site stats
बाह्रखरी :: Baahrakhari
विशेष
बिरामी एम्बुलेन्समै छट्पटाइरहन्छन्...  

काठमाडौं । पाटन अस्पतालको कोभिड क्लिनिक अगाडि पीसीआर परीक्षण गराउन आएकाहरुको लामो लाइन छ  । लाइनमा न सामाजिक दूरी छ न बस्ने व्यवस्था नै ।  यत्रतत्र मानिसको भीडले परैबाट भरिभराउ देखिन्छ पाटन अस्पताल प्राङ्गण । एम्बुलेन्सको ओहारदोहोर चलिरहेकै छ । क्लिनिक अगाडि नै आएर रोकिन्छ, तारकेश्वर नगरपालिकाको एम्बुलेन्स । बन्द झ्यालबाट भित्रका बिरामी असिनपसिन अवस्थामा देखिन्छन् । चालक ढोका खोलेर बाहिर आउँछन्, यताउता हेर्छन् र छेवैमा उभिएका एक युवकलाई सोध्छन् ‘खोइ आइपुग्नुभएन उहाँका आफन्त ?’ 
युवक जवाफ दिन्छन् ‘जाममा हुनुहुन्छ रे ! आउँदै हुनुहुन्छ ।’ 

एम्बुलेन्सभित्रका बिरामी आफन्तको प्रतिक्षामा छट्पटाइरहन्छन्,  घरी सुत्दै, घरी उठेर बस्दै त घरी शरीरको पसिना रुमालले पुछ्दै यताउता हेरिरहन्छन् । झन्डै ४० मिनेटको पर्खाइपछि आफन्त आइपुग्छन् र बिरामीलाई लिएर कोभिड क्लिनिकमा जान्छन् । क्लिनिकबाट काउन्टरतिर पठाइन्छ, बिरामी र आफन्त उतै सोझिन्छन् । केही मिनेटपछि फेरी उनीहरु क्लिनिकतिरै फर्किन्छन् । यो सबै नियालिरहेका एम्बुलेन्स चालक धेरैबेरपछि आफ्नो अनुभव सुनाउँदै बेल्छन्, ‘अहिले अस्पतालमा कोभिडका बिरामी भर्ना गर्न कहाँ सजिलो छ र ? बेड नपाएर बिरामीलाई मैले एउटाबाट अर्को, अर्कोबाट अर्को गर्दै चारवटासम्म अस्पताल घुमाएको छु, उफ...!’

पाँच मिनेटपछि बिरामीसँग गएका आफन्त निस्किन्छन्, 

Argakhachi Cement Island Ad

“भर्ना भयो उहाँको ?”

“बेड छैन रे ! अहिले टिकट काटेर त्यहीँ फिभर क्लिनिकमा राखेको छ, घरमा सास फेर्न गाह्रो भएर ल्याएको यहाँ बेड छैन भन्छ के गर्ने होला हे भगवान...।” 

३४ वर्षीया श्रीमती मृत्युसँग लडिरहँदाको पीडा
अस्पतालको प्राङणमा टेन्ट टाँगेर काउन्सिलिङ कक्ष बनाइएको छ । भर्ना गरिएका कोभिड संक्रमितका आफन्त चिकित्सक भेट्ने लामवद्ध छन् । चिकित्सक आइपुगेका छैनन् । आईसीयू, भेन्टिलेटर र एचडीयूमा राखिएका आफन्त भेट्न नपाउँदाको व्यग्र पीडा मास्कले ढाकेको अनुहारमा पनि स्पष्टै देखिन्छ । काउन्सिलिङको डाक्टर आउने भनेको यहीँ होइन ?

कुरुवामध्येका एक व्यक्ति सोध्छन्, हतारमा हिँड्दै गरेकी स्वास्थ्यकर्मी हतारमै बोल्छिन्, हो अहिले आउनुहुन्छ बस्दै गर्नुस् ।

“तपाइँको बिरामी भर्ना हुनुहुन्छ हो ?”

“हो मेरो श्रीमती भेन्टिलेटरमा छिन् ।”

“कस्तो छ अहिले ?” 

“खै कस्तो भन्नु, १२ दिन भयो भेन्टिलेटरमा राखेको, हिजो डाक्टरले भनेका दुई पर्सेन्ट सुधार भएको रे !” 

“पहिलेनै अरु केही रोग थियो उहाँलाई ?”
 
“केही थिएन, घरमा एक्कासी सास फेर्न गाह्रो भयो । राति नै दाङको जिल्ला अस्पताल लग्यौँ । तर, बेड छैन भनेर पठाइदियो । भेन्टिलेटरमा राख्नुपर्छ भनेपछि सिधै काठमाडौं ल्याएर यहाँ भर्ना गरेको ।” 

“डाक्टरले आत्तिनु पर्दै भन्नु भएको छ होला नि ?”

“के भन्न सकिन्छ र, हिजो पनि २२ वर्षको महिलाको शव यहीँबाट लगेको देखेको अस्ति पनि... । यति भनेपछि उनी अगाडि बोल्न सक्दैनन् ।

एकैछिन है भन्दै ओझेल पर्छन् ।

श्रीमती (३४) भेन्टिलेटरमा मृत्युसँग जुधिरहँदा श्रीमानको गला अवरुद्ध हुनु स्वभाविक थियो नै ।

अरुको देख्दा सामान्य, आफूलाई पर्दा पहाडै खसेजस्तो 

अर्का एक युवक काउन्सिलिङका लागि चिकित्सककै पर्खाइमा छन् । 

“तपाइँको को हुनहुन्छ नि अस्पतालमा ?”
 
“मेरो बुबालाई एचडीयूमा भर्ना गरेको हिजो साँझ अहिलेसम्म भेट्न पाएको छैन, कस्तो हुनुन्छ, के हुँदैछ ? थाहा छैन । यो एकदिन पनि वर्सौंँजस्तो लागिसक्यो मलाई त ।”

उनी भन्छन्, “अरुलाई कोरोना भयो रे भनेको सुन्दा के हो र ठिक भइहाल्छ नि जस्तो लाग्थ्यो । आफूलाई पर्दा त पहाडै खसेजस्तो हुँदोरहेछ । पाटन अस्पतालमा मेरो आफन्त हुनुन्छ, त्यसैले सजिलै बेड पायौँ बाहिरबाट आउनेलाई तर कोही नहुनेलाई कति गाह्रो भइरहेको होला ?”

मुटुरोगले गलाएका बुबा संक्रमित भएपछि भक्तपुरका अनिस श्रेष्ठ (नाम परिवर्तन)लाई महसुस भयो, ‘कोरोना त हेलचेक्र्याइँ गर्ने रोग होइन रहेछ ।’
 
उनले ६१ वर्षका बुवाको स्वास्थ्यप्रति चिन्तित हुँदै सम्झिए  “बुबा अस्ति बिस्का जात्रामा रथ तान्न जानुभएको थियो, त्यसको भोलिपल्ट हाम्रो टोलको भोज थियो । हामी सबै गएर आयौँ । बुबालाई अलिअलि रुघाखोकी त्यही बेलादेखि लागेको थियो । हिजो चाहीँ धेरै नै च्याप्यो, सास फेर्न पनि गाह्रो भयो । जाँच गर्दा कोभिड पोजेटिभ देखायो । एकातिर बुबाको यो हालत अर्कोतिर हामी घरका सबैको जाँच गर्नु पर्यो त्यसरी भेला हुन नहुने रहेछ भनेर तनाब भइरहेको छ ।” 

सेल्फ लकडाउनमा बस्नु, अस्पतालहरुले धान्ने अवस्था छैन 
पाटन अस्पतालमा सोमबार भेटिएका यी घटनाहरु उदाहरण मात्रै हुन् । मुलुकभरका अस्पतालहरुमा अहिले कोभिड संक्रमित र आफन्तको अवस्था लगभग उस्तै छ । संक्रमण बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुँदै गएको छ । सात पद्रेशमा आइतबारसम्म २५२ जना संक्रमित आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् । काठमाडौंका प्रमुख अस्पताल र प्रदेशस्तरका अस्पतालका आईसीयू, भेन्टिलेटर एचडीयू बेड जटिल संक्रमितले भरिँदै गएका छन् । काठमाडौंका १३ वटा मुख्य अस्पतालमा मात्रै ४० जना भेन्टिलेटरमा र ८२ जना आईसीयूमा रहेका छन् । टेकु अस्पतालमा आईसीयूमा रहेका ४० प्रतिशत बिरामी जटिल अवस्थाका रहेको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला बताउँछन् । स्वास्थ्यकर्मी नै ढल्ने अवस्था भयावह हुन्छ भन्ने आशयका लेखहरु स्वास्थ्यकर्मीहरुबाटै आइरहेका छन् । अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको छ । कोभिड १९ संक्रमितको संख्या उच्च देखिएको बाँकेमा एउटै अस्पतालमा ९० प्रतिशत स्वास्थ्यकर्मी संक्रमित भएपछि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल इमर्जेन्सीबाहेक बन्द नै गरिएको छ । दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा ३५ बेड रहेकामा दोब्बरजस्तो संक्रमित आउन थालेपछि भुइँमै राखेर अक्सिजन दिन थालिएको छ ।

आइतबार एकै दिन मुलुकभर कोभिड १९ को संक्रमणबाट २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।  

सरकारले यही दरमा संक्रमण बढ्दै गए केही हप्तामा मृतकको संख्या दैनिक १५० पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । यो अवस्थालाई मध्यनजार गरी स्वघोषित लकडाउनमा बस्न जनस्वास्थ्यका मापदण्ड अपनाउन, सार्वजनिक कार्यक्रम नगर्न र सहभागी नहुन, केही लक्षण देखिएमा तुरुन्तै पीसीआर गर्न मन्त्रालयले सुझाव दिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०७:३८
प्रतिक्रिया दिनुहोस्