site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
‘एमसीसीको प्रसारणलाइन निर्माणको आवश्यकता झन् बढेको छ’

अहिले विद्युत् उत्पादन, प्रसारण र वितरणमा सहज छौं । अहिलेको माग धानिराखेकै छौं । गत वर्षभन्दा करिब १० प्रतिशत माग बढेको छ, त्यसलाई धान्न सकेकै छौं । यो वर्ष माग १४ सय ८८ मेगावाटसम्म पुगेको हो । ऊर्जा गत वर्षभन्दा १२ प्रतिशतले बढेको छ । यही समयमा गत वर्ष दैनिक खपत करिब २२ हजार मेगावाट आवर हुन्थ्यो । यो वर्ष दैनिक २५ हजार बढी मेगावाट आवर खपत भइरहेको छ । त्यसलाई धान्न समस्या भएको छैन । 

यो वर्ष खोलाहरू सुक्दै गएका छन् । यो वर्ष पानी अलि कम परेको हुनाले पनि खोला सुक्दै गएको हुन सक्छ । निजी प्रवर्द्धकहरुको क्षमता वृद्धि हुँदै गइरहे पनि गत वर्षको तुलनामा दैनिक ऊर्जा घटेको छ । उनीहरूको करिब ७ सय मेगावाट विद्युत् पुगिसक्दा पनि ऊर्जा घटेको हो । त्यो भनेको खोलामा पानी घटेकाले हो । यो वर्षका लागि मात्रै यस्तो भएको हो वा ट्रेन्ड देखाएको हो, त्यो चिन्ताजनक छ । जलवायु परिवर्तनले नेपाललाई कसरी असर पारेको छ भन्ने हेर्नुपर्ने भएको छ । यो प्राधिकरणको आपूर्तिसँगको समस्याभन्दा पनि ऊर्जा क्षेत्रकै लागि निजी प्रवर्द्धक, प्राधिकरणलाई भोलि कति असर पार्छ भन्ने हो । यदि यसरी नै खोलानाला घट्दै जाने हो वा आवधिक रुपमा मात्रै देखिएको हो, त्यो हेर्नैपर्नेछ । 

मैले विद्युत् संकटको कुरा खोला सुकेको हिसाबले भनेको होइन । हामीलाई चाहिने विद्युत् ल्याउन सक्ने गरी भारतसँग जोडिएको प्रसारणलाइनको अपग्रेट भएको छ । चाहिने बिजुली आउँछ, बिजुली नभएर ऊर्जा संकट आउँछ भन्ने खोजेको होइन । अब विद्युत् उत्पादन बढ्दै जान्छ । उत्पादित बिजुली भारत निर्यात गर्न सकेनौं वा उत्पादन पूर्ण भइसकेका आयोजनाका लागि प्रसारणलाइन बनाउन सकेनौं भने ती उत्पादित बिजुली खेर जान्छन् । हरेक महिनाजस्तो कुनै न कुनै आयोजनाले विद्युत् उत्पादन गरेका छन् । 

Argakhachi Cement Island Ad

चैत मसान्त वा वैशाख पहिलो सातामा माथिल्लो तामाकोसी सञ्चालनमा आउँछ । यही बीचमा २२ मेगावाटको चाँखु, ४२ मेगावाटको रिस्ती खोला आउँदै छ । दोर्दी, सिंगटी, सोलुलगायत आयोजना पर्खिएर बसेका छन्, अब उत्पादन गर्दै छन् । 

पोहोर साउन, भदौमा रातको बिजुली हामीलाई धेरै भइसकेको थियो । त्यो बेलामा बिजुली खेर गयो । ‘टेक अ पे’ मा किन्यो तर हाम्रो बिजुली खेर गयो । यो वर्ष अझै धेरै खेर जान्छ, यदि हामीले विद्युत् बेचेनौं भने । तर, आशाको किरण के पनि भयो भने भारतले भर्खरै अन्तरदेशीय विद्युत् व्यापार ‘प्रोसिड्युअर’ स्वीकृत गरेको हुनाले हामीले त्यसमा उनीहरूको ‘ग्राहक सदस्य’ बन्नका लागि निवेदन पनि दिइसकेका छौं । त्यहाँबाट बिजुली बेच्न सकियो भने हामीलाई राहत हुन्छ । 

अहिले हामीले प्रसारणलाइन निर्माणलाई प्राथमिकता दिएको छौं । ९/१० वर्षदेखि रोकिएर बसेका प्रसारणलाइन निर्माण सक्नुपर्छेछ । मेरो प्राथमिकता नै प्रसारणलाइन निर्माण रहेको छ । प्रसारणलाइन नभएर एकातिर बिजुली पोखिने अर्कातिर विजुली पुर्‍याउन नसक्ने हुनुभएन भन्ने हो । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको नै प्रसारणलाइन हो । प्रसारणलाइन निर्माणलाई नै केन्द्रित गर्नुपर्नेछ । प्रसारणलाइन निर्माणमा समस्या भोगिरहेका छौं तर पनि लागिरहेका छौं । भर्खरै दाना–कुश्माको ४० किलोमिटर प्रसारणलाइन सक्यौं, मर्स्याङ्दी-भरतपुर प्रसारणलाइन एक महिनामा सक्दै छौं । बर्दघाटदेखि भरतपुर प्रसारणलाइन सक्दै छौं । मर्स्याङ्दी-काठमाडौं पनि सकिन लागेको छ । सिंगटीको प्रसारणलाइन पनि एक महिनामा सक्छौं भन्ने छ । विगतका विभिन्न कारणले रोकिएका प्रसारणलाइन निर्माण अहिले सक्ने चरणमा छौं । जति सकिन्छ जनसमुदायको माग पूरा गर्ने, तर बनाउनै दिन्न भन्यो भने त्यो त राज्यको विकासको कार्य हो, राज्यले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । अहिलेको सन्दर्भमा एमसीसीको प्रसारणलाइन निर्माण परियोजनाको आवश्यकता झन् बढेको पनि छ । यो आयोजना बन्नुपर्नेछ ।

अब मुलुकमा लोडसेडिङ हुने कुनै सम्भावनै छैन । हामी एकछिन पनि विद्युत् कटौती हुनु हुँदैन भनेर नै गुणस्तरीय विद्युत्‌का लागि लागिपरेका छौं । अबको चुनौती भनेको नै गुणस्तरीय विद्युत् हो । मेरो ध्यान प्रसारणलाइन निर्माण, गुणस्तरीय विद्युत्‌मै रहनेछ ।  

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यसँग बाह्रखरीका लागि हिमाल पौडेलले गरेको  कुराकानी :

भिडियो हेर्नोस्

 

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ११:४५
प्रतिक्रिया दिनुहोस्