site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
‘उच्च रक्तचाप भएका व्यक्तिमा मस्तिष्काघातको जोखिम’

काठमाडौं । मस्तिष्काघात जोकोहीलाई पनि हुन सक्छ । मस्तिष्काघातबाट जोगिन दैनिक आहारविहार, स्वास्थ्यप्रति सजग हुनुपर्ने आवश्यकता देखिन्छ । गएराति मात्र नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी मस्तिष्काघातका कारण अहिले उपचाररत छन् । उनको उपचार काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पतालमा भइरहेको छ । जोशीको उपचारमा संलग्न चिकित्सक डा. राजीव झा (नसारोग विशेषज्ञ) सँग मस्तिष्काघातबारे बाह्रखरीकी अस्मिता रिजालले गरेको संक्षिप्त कुराकानी । 

के-हो मस्तिष्काघात ?
रगत आपूर्ति गर्ने धमनीहरू फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै जमेर वा अन्य कारणले रक्तनली थुनिएर स्नायु तन्तुहरूमा अक्सिजन र अन्य तत्त्वहरू आपूर्ति हुन नसकेर तन्तुहरू मरेको अवस्था मस्तिष्काघात हो । सामान्यतः बिहानी समयमा यो समस्या देखिन्छ । सुतेको अवस्थामा रक्तसञ्चार सामान्य रहन्छ भने उठेर चल्दा हुने परिवर्तनले यो समस्या निम्त्याउनसक्छ । त्यस्तै हाम्रो शरीरले थेग्न नसक्ने व्यायामले पनि यो समस्या न्म्त्यिाउनसक्छ । 

Argakhachi Cement Island Ad

कस्ता कस्ता व्यक्तिलाई हुनसक्छ मस्तिष्काघात ? 
उच्च रक्तचाप भएका व्यक्तिहरू मस्तिष्काघातको पहिलो जोखिम वर्ग हुन् । कब्जियत हुने समस्या भएका व्यक्तिहरूमा पनि यो समस्या देखिन सक्छ । नेपालको हकमा मस्तिष्काघात आमसमस्या हो । उच्च रक्तचापको जाँच नगर्ने अभ्यास, उच्च रक्तचाप भएका बिरामीले औषधिमा हेलचेक्रयाँईं गर्ने तथा मादक पदार्थको अत्यधिक सेवन गर्नाले यो समस्या धेरै देखिएको छ । 

मस्तिष्काघात भएका बिरामीहरू बाँच्ने अर्थात् निको हुने सम्भावना कति हुन्छ ? 
एकपटक मस्तिष्काघात भएका बिरामी बाँच्ने सम्भावना ३० प्रतिशत हुन्छ । हालसम्मको तथ्यांकअनुसार यो समस्या भएर ७० प्रतिशतले भने ज्यान गुमाएको रेकर्ड छ ।
 
बाँचेको खण्डमा बिरामीको दैनिकी कस्तो हुनसक्छ ?
यस्ता बिरामी कोमाबाट बाहिर आएर श्वासप्रश्वासलगायत प्रक्रिया सामान्य भएको खण्डमा उनीहरुलाई अस्पतालमा बढीमा चार साता उपचार गरेपछि पुन:स्थापना केन्द्रमा पठाइन्छ । केन्द्रमा कम्तीमा ६ महिना फिजियोथेरापीमार्फत उपचार गरेपछि अवस्था केही सामान्य हुनसक्छ । तर यस्ता बिरामीहरूमा लामो समयसम्म शरीरको कुनै पनि अंग नचल्ने पक्षाघातको अवस्था रहनसक्छ ।

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई भएको मस्तिष्काघातको अवस्था कस्तो हो ? 
जोशी पहिलेदेखि नै मधुमेह र उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । अहिले कोमाको अवस्थामा हुनुहुन्छ, अबको दुई दिनपछि उहाँको सिटिस्क्यान रिपोर्ट जाँच हुन्छ । उहाँको दायाँ साइडबाट रक्तस्राव भएको छ र अरुतिर पनि फैलिएको छ । मस्तिष्काघात भएको विपरीत साइडमा यसको असर देखिने भएकाले जोशीको बायाँ पाटोको हात-खुट्टालगायत शारीरिक अंगहरूमा लामो समयसम्म पक्षाघात रहनसक्छ ।

के गर्ने मस्तिष्काघात हुन नदिन ? 
४० वर्ष पुगेका व्यक्तिहरूले कुनै लक्षण नभए पनि कम्तीमा वर्षमा एकपटक पूरा शरीर जाँच गराउनु जरुरी छ । सामान्य टाउको दुखाइलाई समेत बेवास्ता गर्नु हुँदैन यदि अचानक दुखेको खण्डमा । उच्च रक्तचापका बिरामीले औषधि नियमित गर्नुपर्छ । सामान्य व्यक्तिमा समेत मादक पदार्थको सेवन भने मस्तिष्काघातको अर्को प्रमुख कारण हो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १४, २०७७  २२:३२
प्रतिक्रिया दिनुहोस्