site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
९ वर्षमा सय अर्ब डलरको अर्थतन्त्र र २२ लाख थप रोजगारी सम्भव छ

नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० सम्म नेपालको अर्थतन्त्रको आकार सय अर्ब डलर पुर्‍याउने लक्ष्यसहित ‘भिजन पेपर २०३०’ सार्वजनिक गरेको छ । 

सो अवधिभित्र दोहोरो अंकको आर्थिक वृद्धिसहित २२ लाख थप रोजगारी सिर्जना गर्न १० वटा क्षेत्रका सयवटा परियोजना सञ्चालनमा ल्याउने योजना पनि छ । 

हाल नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) ३९ खर्ब ४३ अर्ब रुपैयाँ बराबर पुगेको अनुमान केन्द्रीय तथ्यांक विभागको छ ।

Argakhachi Cement Island Ad

यसलाई बढाएर सन् २०३० भित्र १०० अर्ब (करिब १ सय १६ खर्ब रुपैयाँ) डलर पुर्‍याउने लक्ष्य महासंघको छ । 

‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ ले राखेको लक्ष्य पूरा हुने आधारसहित सोही ‘भिजन पेपर’ केन्द्रित रहेर महासंघका अध्यक्ष शेखर गोल्छासँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी : 

अध्यक्ष बन्नुभन्दा अगाडि नै भिजन पेपरको कुरा गर्नुभएको थियो । ‘भिजन पेपर’ को अवधारणा के हो ? 

यो उद्योग वाणिज्य महासंघको भिजन हो । यो भिजन पेपर बनाउनका लागि सातवटै प्रदेश गएका थियौं । लगभग सबै वस्तुगत, धेरै एसोसिएटका साथीहरुसँग पनि छलफल गरेका थियौं । हाम्रो प्राथमिकता के हो ? त्यसलाई डकुमेन्टमा राख्न सकौं भन्ने हिसाबले यो तयार पारिएको हो । यो महासंघ अध्यक्ष शेखर गोल्छाको भिजन पेपर होइन । यो हामी सबैले स्वामित्व (ओनरसीप) लिएर बनाएका हौं । 

म अध्यक्ष बन्नुभन्दा अगाडि नै यसको तयारी गरेका थियौं । तर, छलफलको क्रममा अर्थविज्ञहरुको सुझावअनुसार बनेको छ ।

आउने समयमा यो महासंघ मात्रै नभई सम्पूर्ण निजी क्षेत्रको भिजन पेपर बन्न सक्नुपर्छ भन्ने मेरो प्रयास रहेको छ । किनभने हामी (निजी क्षेत्र) एउटै भिजन लिएर अगाडि बढिरहेका छौं । समस्या समान छन् । र, हामीले बोल्ने कुरामा एकरुपता हुन सक्यो भने भोलि हाम्रो बोलाइ पनि सशक्त हुन्छ र हाम्रो कुरालाई स्पष्ट रुपमा पनि राख्न सक्छौं । त्यही आधारमा यो डकुमेन्टलाई सबैले स्वामित्व गरिदिउन् भन्ने छ । 

भिजन पेपरको अवधारणा कहाँबाट आयो ?
 
नेपालको निजी क्षेत्रलाई एउटा दोष के लगाइन्छ भने हामी कुरा मात्रै राख्छौं । हामी कहिल्यै पनि ‘डीप डाइप’ गर्दैनौं । हाम्रो कुरामा एकरुपता हुँदै हुँदैन । म वरिष्ठ उपाध्यक्षमा आएपछि हाम्रा कुरामा एकरुपमा आओस् भन्ने विचारमा यो कामको थालनी गरेको हो । 

र, एउटा भिजन हामी सबैले पाएका छौं । जुन सम्भव पनि छ कि सन् २०३० सम्ममा हाम्रो अर्थतन्त्रलाई सय अर्ब डलरको बनाउन सक्छौं । अहिले ‘अर्गानिकली’ जाने हो भने ७५ अर्ब डलरको अर्थतन्त्र बन्छ होला । 

हामीले त्यसमा अलिकति फड्को मारेर जान खोजेका हौं । सय अर्ब डलरको अर्थतन्त्र बनाउन कति लगानी गर्नुपर्छ ? त्यो लगानी गर्नको लागि समस्या कहाँ कहाँ छन् ? भन्ने प्रथम भिजन यो थियो । 

अर्को, देशमा कसरी रोजगारी सिर्जना गर्ने ? र, कसरी सन् २०३० सम्ममा हामी २२ लाख थप रोजगारी सिर्जना गर्न सक्छौं भन्ने सोचले यो भिजन पेपर बनेको हो । 

‘भिजन पेपर’ को डकुमेन्ट बन्यो, सार्वजनिक पनि गरियो । यसले लिएको लक्ष्य कसरी हासिल हुन्छ ? 

जुन लक्ष्य सार्वजनिक गरेको छौं, अर्थविज्ञहरुसँग बसेर हामीले ‘क्याल्कुलेसन’ पनि गरेका छौं । हामीले मुख्य तीनवटै क्षेत्र कृषि, सेवा र उद्योगलाई हेरेका छौं ।

यी तीनवटै क्षेत्रमा गर्नुपर्ने आमूल परिवर्तनहरु केके छन् ? केके कुरामा परिवर्तन गर्न सकियो भने वृद्धि गर्न सकिन्छ, केके परिवर्तन भयो भने रोजगारी सिर्जना गर्न सकिन्छ र यो भिजनतर्फ अगाडि बढ्न सक्छौं भन्ने आधारमा हामीले तीनवटै क्षेत्रको प्राथमिकता सेट गर्‍यौं । र, यो भिजन पेपरमा सयवटा विषयलाई प्राथमिकतामा राख्यौं । 

सयवटा परियोजनामा मेरो कार्यकालमा केके गर्छौं भनेर त्यसलाई पनि समय तोकेरै प्राथमिकतामा राखेका छौं । यी तीनवटै क्षेत्रमा सयवटा ‘इनिसियटिभ्स्’ गर्न सक्यौं भने हामीले चाहेको लक्ष्य प्राप्ति गर्न सक्छौं भन्ने आधारमा हामी अगाडि बढेका हौं । 

तपाईंको कार्यकालमा ती ४० वटा परियोजना सम्पन्न हुन्छन् ?

त्यसलाई ‘टाइम बाउण्ड’ तरिकाले पूरा गर्छौं । यो भिजन पेपर भनेको ५ प्रतिशत काम मात्रै हो । यो कुनै ठूलो काम भएकै छैन ।

यसको कार्यान्वयनमा चुनौती छ । यो भिजन पेपरलाई स्टेकहोल्डरलाई पहिले कन्भिन्स गर्नुपर्‍यो । हामीले यसका लागि काम पनि सुरु गरिसकेका छौं । 

अर्थ मन्त्रालय, योजना आयोग, हाम्रा ‘लाइन मिनिष्ट्री’, स्टेकहोल्सडहरुसँग प्रस्तुत गर्ने काम पनि सुरु गरिसकेका छौं । र, महासंघमा जति पनि समितिहरु बनेका छन्, त्यसमा कामहरु ‘डिभाइड’ गर्ने काम अर्को हप्तादेखि सुरु गर्नेछौं । हामीले ती समितिहरुलाई फरक फरक कामका लागि नेतृत्व दिनेछौं । यो लक्ष्य प्राप्तिका लागि हाम्रा लाइन मिनिष्ट्रीहरुलाई कन्भिन्स गर्ने काम पनि गर्नेछौं । 

केही दीर्घकालीन रुपमा काम गर्नुपर्ने छ । त्यसका लागि राष्ट्रिय योजना आयोगसमक्ष राख्ने छौं । 

यो लक्ष्य हासिल गर्नको लागि निजी क्षेत्रको दायित्व के ? सरकारको दायित्व के ? 

भिजन पेपरमा राखिएको लक्ष्य हासिल गर्न सरकारसँगको सहकार्यमा मात्रै सम्भव छ । लगानी गराउने जिम्मेवारी उद्योग वाणिज्य महासंघले लिनेछ ।

कसरी निजी क्षेत्रलाई कन्भिन्स गर्ने ? कसरी उनीहरुलाई उत्साहित बनाउने ? भिजन पेपरमा रहेको केही चुनौतीहरु रहेका छन् त्यसको समाधान गर्ने हो भने कसरी लगानीलाई अभिबृद्धि गर्न सकिन्छ । र, यो भिजनको लक्ष्य प्राप्ति गर्न सकिन्छ ।

यहाँ हामी निजी क्षेत्र आउँछौं । तर अहिले निजी क्षेत्रलाई लगानी गर्नको लागि समस्या के के छन् ? यो भिजन पेपरमा रहेको छ । 

‘भिजन पेपर’ मा १४ वटा कानुनमा सुधार हुनुपर्ने भनिएको छ । ती कानूनमा सुधार भएपछि मात्रै भिजन पेपरले लिएको लक्ष्य हासिल गर्न सकिने भयो, हो ? 

पक्कै पनि । हामीले के भनेका छौं भने हामीले केही गरेनौं भने सन् २०३० सम्म ७०–७५ अर्ब डलरको अर्थतन्त्र त बन्छ होला तर हामी फड्को मार्न चाहन्छौं । हामीले देशमा बढी रोजगारी सिर्जना गर्न चाहन्छौं । हामीले ठूलो लक्ष्य लिनुछ, जुन वास्तविक छ ।

फेरि यो लक्ष्य आधारहीन पनि होइन । यो लक्ष्य हामीले अंक गणितका साथ प्रस्तुत गर्नेछौं । योयो विषयमा सुधार भयो भने यति लगानी आउन सक्छ, यसरी रोजगारी सिर्जना हुन्छ भनेर तीनवटै क्षेत्रमा हामीले गर्नुपर्ने कामहरु राखेका छौं । 

‘भिजन पेपर’ सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले सुधार कहाँ–कहाँ गर्नुपर्ने हो ‘पिन पोइन्ट’ गरेर आउनू भन्नुभएको थियो । महासंघले सुधार गर्नुपर्ने विषयमा ‘पिन पोइन्ट’ गरिसकेको हो वा गर्न बाँकी छ ?

सयवटा प्राथमिकताका क्षेत्र हामीले राखेका छौं । अब ‘पिन पोइन्ट’ गर्नुपर्ने विषयलाई हाम्रो विभिन्न समिति र फोरममार्फत अगाडि बढाउने छौं । जुन–जुन कानुन परिमार्जन गर्नुपर्ने छ त्यसका लागि पनि समितिहरुमा छलफल सुरु गरिसकेका छौं । सुधार गर्नुपर्ने कानुनका विषयमा तीनमहले बनाएरै सरकारलाई दिनेछौं । 

कालोबजारी ऐनमा कुनकुन शब्द कहाँकहाँ परिवर्नन हुनुपर्छ त्यसको ‘पिन पोइन्ट’ गर्ने काम पनि सुरु भइसकेको छ । त्यसैगरी उद्योगहरुमा रहेका समस्याहरु के के छन्, त्यसको पनि ‘पिन पोइन्ट’ गरेर सरकारलाई छिट्टै बुझाउनेछौं । 

तपाईंको कार्यकालमा ४० वटा परियोजना सम्पन्न गर्ने भन्नुभएको छ, ती काम अगाडि बढिसकेका हुन् ? 

हो । केही काम हामीले सुरु गरिसकेका छौं । जस्तो ‘स्टार्टअप’ को लागि काम सुरु भइसकेका छन् । 

साना तथा मझौला लगानीलाई सहजीकरण गर्ने काम पनि नेपाल बैंकर्स संघ (एबीए) सँग सम्झौता गरिसकेका छौं ।  त्यसैगरी हामीले सातवटै प्रदेशका स्टार्टअपलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा पनि काम सुरु गरिसकेका छौं । 

‘भिजन पेपर २०३०’ र दिगो विकास लक्ष्य (एसडीजिज्) ले लिएका लक्ष्य अन्तरसम्बन्धित पनि छन् नि, होइन ?

त्यो अन्तर सम्बन्ध भिजन पेपरमा राखिएको छ । दिगो विकास लक्ष्य सरकारको लक्ष्य रहेको छ तर हामी पनि त्यसमा एकरुपता हुनुपर्छ भन्ने आधारमा यसलाई भिजन पेपरमा पनि राखिएको छ । 

दिगो विकास लक्ष्य एकदमै बृहत् भयो । त्यसले व्यापार/व्यवसायको मात्रै कुरा नगरी सम्पूर्ण मानव विकास सूचकांक (एचडीआई इन्डेक्स) कै कुरा गरेको छ । हामीले भिजन पेपरमा त्यसमा सहमति जनाउँदै खास गरेर लगानी अभिवृद्धिका कुराहरुलाई जोडेर ‘इकोनोमिक आस्पेक्ट्स’लाई मात्रै राखेका छौं । 

सय अर्ब डलरको अर्थतन्त्र बनाउन ठूलो लगानी चाहिन्छ । त्यो आकारको अर्थतन्त्र बनाउनको लागि स्वदेशी लगानीले मात्रै नसक्ला नि, के सोच्नुभएको छ ?

त्यसको लागि निजी क्षेत्रले ठूलो लगानी गर्न आवश्यक छ । यो आवश्यकता स्वदेशी पूँजीले मात्रै पूरा गर्न भ्याउँदैन । त्यसैले विदेशी पूँजी पनि आउन जरुरी छ । र, विदेशी पुँजी कुन क्षेत्रमा ल्याउँदा राम्रो होला ? कसरी ल्याउने ? यस सन्दर्भमा हामीले के भनेका छौं भने विदेशी पुँजी ल्याउँदा स्वदेशी पुँजीलाई कुनै पनि तरिकाले काखा र पाखा गर्नु भएन ।

स्वदेशी पुँजी पनि त्यत्तिकै आवश्यक छ । विदेशी पुँजीलाई रेड कार्पेटमा जसरी स्वागत गर्छौँ स्वदेशी पुँजीलाई पनि सोही तरिकाले स्वागत गर्नुपर्छ भन्ने हामीले राखेका छौं ।

र, कुनै क्षेत्रहरु जुन कुरामा ‘लार्ज इकोसिस्टम’ मा जोडिएका छन्, त्यस्ता क्षेत्रमा विदेशी लगानी ल्याउँदा अलिकति सोच विचार गरेर ल्याउन आवश्यक छ । जस्तै कृषि क्षेत्र । 

कृषि क्षेत्रको कुनै पनि ठाउँमा हामीले ‘कार्टेलिङ’ गरिरहेका छैनौं । जुन उद्योग वाणिज्य महासंघले कार्टेलिङ गर्छ भन्ने दोष पनि लगाइन्छ । कृषि क्षेत्रमा विदेशी लगानीको सन्दर्भमा हामी निजी क्षेत्रले आफ्नो धारणा पनि राखेका छौं । विदेशी लगानी आवश्यक छ, हामी आकर्षित गर्न चाहन्छौं । तर, ‘लार्ज इकोसिस्टम’ जोडिएको विषयमा अलिकति सोचविचार गर्नुपर्छ । 

तर, कृषि क्षेत्रमा नै विदेशी लगानीको कुरा गर्दा स्वदेशी उद्योगी व्यवसायीबीचमा धारणा फरक फरक आयो नि !

सायद इतिहासमा धेरैपटक भएको छैन तर कृषि क्षेत्रमा विदेशी लगानी सन्दर्भमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एउटै प्रतिबद्धता जनाएका थिए । 

हामीले के भनेका थियौं भने अलिकति सोचेर गरौं र स्टेकहोल्डरलाई कन्फिडेन्समा लिएर गरौं । यस्ता क्षेत्र जसमा ठूलो इकोसिस्टम जोडिएको छ, त्यस्ता क्षेत्रहरुमा पुनर्विचार गरेर मात्रै अगाडि बढ्नुपर्छ भनेका छौं । कृषि क्षेत्रमा वैदेशिक लगानीको सन्र्दभमा त्यो नै निजी क्षेत्रको धारणा हो ।

अन्य क्षेत्रको लगानीको विषयमा साझा धारणा बनाइसकेका छैनौं । 

कृषि क्षेत्रका विषयमा साझा धारणा बनाउन जरुरी थियो त्यसैले बनाएका थियौं । 

त्यसैगरी यो भिजन पेपरमा रहेका धेरै जसो आस्पेक्ट्समा साझा धारणा रहोस् भन्ने चाहना रहेको छ र प्रयास पनि गरिने छ ।

भिजन पेपरको लक्ष्य हासिल हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?

यो एउटा चुनौतीको विषय रहेको छ । मैले अगाडि पनि भने अहिले पाँच प्रतिशत काम मात्रै सकिएको छ । ९५ प्रतिशत बाँकी नै छ । सबै साथीहरुलाई यसमा संलग्न गराएर अगाडि बढ्ने प्रयास गरेको छु । उद्योग वाणिज्य महासंघका नेतृत्वलगायत अन्य साथीहरुले पनि यसमा विश्वास दिलाएका छन् कि यसमा एकमत भएर प्राथमिकताको साथ अगाडि बढ्ने भनेका छन् । 

यसको लागि मेरो नेतृत्वमा छुट्टै कार्यदल बनाउँदैछु । र, त्यो कार्यदलमा सबै पदाधिकारीलगायत अन्य साथीहरु पनि हुनेछन् । 

यो कार्यदलले हामीले अहिले राखेका प्राथमिकताहरु कसरी कार्यान्वयन गर्ने ? कुन समितिको माध्यमबाट गर्ने ? कसरी लविइङ गर्ने भन्ने विषयमा केन्द्रित रहेर ‘टाइम बाउण्ड’ रुपमा अगाडि बढ्नेछ । 

चुनौतीपूर्ण पक्कै छ तर बाटो बनाउन पनि जरुरी छ । हामी कहाँ पुग्ने ? लक्ष्य नहेरी त्यसै अगाडि बढ्न पनि सकिदैन । हामीले लक्ष्य बनाएका छौं । अब हामी सबै जना साथमा हिड्यौं भने पक्कै पनि यो सफल हुनेछ । 

सरकारले यो अवधारणलाई कसरी लिएको छ ?

एकदमै सकारात्मक रुपमा लिएको छ । हुन त यो निजी क्षेत्रको अवधारणा हो । सरकारी अवधारणा भन्दा धेरै कुरा यसमा फरक पनि छन् । सरकारले लिएको लक्ष्य र हाम्रो लक्ष्य केही फरक हुन सक्छ । यो निजी क्षेत्रको मात्रै अवधारणा हो । तर, यो राष्ट्रिय आर्थिक रुपान्तरणको अभियान हो, अवधारणा हो । राज्यको लक्ष्य र यो भिजन पेपरको लक्ष्य अलिकति फरक पनि छ । हामी कुनै ठाउँमा बढी महत्वाकांक्षी भएका छौं भने कुनै ठाउँ अझ पनि ‘रियलिस्टिक’ भएका छौं । 

यो समग्र निजी क्षेत्रको भिजन पेपर बन्नेछ भन्नुभएको थियो । यो समग्र निजी क्षेत्रको भिजन पेपर बनिसकेको हो वा बन्न बाँकी छ ?

नेपाल उद्योग परिसंघले आफ्नौ ‘मेक इन नेपाल’ भिजन पनि निकालेको छ । हामीले उत्पादन मात्रै नभई ३६० डिग्रीको कोणबाट हेर्ने प्रयास गरेका छौं । महासंघले साना तथा मझौला उद्योग व्यवसायलगायत सबै निजी क्षेत्रले प्रतिनिधित्व गर्ने भएकाले हामीले ३६० डिग्रीबाट अवधारणा लिएका छौं । 

मैले परिसंघको नेतृत्वसँग पनि भनेको छु कि कसरी यसलाई एउटै डकुमेन्ट बनाउन सकिन्छ भनेर । हुन सक्छ यो समग्र निजी क्षेत्रको भिजन पेपरको रुपमा अगाडि बढाउन सक्छौं । 

तस्बिर : हरिशजंग क्षेत्री

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्