा राखिदिने र परीक्षामा त्यही कन्टेन्ट निकाल्ने हो । अर्को पढाउने सामग्री, विकसित मुलुकको पाठ्यक्रम र हाम्रो पाठ्यक्रम हेरौँ त कति फरक छ । तेस्रो, शिक्षक । हामीले शिक्षकलाई दोष दिन्छौँ तर शिक्षकलाई कसले सहयोग गरेको छ ? तारे होटेलमा सेमिनार गरेर क्षिककको गुणस्तर बढ्ने त छैन ।
यी तीन ओटै क्षेत्रमा सुधारका लागि प्रविधिको प्रयोग नगरेसम्म हुँदैन भन्ने लाग्यो । विश्वका विद्यालयका लागि क्याम्ब्रिजले बनाएको प्रणाली नेपालमा लागु गर्न सक्यौँ भने हाम्रो शिक्षा क्षेत्रमा निकै योगदान गर्न सक्छौँ भनेर यसमा लागेका हौँ ।
नेपालको शिक्षा क्षेत्रमा योगदान गर्ने अरू उपाय नदेखेपछि क्याम्ब्रिजको त्यो प्रणाली माई सेकेन्ड टिचर नेपाल ल्याउनुको प्रमुख कारण हो । नेपालको शिक्षा क्षेत्रलाई एक तह भएपनि माथि उठाऔँ, यसमा योगदान गरौँ भन्ने हिसाबले माई सेकेन्ड टिचर ल्याएका छौँ ।
तपाईंले समयमा किताब नपुगेको कुरा गर्नुभयो । त्यो सही हो । तर, भर्चुअल माध्यमको कुरा गर्दा विद्युत र इन्टरनेट पुग्नुपर्छ । अझै पनि नेपालका धेरै ग्रामिण भेगमा इन्टरनेट छैन । त्यहाँ कसरी योगदान गर्न सक्छौँ ?
माई सेकेन्ड टिचरले अन्तरक्रियात्मक भिडियोको माध्यमबाट पढाउँछ । यसबाट पढ्दा विद्यार्थीलाई सिनेमा हेरेको अनुभव हुन्छ । यसमा फिल्म हेरेको जस्तै शिक्षक र विद्यार्थीबीच संवाद छ । यसमा जोक छ । विद्यार्थीले शिक्षकलाई जोक गर्छ, शिक्षकले विद्यार्थीलाई जोक गर्छ ।
यसमा हाँसीहाँसी विद्यार्थीले पढ्ने भए । त्यसरी पढ्नका लागि भिडियोमा कन्टेक्स बनाइन्छ । कुनै कन्टेन्ट पढ्नुभन्दा अगाडि त्यो कन्टेन्ट किन पढ्दैछौँ ? त्यो परिवेश बनाइन्छ । त्यसपछि कन्टेन्ट पढाउँछौँ । त्यो पढेको कुरा कही न कही त लागु हुनुपर्यो नि । हामीले जे सुकै पढौँ, त्यो कुरा कही न कहील लागु हून्छ । हामीले त्यो पढेको कुरा कहाँ लागु हुन्छ भनेर पनि सिकाएका छौँ । हाम्रा भिडियोले पढेको कुरालाई त्यहाँ लागु हुन्छ भनेर पनि देखाएका छौँ ।
अर्को पाठ्यपुस्तक नपुगेको ठाउँमा यो भिडियो पुर्याउन सजिलो छ । सरकारसँग हाम्रो एउटै चाहना भनेको– इन्टरनेट र बत्ती पुर्याइदेओस् । सरकारलाई आर्थिक रूपमा भार नपर्ने गरी हामी गाउँको स्कुलमा लैजान्छौँ । इन्टरनेट र बत्ती पुर्याउन हाम्रो क्षमताले पुग्दैन । यो विषयमा स्थानीय तह, केन्द्रीय तहमा पनि कुरा भएको छ । उहाँहरू उत्साहित हुनुहुन्छ । किताब नपुगेपनि पढाउनुपर्ने विषयवस्तु घोकाएर होइन बुझाएर पढाउने काम हाम्रो प्रणालीले गर्छ ।
हामीले सिंगापुरको सरकारी स्कुलसँग सहकार्य गरिसकेको छौँ । नेपालका शिक्षकहरूलाई तालिम कार्यक्रम ल्याउँदैछौँ । सिंगापुर सरकारसँगै मिलेर यो तालिम कार्यक्रम ल्याउन लागेका छौँ । त्यसमा सरकारीसहित निजी स्कुलका शिक्षकहरूलाई सहभागी गराउँछौँ । यी तीन ओटै कुरालाई समग्रमा समेट्ने गरी माई सेकेन्ड टिचर एउटा एप मात्रै नभई समग्र समाधानको रूपमा यसलाई अगाडि बढाएका छौँ ।
इन्टरनेट र विद्युतको पहुँच नपुगेका ठाउँमा पनि यसलाई लैजान सक्ने र पढाउन सक्ने अर्को कुनै माध्यम छ ?
पक्कै छ । हाम्रो इनोभेट टेक र सिंगापुरको एसर कम्पनी मिलेर इन्टरनेट नभए पनि र विद्युत छैन भने पनि सोलारबाट समेत चल्न सक्ने प्रविधिको विकासका लागि अनुसन्धानमा लागेका छौँ । त्यो प्रविधिको करिब ९० प्रतिशत काम सकिसकेको छ । आगामी ६ महिनाभित्रमा त्यो प्रणाली सार्वजनिक गर्छौँ । जहाँ इन्टरनेट छैन भने पनि त्यो डिभाइसको माध्यमबाट विद्यार्थीहरूलाई भर्चुअल माध्यममा पढाउन सकिने वातावरण बनाउँछौँ ।
त्यसको खर्च बढी होला नि ?
पक्कै पनि अलिकति बढी पर्छ । हाम्रो यो भिडियो हेरिसकेपछि स्थानीय तहले विद्यार्थीको भविष्यका लागि लगानी गर्छौँ पनि भन्नुभएको छ । हामीलाई लगानी गर्न पर्दैन । आफ्नो स्कुलको लागि र आफ्ना विद्यार्थीहरूका लागि नै हो, थोरै लगानी गरिदिनुहोस्, त्यो देशकै लागि लगानी हो ।
वैशाख १ गतेदेखि कक्षा १० का विद्यार्थीका लागि भर्चुअल लर्निङ प्लेटफर्म ल्याउनुभएको छ । यो छोटो अवधिमा विद्यार्थी, शिक्षक एवम् सरोकारवालाहरूको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
हामी आफैँ सुनवल नगरपालिकामा गयौँ । त्यहाँका मेयर, उपमेयर, वडाध्यक्षहरू, प्रिन्सिपल, विद्यालय सञ्चालकहरूलाई राखेर पाँच वटा विद्यालयमा डेमो नै गर्यौँ । त्यो भिडियो हेरिसकेपछि विद्यार्थी र शिक्षकहरूमा जुन खालेको सन्तुष्टि थियो त्यो निकै उत्साहजनक थियो ।
यो पाठ्यक्रमबाट प्रश्न आयो भने मलाई आउँदैन, छोड्छु भन्ने मानसिकता लिएका विद्यार्थीले राम्रोसँग बुझेपछि छर्लङ्ग हुनुभयो । त्यस्तै शिक्षकहरूले पनि हामीले त यसरी सोचेकै थिएनौँ, यसले भन्न खोजेको यो पो रहेछ भन्ने भाव देखिन्यो । त्यहाँ सहभागी हुनुभएकाहरूले यो प्रणाली जसरी पनि लागु गर्छौँ भन्नुभएको छ । यही डेमो हेर्दै अछामका एक जना पूर्वमाननीयज्यू यही आइपुग्नुभयो । उहाँले पनि यो सिस्टम जसरी पनि लागु गर्छु, यही सिस्टम हो हाम्रा बच्चाहरूलाई चाहिएको भन्नुभएको छ ।
काठमाडौँमा पनि प्याब्सन, एनप्याब्सनसँग अन्तरक्रिया गर्यौँ । उहाँहरूबाट पनि यो सिस्टम प्रयोग गर्नेपर्ने प्रतिक्रिया आएको छ । यो प्रणाली लागु नहुने त म कारण नै देख्दिन ।
अन्तर्राष्ट्रियस्तरका बच्चाहरूका लागि बनाएको प्लेटफर्मलाई नेपाली कन्टेन्ट, नेपाली पाठ्यक्रमलाई नेपाली र अंग्रेजी बोलीचालीको भाषामा पढाएका छौँ । त्यसैले यो प्रभावकारी नहुने त कुरै छैन । त्यसकारण यसप्रति रेस्पोन्स एकदमै राम्रो छ । १२ दिनमा ११ हजार बढी विद्यार्थी हामीसँग जोडिसकेका छन् । यो अपेक्षा गरेको पनि हो ।
यसमा विद्यालय नै जोडिनुपर्छ भन्ने छैन, विद्यार्थी आफै पनि जोडिन सक्छ, ?
विद्यार्थी आफै पनि जोडिन सक्छन् । माई सेकेन्ड टिचरको एप डाउनलोड गरेर जोडिन पनि सक्ने र हाम्रो वेबसाइटबाट पनि जोडिन सक्ने भए भने विद्यालयसँगै जोडिन पनि सकिने भयो. । शिक्षकहरूले व्यक्तिगत रूपमा लिन पनि सक्नुहुनेभयो । सबै प्रस्पेक्टबाट यसमा जोडिन सकिन्छ ।
यसको शुल्क नि ?
हामी सरकारी विद्यालयका लागि कम शुल्कमा चाडै ल्याउँदैछौँ । सरकारी स्कुलका लागि फिचरहरू पनि कम हुन्छन् । अहिले एसइईईको तयारीका लागि १८७० रूपैयाँमा कक्षा १० का ४ ओटा विषयको ३४० वटा भिडियो प्रदान गरेका छौँ । यस्तो प्लेटफर्म भारत, सिंगापुरमा पनि छन् । उनीहरूको तुलनामा १० प्रतिशत भन्दा कम मूल्यमा हामीले उपलब्ध गराएका छौँ । हामीले नाफा गर्नेभन्दा पनि सस्टेन हुने गरी मूल्य राखेका छौँ ।
हुम्लाको एउटा स्कुलले पनि यसलाई किनेर चलाउन सक्छ, आफ्नै स्रोतले । त्यो हिसाबले मूल्य राखेका छौँ । हामीले दुई÷तीन हप्तामा सरकारी स्कुलका लागि प्याकेज ल्याउँछौँ ।
अहिले १० कक्षाका लागि मात्रै सामग्री बनाउनुभएको छ । अरू कक्षाका लागि कहिले सामग्री तयार पार्नुहुन्छ, योजना के छ ?
एउटा वर्षमा कम्तीमा ३ ओटा कक्षाको सामग्री तयार गर्छौँ । आगामी तीनदेखि ४ वर्षसम्ममा कक्षा १ देखि १२ सम्मका पाठ्यसामग्री तयार पारिसक्छौँ ।
सरकारी कस्तो सहयोग आवश्यक रहेको महसुस गर्नुभएको छ ?
सरकारले दुई ओटा सहयोग गरिदिए हुन्थ्यो । पहिलो इन्टरनेटका लागि पूर्वाधार बनाइदेओस् । हामीले इन्टरनेट नभएका ठाउँका लागि डिभाइस बनाएपनि एकपटक इन्टरनेटमा जोडिनुपर्छ । त्यसैले इन्टरनेट पुर्याइदिनुहोस् । अहिले धेरै ग्रामीण भेगमा इन्टरनेट पुगेको पनि छ । अर्को हामीले गर्यौँ भने सरकारले स्याबासी देओस् ।
यो सरकारले गर्ने काम हो तर हामीले गरिरहेका छौँ । सरकारले राम्रो काम गरोस् भनिदिए मात्र पनि पुग्छ । हामीलाई हौसला दिए पुग्छ ।
नेपालको शिक्षा प्रणालीमा माई सेकेन्ड टिचेर महत्वपूर्ण परिवर्तन ल्याउन सक्छ ?
हामी निजी क्षेत्र, सरकार, मिडिया, जतिपनि स्टेकहोल्डर सबै एकजुट हुने हो भने महत्वपूर्ण परिवर्तन गर्न सक्छौँ । मैले आफैलाई टार्गेट दिएको छु कि बढीमा ७ वर्षमा हाम्रा बच्चाहरू दुबई, कतार जाँदा पनि लेबरको रूपमा जान पर्दैन । खररर...अंग्रेजी बोलेर कन्टेन्टमा स्मार्ट बनाएर पठाउन सक्छौँ ।
र, अलिकति मिहेनत गर्ने बच्चाहरू विकसित मुलुकका ग्राजुयटहरूसँग मज्जाले प्रतिस्पर्धा गरेर नेपाल स्किल्ड डेस्टिनेसन हो भनेर बनाउन सक्छौँ । मैले यो अन्जानको भरमा भनेको होइन । हाम्रो योगदानले शिक्षा क्षेत्र एक तह माथि आउँछ । अलिकति तन्काएर भन्दा बढीमा ७ वर्ष नत्र ५ वर्षमा देख्न सकिने, महसुस गर्न सकिने गरी हाम्रो यो प्याटफर्मले नेपालको शिक्षा क्षेत्रमा परिवर्तन आउँछ ।