
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुईजना नेताहरुलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
उनले सोमबार माधवकुमार नेपाल र भीम रावललाई पत्र पठाइ कारबाही गरेको जानकारी गराएका छन् ।
ओलीले पत्रमा अब पनि पार्टी विरोधी गतिविधि गरे थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
तर नेपालले भने यसलाई अस्वीकार गरिदिएको बताएका छन् । अध्यक्ष ओलीले कारबाही गरिसकेपछि नेता नेपालले ओलीले नै पार्टी छाडेर गए हुने प्रतिक्रिया दिएका छन् ।
बाह्रखरीका अक्षर काकासँग छोटो कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रस्तुत छ, नेता नेपालसँग गरिएको कुराकानीको अंश :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तपाईंलाई कारबाही गर्नुभएको छ । अब कसरी अघि बढ्नुहुन्छ ?
उहाँको यो कारबाहीलाई पूर्णरुपमा अस्वीकार गर्छु । उहाँले नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरेर अवैधरुपमा महाधिवेशन आयोजक कमिटी बनाउनुभयो । यो अवैधानिक भएकाले भ्रत्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु ।
यो उहाँको निरंकुश र स्वेच्छाचारी कृत्य हो ।
देशभरका कार्यकर्तालाई दृढतापूर्वक यसका विपक्षमा उभिन, विचलित नभइकन केपी ओली गुटको अवैधानिक कामका विरुद्धमा उभिन आह्वान गर्दछु ।
अब फरक पार्टी बनाएर संघर्ष गर्नुहुन्छ ?
अब देशव्यापीरुपमा गएर यही पार्टीलाई अघि बढाइन्छ । केपी शर्मा ओली असली एमाले होइनन् नक्कली एमाले हुन् । हामी असली एमाले हौँ ।
उहाँले त पार्टी छाडेर जान भन्नुभयो नि !
उनले छाडेर गए हुन्छ । हामी छाड्दैनौँ ।
कार्यकर्तालाई के भनेर आह्वान गर्नुभएको हो ?
अब जिल्ला जिल्लामा संगठन बढाउन कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।
अहिले केही कार्यकर्तामा निरासा पनि छाएको छ नि !
अहिले निरास हुने बेला होइन । समस्याहरु आउँछन् । बेला बेलामा निरंकुश प्रवृत्ति भएका व्यक्तिहरु आउँछन् । केपी ओलीको दक्षिणपन्थी, आत्मसमर्पणवादी सोचको कारणले समस्या आएको हो । उनमा अहंकार, दम्भ र उन्माद देखा परेको छ । पार्टीको कुनै माया छैन ।