site stats
बाह्रखरी :: Baahrakhari
विशेष
देशभर आधारभूत अस्पताल निर्माणको काम कहाँ पुग्यो ?

काठमाडौं । सरकारले स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यका साथ गएको मंसिर १५ गते एकैपटक ३०९ अस्पतालको शिलान्यास गर्‍यो । यही आर्थिक वर्षमै सक्ने लक्ष्यसहित सुरु गरिएको आधारभूत अस्पताल निर्माण प्रक्रियाले गति भने लिन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदन छ । आर्थिक वर्षको अन्तिम चौमासिक सुरु भइसक्दा आधा स्थानमा मात्रै अस्पताल निर्माणको काम अगाडि बढेको देखिएको छ ।

०७५ देखिकै योजना  
आर्थिक वर्ष ०७५/७६ मा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले सबै पालिकामा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने घोषणा गरेकी थिइन् । मन्त्रालयले आर्थिक वर्ष ०७५/७६ मै प्रत्येक गाउँपालिकामा १५ शय्यासम्मको एउटा अस्पताल बनाउनुपर्ने भन्दै बजेट माग मागेको थियो ।

Argakhachi Cement Island Ad

चालु आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा भूगोल र जनसंख्याको आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नति गरिने उल्लेख छ । सोहीअनुसार गएको साउन २८ गते मुलुकभरका स्थानीय तहका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी पाँच, १० र १५ शय्याका अस्पताल थप्ने मन्त्रीस्तरीय निर्णय भएको थियो । पाँच शय्याको अस्पताल निर्माणका लागि प्रतिअस्पताल ७० लाख, १० शय्याको लागि ८५ लाख र १५ शय्याको अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ गरी कुल ५८ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पुस २१ गते स्वास्थ्य मन्त्रालयले मुलुकभर निर्माण हुने ३९६ अस्पतालको अन्तिम सूची तयार पार्‍यो ।

कुन प्रदेशमा कति अस्पताल बन्दै ? 
सरकारले दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने एकैदिन ३०९ अस्पतालको शिलान्यास गरिएको थियो । पहिलो चरणमा प्रदेश नम्बर–१ मा ८६, प्रदेश नम्बर–२ मा ५३, वाग्मती प्रदेशमा ५१, गण्डकी प्रदेशमा ५३, लुम्बिनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ४२ र सुदूरपश्चिम प्रदेशमा ५४ आधारभूत अस्पतालहरु निर्माण गर्ने योजनामा उल्लेख छ ।

०७७ कात्तिक मसान्तसम्म निर्माणकार्य सुरु गर्न मन्त्रालयले सबै स्थानीय तहलाई अनुरोध गरे पनि मंसिर १५ गते मात्र अस्पतालहरुको शिलान्यास गरिएको थियो । स्थानीय तहमा स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीतिअनुरुप सबै स्थानीय तहमा कम्तीमा आधारभूत अस्पताल स्थापनाको कार्य अघि बढाइएको हो । कुल ७५३ वटा पालिकामध्ये एउटा पनि अस्पताल नभएका ६४९ वटा पालिका छन् । सरकारले त्यसमध्ये पहिलो चरणमा यस वर्ष ३९६ वटा पालिकामा पाँच, १० र १५ शय्याका अस्पतालहरु निर्माण गर्न लागेको हो ।

१७ अस्पतालको प्रक्रिया नै अगाडि बढेन
सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल पुर्‍याउने लक्ष्यसहित  आधारभूत अस्पताल शिलान्यास गरेको थियो । त्यसको दुई महिनाभित्र ३९६ आधारभूत अस्पतालको निर्माणकार्य थाल्ने मन्त्रालयको योजना थियो । तर, लक्ष्यविपरीत २७ स्थानमा अझै अस्पताल भवन बनाउने जग्गाको विवाद रहेको मन्त्रालयको प्रतिवेदनले देखाएको छ । मन्त्रालयको गएको फागुन १६ गतेसम्मको तथ्यांकानुसार १७ स्थानमा अहिलेसम्म अस्पताल निर्माणका लागि कुनै प्रक्रिया अघि बढेको छैन ।

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १४:१०
प्रतिक्रिया दिनुहोस्