site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
प्रचण्डले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरे : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले सिर्जना भएका अन्तरविरोधमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन् ।

पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशनविपरीत वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको सन्र्दभमा उनले यस्तो टिप्पणी गरेका हुन् । अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त प्रचण्डले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको दाबी उनले गरे ।

एमालेमा अहिले उत्पन्न परिस्थितिको बिजारोपण, कम्युनिस्ट आन्दोलन तथा वर्तमान समस्याको समाधानका बारेमा महासचिव पोखरेलसँग गरिएको कुराकानी ।

Argakhachi Cement Island Ad

एमालेभित्र के भएको हो अहिले ?
नेकपा एमालेभित्र भएका कुरा सार्वजनिक नै भइरहेको छ । तर, यसको कारण बुझ्न खोज्नुभयो भने त्यसका दुईवटा पाटा छन् । पहिलो पाटो भनेको हिजो नेकपा एमाले र माओवादी केन्द्रको बीचमा जुन किसिमले पार्टी एकीकरण भएको थियो, स्वरुपमा हेर्दा त्यो अत्यन्तै राम्रो थियो । किनभने, जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने । राजनीनिक स्थायित्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने हाम्रो अनुमान थियो । तर, सारमा के भयो भन्दा विचारलाई व्यवस्थित गर्ने काम अलिकति भएको थिएन । संगठनलाई व्यवस्थित गर्ने काम भएको थिएन र नेतृत्वको मामिलामा व्यवस्थित गर्ने काम भएको थिएन ।

किन त्यस्तो आलोकाँचो निर्णय भयो त ?
किन त्यस्तो भयो त भन्दा पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरु थिए, ती केन्द्रहरुमा रहेका आग्रहहरु हावी भए । त्यो आग्रहहरु हावी भएका कारणले त्यो महान् र पवित्र एकता परिपक्व हुन नपाईकनै सम्पन्न भएको थियो । त्यसकारणले के भन्न सकिन्छ भने यो एकताको बेलामा जुन भ्रूणहरुमा समस्या थिए, त्यही समस्या प्रकट भयो अहिले । त्यसको उत्कर्षमा पुगेको हो अहिले ।

अर्को कारण भनेको नेकपा एमालेभित्र हिजोदेखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो । त्यसलाई व्यवस्थित गरिसकेका थिएनौँ । त्यही व्यवस्थित गरीनसकेकै अवस्थामा हामी एकताबद्ध भयौँ । एकताबद्ध भए पनि पूर्वघटकहरुभित्र रहेको अन्तरविरोधहरु चलायमान नै थिए । त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो । त्यसकारणले अहिले जे भएको छ, यसको पृष्टभूमिमा यो कारण हो भनेर बुझ्नुपर्छ । कारण ठिक ढंगले नबुझ्ने हो भने समाधान के हुन्छ भनेर भन्न सकिँदैन ।

केही कमजोरीका कारण आज यो अवस्था सिर्जना भयो, अब कसरी समाधान गर्नुहुन्छ ?
समाधान के हो भने अहिले जुन उचाइमा हामी पुगेका छौँ, यही उचाइमा चुनौतीहरु पनि आए । जुन उचाइमा चुनौतीहरु आएका छन्, यही उचाइमा चुनौतीको सामना गर्ने सामर्थ्य पनि हामीले आर्जन गर्नुपर्छ । त्यो सामर्थ्को लागि एउटा भावनात्मक आधार भनेको कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्छ, यो राष्ट्रको आवश्यकता हो । जनताको आवश्यकता हो । विगतमा हामी जो जसले कमी–कमजोरी गरेको भएता पनि त्यसलाई एउटा वस्तुनिष्ठ भएर त्यसको आत्मसमीक्षा पनि हुनुपर्छ । आत्मसमीक्षा गर्दा आफ्ना कमी–कमजोरीहरुलाई रियलाइज गर्दा सानो भइँदैन । कमजोर भइँदैन । झन् त्यसले शक्ति प्राप्त हुन्छ ।

म सबै साथीहरुलाई के भन्न चाहन्छु भने आज यति बेला नेकपा एमालेको नाममा जे जस्ता कुराहरु भइरहेका छन्, त्यो बढो दुःखद् छन् । जनता र कार्यकर्ताले मन नपराउने कुराहरु हुन् । ती मन नपराउने कुराचाहिँ हामीले स्टप गर्नुपर्छ र नयाँ स्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ ।  एकताको कुरा गरिरहँदा हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्नु हाम्रो कर्तव्य हो । पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो । यो कर्तव्य हाम्रो कुनै वैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन, यो राष्ट्रिय आवश्यकता हो । त्यसकारणले कमी–कमजोरी भए, हामी आफैँबाट भए । अब यसलाई सच्याउने आँट पनि हामी आफैँले गर्नुपर्छ ।

यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुँदैन होला नि त वैज्ञानिक हिसाबले हेर्दाखेरी ?
यो गल्ती, कमजोरीको कुरा मात्रै होइन, पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि शतप्रतिशतमा बुझ्नु हुँदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ । कमी–कमजोरीहरु भएका हुनसक्छन् । कहीँ धेरै मात्रामा कमजोरी भएका हुनसक्छन्, कहीँ कमी होलान् । तर, गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भए पनि त्यो नेकपा एमालेभित्रकै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । त्यो साहस गर्नुपर्छ । मैले अघि नै भनेँ, कमजोरी सच्याएर मान्छे सानो भइँदैन । यसले आन्दोलनलाई नै बल पुग्छ र व्यक्तिलाई पनि उसको मोरल हाई पनि हुन्छ । त्यो गर्नु जरुरी छ । के गर्न हुने र के गर्न नहुने भन्ने कुरा त केही आधारभूत सीमारेखाहरु त हुन्छन् नि । जस्तो, पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो, पूर्वपार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो । अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले गर्‍यौँ ।

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौँ । त्योभन्दा अझै छिटो हो भने माघ मा नै गरौँ । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ । महाधिवेशनको तयारी गरौँ अनि त्यो नगरीकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउनेखालको कुरा भो भने त्यो कस्तो देखिन्छ ? त्यो कुनखालको कमजोरी ? त्यो कुनखालको गल्ती ? त्यो हामीले बुझ्नु जरुरी छ ।

एउटा पार्टीको दुईवटा समूहले आ–आफूलाई वैधानिक भनिरहेका बेला आम जनताले कसलाई के हेरेर सही मूल्यांकन गर्ने ?
देशभरिका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुराहरुलाई कसरी मूल्यांकन गर्ने ? यो आज वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ ।

अर्को कुरा, निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले वाम गठबन्धन बनायौँ । त्यसबेला हामीले तत्कालीन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो । विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो । त्यसैले पनि उहाँ विजयी बन्नुभयो । हाम्रो पार्टी विजयी बन्यो । संसदीय दलको नेता सर्वसम्मत हुनुभयो । संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो । माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत गर्‍यो । दुई वर्ष बित्न पाएको छैन, बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउनेजस्तो खालको कुरा गर्‍यो भने कस्तो देखिन्छ ? यो कुरा कुन तहको बद्नियतपूर्ण कुरा हो भनेर भन्नुपर्छ ।

वरिष्ठ नेता माधव नेपाल पक्षले त नेपाल कम्युनिस्ट पार्टी माओवादीको एकता बिथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दै आएको छ नि ! त्यसलाई स्वीकार्नुहुन्छ ?
कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाइयो । त्यो अभियोग अत्यन्तै संघीन छ । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुनका लागि मात्रै नालायक होइन, केपी ओली पार्टी सदस्य पनि रहन नसक्ने । त्यति मात्रै होइन, फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्नेखालका अभियोग । एउटा संघीन अभियोग लगाइसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो ? त्यो जग कसरी टिक्न सक्थ्यो ? त्यस्तो बेलामा प्रधानमन्त्री, पार्टी अध्यक्ष केपी ओलीले आफैँ खुमलटारमा गएर पुष्पकमल दाहालाई भन्नुभयो, तपाईंले जुनखालको अभियोग लगाउनुभएको छ, यो अभियोगलाई म अस्वीकार गर्छु, तपाईंले फिर्ता लिनुहोस् । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौँ । यदि, गर्नु हुन्न भने आधा शताब्दीको मेरो राजनीतिक जीवनमाथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्याय दिने जनतासँग मैले जानुपर्छ भनेर उहाँले बताउनुभयो । तर, त्यसलाई गम्भीरताका साथमा लिइएन ।

कुरो के हो भने अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभव्यस्त हुनुभएको पुष्पकमल दाहाल हुनुहुन्थ्यो । पूर्वएमालेभित्र विभिन्न कारणले सिर्जना भएका अन्तरविरोधहरु थिए । त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो । दुर्भाग्यले त्यस बेलाका नेकपा एमालेका नेताहरु पनि हिजोदेखिका सञ्चित अन्तरविरोधहरुलाई पुष्पकमल दाहालजीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयोजस्तो लाग्छ । यो आरोप होइन, मेरो बुझाइ हो ।

योबीचमा धेरै राजनीतिक घटना भए, अबको कार्यदिशा के हो ?
हिजो नेकपा भएको कालमा जेसुकै भएको होस् । अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौँ । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो । त्यो पूर्वअवस्थामा आइसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्नका लागि कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ ।

गाउँघरतिर घर–झगडा धेरै हुन थाल्यो भने मानो छुट्ट्याउने चलन छ । अहिले मानो छुट्ट्याएर घर–झगडा मिलाउन सकिँदैन ?
तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई । सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान्–श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो, अब हामी अलग–अलग रहौँ भनेर भन्छन् रे । त्यो अभ्यास पनि प्रारम्भ भएको छ । राजनीतिमा त के भो र ? राजनीति यही समाजमा गर्ने हो । हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरुले जज गर्ने हुन् । त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहले नै गर्दा भइहाल्छ केही पनि फरक परेन ।

अब त्यसमा चाँहिँ सम्बन्धित पक्षहरु जोजो छौँ, हाम्रो व्यवहार नचल्ने भयो, व्यवहार नचल्ने भएपछि आफ्नो आफ्नो गरौँ है भन्नेखालको कुरो हुन्छ नि । त्यसो भन्न पनि सकिन्छ । अब हेरौँ कसरी जान्छ ?

नेकपा एमालेको महासचिवको नाताले म के भन्न चाहन्छु भने हामीले त्यसो गर्नुभन्दा पनि अहिलेको अवस्थामा भरसक आफ्ना कमी–कमजोरीहरु के हुन्, ती कमी–कमजोरीहरु सच्याउने, आत्मसमीक्षा गर्ने, यसलाई जित र हारको विषय बनाउनु हुँदैन । हामीले गल्ती गर्‍यौँ । हामीले नै गर्‍यौँ । ठिक गर्‍यौँ, हामीले नै गर्‍यौँ । गल्ती–कमजोरीको नोक्सानी हामी सबैले नै व्यहोर्नुपर्ने । लाभका अंशियार पनि हामी आफैँ हौँ ।

दोस्रो कुरा, यो नै सबैभन्दा उत्तम र गर्नुपर्ने कुरा हो । म सबै साथीहरुलाई  यही आग्रह गर्न चाहन्छु । त्यसलाई कुनै तनावमा, इरिटेसनमा र कुण्ठा पालेर, द्वेष भावका साथ प्रस्तुत नभईकन लागेका कुरा खुलस्त भन्नुपर्छ । त्योभन्दा फरक ढंगले जानु हुँदैन । कमी–कमजोरी छन् भने पनि वीथ डिउ प्रोसेस सच्याउने के के कुरा हुनसक्छ, सच्याउनुपर्छ । यसरी जानुपर्छ भन्ने मलाई लाग्छ । होइन, यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तँतँ मम गरिरहन पर्‍यो र ? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो । एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो । देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा इज अफ माइन्ड (मनको चैन) हुन्छ । त्यसअनुरुप गर्न सकिन्छ ।

आज (बिहीबार)को संसदीय दलको बैठकमा उहाँहरु (नेपाल पक्ष) नआउने कुरा छ, तपाईंहरु के गर्नुहुन्छ ?

नेकपा एमालेको नवौँ महाधिवेशले निर्वाचित गरेको अध्यक्ष केपी ओली । निर्वाचित गरेको महासचिव म । हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन् । अध्यक्ष र महासचिवको तर्फबाट नै बैठक बोलाइएको हो । संसदीय दलको बैठक दलको नेताको तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्रीजीले बोलाउनुभएको हो । त्यो बैठकमा आउनु सबैको कर्तव्य हो । बैठकमा हामीले बोलाएका छौँ, उहाँहरु आउनुहुन्छ । त्यस विषयमा पनि आवश्यकताअनुसार छलफल हुन्छ ।

विशेष बैठक भनेर हामीले २८ गते (फागुन) गरेका थियौँ । विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई यज इट इज राखेर बैठक नै गर्न सकिँदैन्थ्यो । त्यसकारणले पनि विशेष बैठक भनेर गर्नुपर्थ्यो । बाधा अड्काउ फुकाउने केही केही बैठकहरु नगरी नहुने थियो । त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो । अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठक आयोजना भयो । त्यो बैठकले मूलतः ७ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गर्ने एजेन्डाहरु तयार गरेको हो । त्यो प्रस्ताव त्यो (७ चैत) बैठकमा प्रस्तुत गरिन्छ ।

दुई समूहको आ–आफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन ? के बुझ्ने एमालेको सामान्य मतदाताले ?
यो हाम्रो पार्टीको जीवन कस्तो छ भने, हामीले अनेक उतार–चढाव झेलेका छौँ । उतार–चढाव भोगेका छौँ । हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकता गर्दाको अनुभव पनि छ । एकता टुटेर दुःख पाएको अनुभव पनि छ, हामीसँग । अनि, ती अनुभवप्राप्त गरेका नेता साथीहरु पनि हुनुहुन्छ, हामीसँग । हाम्रो पार्टीले अनेकखालका उतार–चढावहरु झेल्दै आएको छ । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्यता राख्नुपर्छ । संयमता राख्नुपर्छ । एकले अर्कालाई आरोप लगाउनेजस्तो मात्रै कुरा गर्नु हुँदैन । हामीले यति बेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ । आज नेकपा एमालेको जीवनमा देखापरेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने, यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने ? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो ? त्यसमा केन्द्रित भएर बहस, छलफल केन्द्रित गर्ने । हामीले कुनै पनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौँ भन्दछौँ । हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपयचाहिँ अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुनः व्यवस्थित गर्नुपर्ने जरुरत छ । पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो ? हाम्रोजस्तो देशको विशिष्ठ अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के–के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ । र, लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जे–जे कुरा गरेका छौँ त्यसलाई पनि रिभिज गर्नुपर्ने जरुरत छ ।

नेकपा एमालेभित्र अहिले देखिएको अन्तरसंघर्षको निकासले कस्तो स्वरुप लेला, आँकलन गर्न सकिने अवस्था छैन । महासचिवको हैसियतले के भन्नुहुन्छ ?
देशभरिका कार्यकर्ता र नेकपा एमालेलाई माया गर्ने सबै साथीहरुलाई भन्न चाहन्छु, यतिबेला उत्तेजना र आवेशबाट होइन, संयमता धैर्यताका साथमा हामीले अगाडि बढ्नुपर्छ । र, विगतका अनुभवहरुलाई पनि सम्झना गर्नुपर्छ । पार्टी एकता सबैभन्दा ठूलो चिज हो । एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले संयमता, धैर्यताका साथ अगाडि बढेर, अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । सबै साथीहरुलाई म भन्न चाहन्छु, चुनौतीका गर्भभित्र अवसरहरु नि लुकेका हुन्छन् । त्यो अवसरलाई चिर्नुपर्छ । त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  ११:५५
प्रतिक्रिया दिनुहोस्