site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
पार्टीलाई एकताबद्ध बनाउन ह्वीप नाघेका हौँ, ओलीलाई हेक्का होस् 

नेकपा (एमाले) खनाल–नेपाल समूहका  कर्णाली प्रदेश अध्यक्ष प्रकाश ज्वालाले पार्टी नेतृत्वलाई सबक सिकाउन ‘ह्वीप क्रस’ गरेको बताएका छन् ।

नेतृत्वले आफूलाई सर्वेसर्वा ठान्दै अघि बढ्ने प्रवृत्ति बारम्बार दोहोर्‍याएपछि ह्वीप नाघ्न बाध्य भएको उनको भनाइ छ ।

प्रस्तुत छ, संसदीय दलको कारबाहीको सिफारिसपछि बाह्रखरीले ज्वालासँग गरेको संक्षिप्त कुराकानी :–

Argakhachi Cement Island Ad

पार्टी एक रहेकै अवस्थामा दलको ह्वीप किन उल्लंघन गर्नुभयो ?

यसलाई संसदीय व्यवस्थाको पाटोबाट मात्रै हेरिनुहुँदैन, यो हाम्रो राजनीतिक निर्णय हो ।

संसदीय दलको निर्णय मान्नु नै रहेनछ, अस्ति सरकारबाट चाहिँ किन फिर्ता हुनुभएको ? यसको सन्देश के हो ?

मन्त्रीभन्दा हाम्रो लागि राजनीतिक, विधि, पद्धति ठूलो कुरा हो । सरकारमा टाँसिइरहने भन्ने कुराबाट पनि मुक्त हुनुपर्ने थियो ।

यसबीचमा हामीले पार्टीलाई एकताबद्ध बनाउने कोसिस पनि गर्‍यौँ । समस्यालाई समाधान गर्न पनि नखोजेका होइनौँ । पार्टीभित्र जबरजस्तीपना, एउटा प्रवृत्ति छ, त्यो सबैलाई ज्ञात छ, त्यो घट्ने होइन झन् बढ्दै गयो ।

फरक विचारको अस्तित्व नस्वीकार्ने, कारबाही गर्ने स्थिति भएपछि हामीले केही न केही विशेष निर्णय गर्नुपर्थ्यो । त्यही निष्कर्षअनुरूप हामी अगाडि बढेका हौँ ।

प्रदेशको आफ्नो निर्णय हो कि, केन्द्रकै सर्कुलरको पालना गर्नुभएको ?

प्रदेशको आफ्नो विशिष्ट अवस्था पनि छँदै थियो । केन्द्रका नेताहरूसँग पनि सरसल्लाह गरेर नै यो निष्कर्षमा पुगेका हौँ ।

यसको राजनीतिक अभिष्ट के हो ? यसले पार्टीलाई एकताबद्ध राख्छ, या विभाजनको मार्ग प्रशस्त गर्छ ?

यसको मुख्य सन्देश भनेकै पार्टीलाई एकताबद्ध राख्ने हो । दल, आन्दोलनलाई एकताबद्ध नराख्ने, पार्टीमा फरक विचारलाई पेल्ने, एकलौटी निर्णय गर्ने प्रवृत्ति नै समस्या सिर्जना गर्ने कारक हो । 

नेतृत्वमा पार्टीलाई एकताबद्ध नगर्दा, नमिलाउँदा यस्ता परिणाम आउँछन् भन्ने कुराको हेक्का रहोस् भन्ने सन्देश पनि हो ।

मूलतः यो पार्टीलाई एकताबद्ध रहन दबाब होस् भन्ने नै हो ।

उहाँहरूले त तपाईंहरूलाई कारबाहीकै सिफारिस गर्नुभयो त ?

नेतृत्वले अझै सोच्नुपर्छ । यस्तै तरिकाले जाँदा घाटा हुन्छ भन्ने त देखिइसक्यो नि । नेतृत्वले सुझबुझपूर्ण ढंगले अगाडि बढ्नुपर्‍यो ।

पार्टीमा विवेक पुर्‍याउनुपर्‍यो । पार्टीलाई समेट्नुपर्‍यो । सबैको सामूहिक प्रयत्न, संघर्ष, पहलकदमीबाट आन्दोलन, पार्टी यहाँसम्म आइपुगेको हो भन्ने कुरा हेक्का राख्नुपर्‍यो ।

यहाँहरूले पनि पार्टी अनुशासन मान्नुपर्थ्यो होला नि । नेतृत्वसँगको रिसले पार्टी प्रणाली नै कुल्चने ? संसदीय व्यवस्थामा पार्टीको ह्वीप सर्वोपरी होइन ?

होइन, होइन, हामीले राजनीतिक निर्णय गरेका हौँ । प्राविधिक कुरा धेरै ठूलो हुँदैन । यस्ता कुरा ह्वीपको परिधिभित्र, सीमाभित्र बाँध्नु ठीक हुँदैन ।

तस्बिर : फेसबुकबाट 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १९:४८
प्रतिक्रिया दिनुहोस्