
अशोक शाही तानसेन नगरपालिकाका मेयर हुन् । उनी पाल्पाका पुराना राजनीतिज्ञमध्येका एक हुन् । पाल्पा नेपालका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक भए पनि प्रचार प्रसारको कमीले छायामा परेको उनको बुझाइ छ ।
पाल्पाको पर्यटनको लागि निजी क्षेत्र नै अघि सर्नुपर्ने उनको टिप्पणी छ । यिनै विषयमा केन्द्रित रहेर मेयर शाहीसँग बाह्रखरीले गरेको कुराकानीः
तनसेनको मेयरका रूपमा स्थानीय सरकार साढे तीन वर्षभन्दा बढी समय चलाइसक्नुभएको छ । तपाईं नेतृत्वमा आइसकेपछि तानसेन नगरपालिकाको उन्नतिका लागि केके गर्नुभयो ?
एउटाबाट अर्को राजनीतिक कोर्षमा हामी रूपान्तरण भएका थियौँ । यस्तो परिवेशमा जनआकांक्षा ठूलो थियो । एकातिर ठूलो उपलब्धि खुसी थियो, अर्कोतिर केके न हुन्छ भन्ने अपेक्षा थियो । यसले जाँगर र बाधा दुवै सिर्जना गर्दो रहेछ । नेतृत्व सम्हाल्दै गर्दा पनि स्थानीय तह सञ्चालन ऐन बनिनसकेकाले शून्यता थियो । हामी निर्वाचित हुनेमा महत्वकांक्षा थियो । संविधान बनाएर चुनाव गरेका थियौँ ।
तानसेनको कुरा गर्दा पर्यटन, शिक्षा, स्वास्थ्यको सेरोफेरोमा योजना बुन्यौँ । राजनीतिमा नआउँदै त्यहाका नेताले यिनैबारे कुरा गर्थे । हामीले पनि नगरपालिकाको समृद्धिका लागि पर्यटन नै एक मात्र आधार भएको महसुस गर्यौं । हामीसँग भएको अपरच्युनिटी पनि पर्यटन नै थियो । पर्यटन भन्नेबित्तिकै संरक्षण, पूर्वाधार र निजी क्षेत्रसँगको सहकार्य सुरुमा आउँदो रहेछ ।
तानसेन २६ वर्गकिमिबाट १०९ वर्गकिमिमा विस्तार भएको थियो । यहीँभित्र विविधता छ । तिनाउदेखि कालीगण्डकीसम्म फैलिएको छ । सुरुमा हाम्रो राजस्व स्रोत मुस्किलले डेढ अर्बको थियो । यसबाहेक अन्य स्रोतमा भर परियो । केही गरौँ भनि पहिलो वर्षलाई बाटो वर्षका रूपमा लियौं । हरेक वडाबाट नगरपालिका भवनसम्म सवारी चढेर आउन सक्ने बनायौँ । त्यसपछि ऐतिहासिक सम्पदा संरक्षण गर्यौँ । पुरानो पन गुमाइसकेको महसुस गरेर जीर्ण सम्पदा पुनःस्थापना गर्यौँ ।
अर्को गरेको काम हो, दूधमा तर लागेकोजस्तो नभएर आधारभूत जनस्तरमा परिवर्तन महसुस गरायौँ । सुरुमा दलित, अल्पसंख्यकको स्वास्थ्य बिमा गरायौँ । विस्तारै लाभान्वित वर्ग थप गर्यौँ । महिला, स्वास्थ्यकर्मी, सफाइकर्मी, फरक क्षमता भएकाको बिमा गर्यौँ । हालसम्म लाभान्वितको संख्या १८ सय छ । सबै काम एकैपल्ट गर्न पनि नसकिँदो रहेछ । राजस्व बढेर क्षमता विस्तार हुनुपर्ने रहेछ ।
केही ठूला आयोजना पनि सुरु गर्यौँ । अर्थतन्त्र चलायमान बनाउन यस्ता परियोजना अघि बढाउन थाल्यौँ । छेर्लुङको कालीगण्डकी करिडोरबाट जोडेर तानसेन ल्याउने हो भने बुटवल जान ८० किमि छोटिन्छ । त्यहाँ फास्टट्रयाकको योजना अघि बढायौँ । अहिले कच्ची बाटो छ, केही सुधार गर्दा बाह्रै महिना ठूला गाडी चलाउन सकिन्छ । बौवा गुम्बामा भएको गिट्टी, ढुंगा उपयोग गर्न पनि बाटोको महत्व छ । सँगसँगै युवापुस्ता लक्षित कार्यक्रम ल्यायौँ । बिनाधितो कर्जा, सीप र व्यवसायसँग जोड्यौँ । सुरुमा त बैंकले हामीलाई पत्याएका थिएनन् । दोस्रो वर्ष सकिँदै गर्दा नेपाल बैंकको साथ पायौँ । युवा स्वरोजगारका योजना अघि बढायौँ । सीप, जाँगर, इच्छाशक्ति र इमानदारिताका आधारमा नगर आफैँ जमानी बसेर कर्जा निकाल्ने व्यवस्था गर्यौँ । हालसम्म ७२ परियोजनामा दुई करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यसबाट ५०० व्यक्ति संलग्न भएका छन् । साथसाथै महिना र दलित स्वावलम्बी कार्यक्रम पनि सञ्चालनमा छन् ।
हाम्रो प्रयत्न कृषिमा बढी बजेट विनियोजन गर्नु थियो । कृषितर्फ एक हजारभन्दा बढी बाख्रा, आवश्यक बीउ बोकाको बन्दोबस्त गर्यौँ । फापर, मरिचलगायत नगदेबाली प्रवद्र्धन गरेका छौँ । हालसम्म १५ सय युवालाई सीपमूलक तालिम दिएका छौं ।
आम सर्वसाधारमा आशा बढी छ कि निराशा बढी पाउनुभयो ?
उहाँहरुमा नकारात्मक सोच विस्तारै कम भएको पाएको छु । यत्तिका काम गरेपछि गाली पनि लुकेर गर्नुपर्छ । हिजो देखादेखी गाली गर्थे, आज त्यो छैन ।
तर, स्थानीय तहले लगाएका करसँग अलि असन्तुष्टि हो ? विशेष गरी दोहोरो कर ।
शुल्क लिएर सुविधा दिनुपर्ने आधुनिक सोच हो । कुनै बेला हिँड्दा अपराधीझैँ हेर्थे । तर, दोहोरो कर कतै थिएन । हाम्रो नगरमा प्रशासनिक खर्च लाग्दैन । जन्मदर्ता गराउन आउँदा उल्टै तीन हजार रुपैयाँ दिएर पठायौँ । यसको चर्चा कतै भएन । अहिले तानसेन नगरपालिकाको राजस्व चार करोड हुन्छ । तर, खर्च ११ करोड हुन्छ । नियमित काम कसरी गर्ने ? यस्तै, अरु पूर्वाधार कसरी निर्माण गर्ने ? ७५ लाख रुपैयाँको बिमा गरेका छौँ । त्यो पनि जुटाउनैपर्छ । खानीपानीमा छुट दिएका छौँ । यी कुरामा ध्यान गएन, कर उठायो मात्र भनियो । करै नलिने मुलुक कति छन् र संसारमा ? करअनुसारको सेवा दिए÷नदिएको कोणबाट हेर्नुपर्छ ।
परिवर्तन आकाशबाट खस्ने कुरा हो भनेर नबुझ्न सबैलाई आग्रह गर्छु । हामीले नागरिकलाई यो बुझाउन नसकेको हुनुपर्छ । चुनावमा भोट माग्ने क्रममा सबै काम सित्तैमा गरिदिन्छु पो भन्यौँ कि ! अहिले केही व्यक्तिबाहेक सबैले यो कुरा बुझेका छन् ।
पाल्पा भनेपछि पर्यटनको दृष्टिले चिनिन्छ । तानसेन आफैँमा सदरमुकाम र पर्यटकीय गन्तव्य हो । पर्यटन प्रवद्र्धन गर्न के कस्ता कार्यक्रम अघि बढाउनुभएको छ ? निजी क्षेत्रलाई कसरी जोड्नुभएको छ ?
नगरमा पर्यटन हेर्ने छुट्टै निकाय हुनुपर्ने महसुस गरेर पर्यटन एक्सन कमिटी (ट्याक) नामक स्थायी संरचना तयार पार्यौँ । समितिले पूर्वाधार निर्माण गर्ने, प्रचारप्रसार गर्ने, वार्ताका माध्यमबाट प्रवद्र्धन गर्ने गर्छ । पोखरामा तानसेनको प्रचारार्थ डिजिटल बोर्ड राखेका छौँ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदा संरक्षण गरेका छौँ । पर्यटन शिक्षास्वरुप गाइडलगायत ट्रेनिङ दिएका छौँ ।
पर्यटन भनेको निजी क्षेत्रसँगको सहकार्यबिना असम्भव रहेछ भन्ने महसुस गरी सार्वजनिक–निजी साझेदारी गरेका छौँ । पर्यटकीय स्थललाई व्यावसायिक रूपमा अघि बढाउने भनेर काम अघि बढिरहेको छ । रानीमहलमा सहकार्य सुरु भएको छ, हाइवे रिफ्रेसमेन्ट सेन्टरको सम्झौता हुँदै छ ।
सरकार सहयोगी मात्र हुनसक्छ, सक्रिय भूमिका निजी क्षेत्रको हुने रहेछ । निजी क्षेत्रको सहकार्यको सुरुमा रिसोर्स म्यापिङ गर्यौँ । सोहीअनुसार हातेमालो गरेका छौँ । हामीले नगरमा १०१ फिटको प्रतिमा राख्ने काम अघि बढाएका छौँ । कृषि पर्यटन प्रवद्र्धन गर्नेलाई थप सहुलियतमा धेरै कर्जाको व्यवस्था छौँ । पोखरामा पाल्पाली हाउस खोल्ने योजना बनाएका छौँ ।
पाल्पा चिन्दै नचिनेकाहरु तानसेन किन आउने त ?
तानसेन ऐतिहासिक सहर हो । युनेस्कोले तानसेनलाई मध्यकालीन बस्ती भनेको छ । यहाँको संस्कृति, इतिहास, प्रकृति मन लोभ्याउने छ । धार्मिक इतिहास हेर्दा रिडी क्षेत्रको १३ सय वर्ष पुरानो इतिहास छ । किंवदन्ती र पुराणमा तानसेनको वर्णन छ । रिडी चार धाममध्ये एक हो । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्तिमात्र हो । तानसेनबाट हिमाल, सूर्योदय अवलोकन गर्न सकिन्छ । दक्षिणपट्टि फर्र्किएको तानसेन न्यानो छ । तराईभन्दा शितल हुन्छ, पहाडभन्दा न्यानो हुन्छ ।
वि.सं. २०११ सालमा बनेको अस्पतालमा भारतबाट पनि उपचार गर्न आउँथे । यहीको मिसन अस्पतालमा विश्वासिलो उपचार गर्न सकिन्छ ।
इतिहासको कुरा गर्ने हो भने नेपाललाई ब्रिटिसले निल्न खोज्दा नेपालीले जितेर बनाएको भगवती मन्दिर छ । सिन्दुर जात्रा धार्मिक जात्रा मात्र नभएर राष्ट्रिय स्वाधीनता झल्काउने जात्रा हो । काठमाडौंभन्दा अन्तर रहेको नियाक्लासिकल दरबार रानीमहलमात्र हो । त्यहाँ उत्तरायण गंगा छन् । काली नदी शालिग्राम पाउने एक मात्र नदी हो । हामीले हाम्रा सामानको प्रचार गर्न नसकिएको हो । यस्तो प्रचार गर्न निजी क्षेत्रले मात्र सक्छ । जबसम्म निजी क्षेत्रले हामीसँग यी ठाउँ छ भन्दैन, तबसम्म कोही घुम्न आउँदैन ।
पर्दाभित्र दोकान राखेको छ अनि मैले यो वस्तु बेच्छु नभने व्यापार कहाँ हुन्छ ? हामीसँग धार्मिक सेन्टिमेन्ट पनि छ । हाम्रो कमजोरी बजारीकरणको सीप नहुनु हो । अर्को कुरा, पर्यटन पूर्वाधार बनाउन निजी क्षेत्रलाई आकर्षित गर्न सकेनौँ ।
तानसेन जान चाहने पर्यटकलाई के सुविधा छन् त ?
पछिल्लो समय व्यावसायिकतामा वृद्धि भएको छ । होमस्टे सञ्चालनमा आएका छन् । थ्री ह्विलर सवारी प्रशस्त छन् । जहाँ पनि पुग्न सकिन्छ । हामीले तालिम दिइका गाइड छन् । पाँचतारे होटल नै बनिसकेको छैन, उसको क्षमताअनुसार विकल्प छान्न सक्छ । पोखरा तथा काठमाडौंजस्तो सुविधा नहुन सक्छ । तर, एउटा पर्यटकले खोज्ने सबै सुविधा उपलब्ध छ ।
काठमाडौंमा हुने राजनीतिक खिचातानीले तपाईंहरुलाई काम गर्न कत्तिको असहजता छ ?
घरमा बुवाआमा झगडा गरे छोराछोरीको पढाइमा पक्कै असर पर्छ । स्वाभाविक रूपमा स्थानीय सरकारमा परेको छ । तर पनि हाम्रो प्रयत्न असर सकेसम्म कम पार्ने प्रयास गरेका छौँ । अन्तजस्तो धेरै प्रभाव तानसेनमा नपर्ला भन्ने विश्वास मेरो छ ।
चुनावी अभियानमा गरेका प्रतिबद्धताअनुसार काम गर्न सक्ने वातावरण हुँदो रहेछ कि रहेनछ ?
सपना यथार्थमा रूपान्तरण गर्नु निकै गाह्रो हो । तर, धेरै मात्रामा भयो कि भएन ? इमानदारितासाथ प्रयास गरियो कि गरिएन ? भन्ने कुराले अर्थ राख्ने रहेछ । मेरो हकमा मैले इमानदारिताका साथ काम गरेको छु, अधिकांश प्रतिबद्धता पूरा गरेको छु । तर, कतिपय काम अधुरा छन् । स्रोत, व्यवस्था परिवर्तनको अप्ठ्यारा पनि छन् । यो कुरा हाम्रा मतदाता नागरिकले महसुस गरेका छन् ।
चार वर्ष बित्दै गर्दा आफूले सोचेअनुसारको कार्ययोजनामा कतिको खरो उत्रिएको पाउनुभएको छ ?
त्यो त तपाईंहरुको काम हो, आम नागरिकको काम हो । तर, परीक्षा दिने अन्तिम दिनसम्म पढाइ सिध्याइएन कि भन्ने हुन्छ । काम गर्दा पनि त्यस्तै हुने रहेछ । त्यो हुटहुटी रहँदो रहेछ । अझै बेसी समय भइदिएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने महसुस हुने रहेछ ।