site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
बोलेका सबै कुरा नआउँदा हाम्रो कमजोरीजस्तो देखियो

केही दिनअगाडि नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी शो ‘दोहोरी च्याम्पियन’मा निर्णायकहरुको अभिव्यक्तिप्रति धेरैले असन्तुष्टि जनाइरहेका छन् । निर्णायकहरु  प्रजापति पराजुली, चन्द्र शर्मा, रमेश बिजी र सीता थापाले प्रतिस्पर्धीलाई गरेको कमेन्टलाई लिएर उनीहरुको चर्को आलोचना भइरहेको छ । ‘सुरुवाल छोटो भयो, सुरुवालमा स्पोर्ट्स सुज लगाउनु भएन, तपाईं टेलिभिजनतिर देखिने भाइरल बहिनी हो’ भन्नेजस्ता कमेन्ट र अभिव्यक्तिलाई लिएर दर्शकले निर्णायक नै परिवर्तन गर्नुपर्नेसम्मको असन्तुष्टि राखिरहेका छन् । यति धेरै असन्तुष्टि आउनुको कारण, दर्शकले स्वीकार्न नसक्ने अभिव्यक्ति दिनुको कारण, निर्णायकहरुबीच नै मत बाझिनुको कारण के हो ? भनेर बाह्रखरीका नरेश फुयाँलले ‘दोहोरी च्याम्पियन’का निर्णायकमध्येका एक चन्द्र शर्मासँग गरेको कुराकानी :

दोहोरी च्याम्पियनको चर्को विरोध भइरहेको छ, यसमा के प्रतिक्रिया छ तपाईंको ?
नेपालको इतिहासमा दोहोरीको क्षेत्रमा सबैभन्दा ठूलो पुरस्कार भएको यो प्रतियोगिता नेपाल टेलिभिजनले आयोजना गरेको हो । डिजिटल अडिसनबाट आएका थुपै्रै प्रतिस्पर्धीमध्ये हामीले केहीलाई फिजिकल अडिसनमा ल्याएका हौँ । फिजिकल अडिसन लिने क्रममा करिब आठ घण्टा भएको सुटिङ, जसमा को कहाँबाट आएको, नाम के हो ? पहिलो शृंखला भएकाले धेरै कुराहरु भएका थिए । तर, सम्पादन गरेर एक घण्टामा झार्ने क्रममा निर्णायक तथा प्रस्तोताहरुले बोलेका धेरै कुराहरु समावेश गरिएको छैन । यस्तो हुँदा कहीँ निर्णायकले प्रतियोगीबारे बोल्दा दर्शकको मन दुःखेको होला । यो जगजाहेर नै छ । यो पहिलो शृंखला हो । एक वर्षसम्म यो निरन्तर अगाडि जानेछ । पहिलो प्रश्नमा म तपाईंलाई के ढुक्क पार्न चाहन्छु भने अरु शृंखलाहरु आउँदा हिजो बोलिएका कुराहरुको सन्दर्भ के रहेछ भन्ने स्पष्ट हुँदै जान्छ । सम्पादन गर्ने क्रममा केही कुराहरु काटिएका कारण यस्तो सुनिएको रहेछ भन्ने स्पष्ट हुनेछ । 

भिडियो सम्पादनमा कमजोरी भयो भन्न खोज्नुभएको हो ?
त्यस्तो होइन । ३५ वटा समूहको अडिसन आठ घण्टा चलेको थियो । त्यसलाई एक घण्टामा झार्दा सबै कुरा समेट्न सकिँदैन । सम्पादनमा कमजोरी होइन । तर, केही कुरा यो होइन, यो हो भनेर आगामी दिनमा पुष्टि गर्दै जानुपर्ने भयो ।

Argakhachi Cement Island Ad

प्रतिस्पर्धीलाई होच्याउने, हियाउने, बेइज्जत गराउन निर्णायकहरु उद्यत रहेको भन्ने दर्शकको असन्तुष्टि छ नि ?
प्रजापति पराजुली दाइ ०३९ सालदेखि नेपाली लोकदोहोरी गीत गाएर तीन दशकबाट दोहोरी प्रतियोगितामा निर्णायकको रूपमा बस्दै आउनुभएको छ । दाइका अभिव्यक्तिमा दौरा–सुरुवाल लगाउने तर स्पोटर््स सुज लगाउने भन्ने प्रतिक्रिया आएको छ । सुरुवाल छोटो भयो भन्ने प्रतिक्रिया छ । दोहोरीगीतमा सवाल–जवाफको १०० पूर्णांकको मूल्यांकन गरिरहेका छौँ । सवाल–जवाफको १० अंक छ । प्रश्नोत्तर, तालमेल र हाउभाउको १०, छन्द, लय र अनुप्रासको ५ अंक तथा वेशभूषा र अनुशासनमा ५ अंक छ । शब्दअनुसार ८ र १० टुक्का हुन्छ । प्रजापति दाइले यदि सबै निर्णायकले दिएको अंक दुई वा सोभन्दा धेरै समूहको बराबरी भएमा कतिपय अवस्थामा वेशभूषामा पनि नम्बर काट्न सक्छौँ है भन्नुभएको हो । यस्तो अवस्थामा दौरा–सुरुवालमा स्पोर्ट्स सुज लगाएको छ भने वेशभूषामा सचेत हुनले त्यसबाट नम्बर पाएर जित्छ । त्यसैले आउँदा दिनमा सच्चिएर आउनुस् भन्नुभएको हो । तर, सम्पादन गर्ने क्रममा यो सबै कुरा आएन । यसको वास्तविक कुरा के हो, सबैले बुझ्नु भएन । आगामी दिनमा बुझ्नुहुनेछ भन्नेमा म ढुक्क छु । 

सम्पादनजस्तै निर्णायकहरुको बोली तथा शब्द चयनमा तालमेल पनि नमिलेको हो कि ?
तपाईंले मलाई अहिले फोन गरिरहनुभएको छ । तपाईंसँग मेरो प्रत्यक्ष भेट हुँदा मैले दुई हात जोडेर नमस्कार सर भनेर भन्दा तपाईं मप्रति सकारात्मक हुनुहुन्छ भने त्यो नमस्कार तपाईंलाई राम्रो लाग्छ । तर, तपाईं मप्रति सुरुमै नकारात्मक हुनुहुन्छ भने मैले गरेको नमस्कारलाई तपाईं चन्द्र शर्माले गरेको नमस्कार कोल्टेकोल्टे थियो । धारे हात लगाएको थियो भनेर व्याख्या गर्न सक्नुहुन्छ । यो व्याख्या गर्ने अधिकार तपाईंसँग छ ।
 
तर, हामीले स्वीकार्नुपर्ने के हो भने यति ठूलो रियालिटी शोमा हामीले दशौं वर्ष पहिलादेखि बागलुङ, पोखरा, दाङ, बुटवल, काठमाडौंमा भएका दोहोरी प्रतियोगितामा हामी चिनजानका क्रममा छौँ । संस्थागत रूपमा पनि हामी फेमिलियर छौँ । दर्शकमाझ आउँदा हामीबीच रहेको फेमिलियर पन देखाउन नहुने रहेछ । हामी पनि सहज भएर बोल्नुपर्ने रहेछ भन्ने भाव पैदा भएको छ । 

पुरस्कार राशिको रकम उल्लेख गर्दै लोभ्याउने, यसका लागि योग्य छौ ? भन्नुको अर्थ कसरी लगाउने ?
योग्य होइन । कुनै प्रतियोगी चर्चाका हिसाबले ठूलो चर्चा कमाइरहेको छ भने पनि ऊ प्रतियोगी नै हो । निर्णायक निर्णायक नै हो । प्रतियोगीहरु प्रतियोगितामा आउँदा निर्णायकले तपाईंलाई यसको फर्म्याट थाहा छ, पुरस्कार थाहा छ ? भनेर तीन–चार मिनेटमा भएको सवाल–जवाफलाई केही सेकेन्डमा मात्रै दर्शकमाझ आउँदा त्यस्तो लागेको मात्रै हो । प्रतियोगीलाई होच्याएजस्तो मलाई लाग्दैन । 

प्रतिस्पर्धामा आएपछि सिक्दै निखारिँदै जाने हो । निर्णायकहरुले सुझाव दिँदै जाने हो भन्ने तथ्यलाई किन नजरअन्दाज गर्नुभएको ? 
प्रतियोगितामा करिब आठ सय डिजिटल अडिसनबाट हामीले ३५ समूह छान्यौँ । दोहोरीमा शब्द–शब्द केलाएर १०/१० टुक्का केलाएर निर्णय गर्नुपर्ने हुन्छ । कमजोरी रहेका ठाउँमा यहाँनेर कमजोरी छ है भनेको कुरा टेलिभिजनको माध्यमबाट आउँदा नकारात्मक सुनिएको हो । अन्यथा, हाम्रा लागि सबै समान हो । सुर्खेतबाट होस् अथवा सिन्धुपाल्चोकबाट  छानिएका प्रतिस्पर्धी हुन्, हाम्रा लागि उत्तिकै हुन् । सबैलाई हौसला प्रदान गर्ने नै हाम्रो काम हो ।  

तपाईंहरु आफैँ दोहोरी भनेको के हो भन्नेमा स्पष्ट नभएको देखियो । प्रतिस्पर्धीले तपाईंहरुबाट के सिक्ने, कस्तो सुझावको अपेक्षा गर्ने ?
तपाईंको सञ्चारमाध्यमबाट म के स्पष्ट पार्न चाहन्छु भने आज प्रजापति पराजुलीले थाहा नपाएको दोहोरी प्रतियोगिताको नियम र परिधि कसले थाहा पाउने ? यो मेरो जिज्ञासा छ । ०५३ सालदेखि दोहोरी प्रतियोगिता सुरु गरेर ०६० बाट हालसम्म नेपालका दोहोरी प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्दै आएको चन्द्र शर्मालाई दोहोरीको नीति–नियम थाहा नभएर कसलाई थाहा हुने हो ? म पनि अन्योलमा छु । नेपालका कलाकारहरुको सबैभन्दा ठूलो संस्था लोकदोहोरी प्रतिष्ठान नेपालको नेतृत्त्व सम्हालिरहेको रमेशी बिजीले नजाने र थाहा नपाएको शब्द चयन कसले थाहा पाउने हो ? हामी यसमा पनि अन्योलमा छौँ । नेपालका केही भेगमा मात्रै दोहोरी सुनिने समयमा पूर्वी नेपालको र रेडियो नेपालको प्रतिनिधित्त्व गर्दै ०५२ सालबाट राष्ट्रियस्तरमा प्रथम हुने सीता थापा दिदीले नबुझेको लोकदोहोरीको परिभाषा कसले बुझ्छ होला ? तर पनि धेरै कुरा हामीले बुझ्न र सिक्न बाँकी नै रहेछ भन्ने कुरा अहिले स्रोता, दर्शक तथा शुभचिन्तकहरुबाट आएको प्रतिक्रियाहरुबाट महसुस भइरहेको छ । पहिलो शृंखला प्रसारण भएको छ । अब आउँदा शृंखलाहरु थप राम्रा बनाउँदै जानुपर्छ । सिक्दै र परिमार्जित हुँदै जानुपर्छ भन्ने निष्कर्षमा पुगेका छौँ ।  

एउटा निर्णायकले राखेको कुराको खण्डन अर्को निर्णायकले गरिरहेको देखियो । तालमेल नै देखिएन नि ? 
दाङमा तुलसीको महिरो भन्छन् । सर्लाहीमा त्यही महिरोलाई मठ भनिन्छ । सीता दिदीले महिरो भनेको नबुझ्न सक्नुहुन्छ भने मैले मठ भनेको नबुझ्न सक्छु । शब्द चयनमा भेगका हिसाबले केही फरक पर्छ । यस्ता कुरामा निर्णायकहरुले हाम्रोतिर त यस्तो भन्छन् भनेर छलफल र वादविवाद गर्न सक्छन् । भाषागत कुराहरुले यस्तो भएको हुनसक्छ । यसमा पनि भएका कमी–कमजोरी आउँदा दिनमा सच्याउँदै जाने हो ।  

गायन प्रतियोगितामा सुरुवाल छोटो भयो, लुगासँग जुत्ता म्याच भएन भनेर कमेन्ट गर्ने भनेर निर्णायकको निर्णय क्षमता र सीपमा प्रश्न उठिरहेको छ नि ? 
लोकदोहोरी प्रतिष्ठान स्थापना हुनुभन्दा अगाडि दोहोरी प्रतियोगिताको निर्णायक गाउँमा भेटेनरीका डाक्टरहरु, निर्माण व्यवसायी संघका पदाधिकारीहरु, विद्यालयका शिक्षकहरु राख्ने चलन थियो । जसले हुटिङ पायो, त्यसैलाई गाउन लगाउने चलन थियो ।

अहिले फेसनको कुरा उठिरहेको छ । फेरि पनि म दोहोर्याउँछु, दोहोरी प्रतियोगितामा वेशभूषाको पनि नम्बर हुन्छ । कुनै दुई प्रतिस्पर्धीको समान अंक आएको खण्डमा भेशभूषाका आधारमा निर्णायकले निर्णय लिन्छन् । यो कुरालाई सञ्चारमाध्यमहरुले पनि बुझ्नुपर्छ । 

तपाईं निर्णायकहरुमा क्षमताकै अभाव हो कि प्रतियोगीलाई हेपेको ?
हेप्ने भन्ने शब्द प्रयोग गर्नुभयो, यो शब्द सच्याउन म यहाँसँग विनम्र अनुरोध गर्छु । एउटै क्षेत्रमा रहेको दुई–चार वर्षको अग्रजले अर्को व्यक्तिलाई हेप्ने भन्ने नै हुँदैन । १०औँ वर्ष अगाडिबाट चिनजान भएका साथीहरु प्रतियोगी भएर आउनुभएको छ । हामी एउटै परिवारका सदस्य हौँ । हेप्ने, हियाउने भन्ने कुरा नै आउँदैन ।

बागलुङ, पोखरा लगायत विभिन्न ठाउँमा दोहोरी प्रतियोगिता हुँदै छ । निर्णायक यिनै हुन् । प्रतिस्पर्धी पनि अहिलेकै हुन् । कोही कसैलाई विभेद हुने, होच्याउने, हेप्ने भन्ने नै हुँदैन ।

योबीचमा मलाई धेरै सञ्चारमाध्यमबाट कल आयो । तर, मैले कतै पनि अभिव्यक्ति दिएको छैन । तपाईंसँग पहिलोपटक बोल्दै छु । भोलि एउटा शृंखला आउँदै छ । त्यसबाट धेरै कुरा प्रष्ट हुन्छ । आइतबार प्रोमो पनि आउँदै छ । यसबाट अहिलेका सबै कुरा छर्लंग हुन्छन् । त्यसैले हामी कतै कसैसँग नबोलौँ भन्ने नै सहमति थियो । तर, तपाईंसँग म हार्न नसकेर बोलिरहेको छु । 

दर्जनौँ गीत गाएर लोकप्रिय भइसकेको व्यक्ति प्रतिस्पर्धीका रूपमा आउँदा तपाईंले जुन शब्द प्रयोग गर्नुभयो, त्यसप्रति धेरैको असन्तुष्टि रह्यो । यसले त प्रतिस्पर्धीको पनि त चित्त दुःखेको होला ?
नेपाल पत्रकार  महासंघले ठूलो प्राइज मनी राखेर प्रतिस्पर्धा आयोजना गर्यो भने त्यहाँ नेपालमा चलेका सेलिब्रिटी पत्रकारहरु रवि लामिछाने, भूषण दाहाल, विजयकुमार, टीकाराम यात्रीसँगै अन्य पत्रकारहरु भाग लिन जानुभयो भने सबै प्रतिस्पर्धीको लेवल बराबर हो । त्यहाँ रवि लामिछानेलाई छुट्टै नियम हुँदैन । विजयकुमारलाई छुट्टै नियम हुँदैन । त्यहाँ लोकप्रियतालाई हेरेर निर्णायकले नम्बर दिँदैन । विषयवस्तु र सन्दर्भलाई हेरेर जज गर्ने हो । चर्चा र प्रतियोगितामा भाग लिनु फरक पक्षहरु हुन् । बोल्ने कुरामा कहीँकतै गल्ती हुन्छ होला, त्यसलाई म स्वीकार्छु ।

तपाईंले प्रसंग उठाउनुभएको गायिका (कल्पना दाहाल) भित्र प्रवेश गरेपछि तपाईं त विभिन्न प्रतियोगितामा प्रथम भइसक्नुभएको गायिका, तपाईं कस्तो राम्रो गायिका, हजुरको यो गरिमा सधैँ उच्च रहोस् भनेर हामीले साढे चार मिनेटमा जिस्किएर ‘हुन त हो नि तपाईं त्यही यस्तो–यस्तो भएको गायिका हो नि’ भनेर भनेको सन्दर्भमा ३० सेकेन्डको बाइट्स आइसक्यो । चार मिनेटको कुराकानी आउनै बाँकी छ । अब बाँकी कुरा आएपछि र अरु शृंखला आएपछि तपाईंहरु सबै छर्लंग हुनुहुनेछ । 

काठमाडौं र वरिपरिका जिल्लाभन्दा बाहिरका गायक/गायिकाहरु काँठे भाकालाई स्वीकार्नु हुन्न, त्यसैले यो भाका गाउनेलाई हेर्ने नजर नै फरक हुन्छ भन्ने आरोप छ नि ?
मलाइ त्यस्तो लाग्दैन । तर, म यो कुरा स्पष्ट पार्छु । यो गलत कुरा हो, यसलाई म खण्डन गर्छु । १५१ भाका चयनमा ४८ वटा भाका काँठ क्षेत्रका भाका छन् । यो तथ्यलाई आफैँ हेर्नुस्, यसमा काँठे भाकाको हिस्सा कति प्रतिशत हुन्छ । हामी सबै निर्णायकहरुको काँठे गीतप्रति सम्मान छ । नेपालको सांगीतिक क्षेत्रको ठूलो हिस्सा यसले ओगटेको छ । काँठे गीतमा जुन मिठास छ, छोटो तर सुन्दा आनन्द छ । जुन आनन्द काँठे गीतमा छ, त्यो पश्चिमेली गीतमा आउँदैन । कसैलाई त्यस्तो लागेको छ भने त्यसलाई गलत रुपमा नबुझ्न मेरो अनुरोध छ । हिजो र आजमा ६ भाग सुटिङ हुँदै छ । यसमा चार भागमा हामी काँठे भाका नै सुटिङ गर्दै छौँ । काँठे गीत गाउनेले पश्चिमको भाका गाउनुहुन्छ । पश्चिमको भाका गाउनेले काँठे भाका पनि गाउनुहुन्छ । हाम्रा लागि सबै लोकगीत समान हुन् ।

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०९:१५
प्रतिक्रिया दिनुहोस्