
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा पूर्वमाओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो । यसै गठबन्धनमा पुगेका मणिचन्द्र थापा अहिले खानेपानीमन्त्री छन् ।
संघीय संसद्को सांसदसमेत नरहेका मन्त्री थापा आफ्नो राजनीतिक भविष्य ओली नेतृत्वको समूहबाट अगाडि बढाउने निष्कर्षमा पुगेका छन् ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाबाट नेपाली राजनीतिको मोड फरक दिशामा जाने देखिन्छ । यसै सन्दर्भमा गरिएको कुराकानीमा नेता थापाले नेपालको राजनीति ओलीको नेतृत्वबाट नै अगाडि बढ्न सम्भव रहेको जिकिर गरे ।
राष्ट्रवाद, देश विकास र स्थायित्व प्रधानमन्त्री ओलीबाट मात्र सम्भव भएकोले पूर्वमाओवादीबाट ओली पक्षमा आएका नेताहरु माओवादी पार्टीमा नफर्कने उनले बताए ।
अबको राजनीतिक निकास निर्वाचनबाट मात्र सम्भव भएकोले देश निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । सरकार फेरबदल गर्ने, गठबन्धन बनाउनेभन्दा पनि राजनीतिक दलहरु निर्वाचनको लागि तयार हुनुपर्ने उनले बताए ।
विस्तृत भिडियोमा हेर्नुहोस्