site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
अहिलेकै अवस्था रहे दुई/चार वर्षमा सुगम संगीत रहँदैन

सनुप पौडेल नेपाली सांगीतिक क्षेत्रका अब्बल संगीतकर्मी हुन् । भलै उनी लामो समय अन्डररेटेड भएर बसे । ‘द भ्वाइस अफ नेपाल’ सिजन-१ मा कोचका रुपमा आएपछि लाइमलाइटमा आएका उनी गीत-संगीत बजारमा ल्याउँन हतारिँदैनन् । कारण हतारमा कमसल गीत गर्नुभन्दा समय लिएर राम्रो सिर्जना स्रोतामाझ पुर्‍याउनुपर्नेमा जोड दिन्छन् । संगीत विस्तारै बिजनेस हुँदै गएको सन्दर्भ, क्लासभन्दा ‘मास’लक्षित गीत-संगीत हाबी हुँदै गएको वर्तमान अवस्था, रियालिटी सोको प्रभाव र त्यसको योगदान तथा उनले भर्खरै सार्वजनिक गरेको गीतलगायतमा केन्द्रित भएर सनुपसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

गीत-संगीत सार्वजनिक गर्न अरुजस्तो त्यति धेरै हतारिनु हुन्न नि, किन ? 
मेरा लागि मैले बुझेको गीत-संगीतका कारण नै म छु जस्तो लाग्छ । मेरा लागि गीत-संगीत केवल रेकर्डिङ र पब्लिसिङ मात्रै होइन । योभन्दा पनि मेरो विचारमा सिर्जनालाई जति समय दियो त्यसले त्यति नै धेरै गुणस्तर दिन्छ । 

यति भन्दाभन्दै पनि अहिलेको समयलाई पनि म बुझ्छु । समयअनुसार पनि दौडिनुपर्छ । मेरो आफ्नो प्रोजेक्ट छ भने म अलि बढी समय खर्चिन्छु । तर, मेरै प्रोजेक्टभित्र पनि मार्केट सेन्ट्रिक गीत छ भने त्यसलाई धेरै समय दिनुपर्छ भन्ने लाग्दैन । आर्टका विभिन्न फर्म हुन्छन्, त्यसमध्ये केहीलाई छिटो गर्न सकिन्छ भने किन नगर्ने भन्ने हो । 
तर, राम्रो संगीतका लागि समय दिनुपर्छ भन्ने मेरो मान्यता छ । 

Argakhachi Cement Island Ad

लामो समयपछि नयाँ गीत सार्वजनिक गर्नुभएको छ, कस्तो गीत हो यो ?
अरु सबै’ भ्यालेनटाइन डे स्पेसल गीत हो । अनुप पाहारी जो केही वर्ष अगाडिसम्म साइलेन्टली काम गरिरहनुभएको थियो । कक्षा २ देखि ९ सम्म उहाँले गोपाल योञ्जनसँग संगीतको शिक्षा लिनुभएको थियो । उहाँको स्कुल अफ थर्ट र मेरो संगीतप्रतिको बुझाइ मिल्छ ।

‘द भ्वाइस’मा म आबद्ध हुँदा उहाँले एउटा गीतमा काम गर्नुपर्छ भन्नुभएको थियो । सुरुमा मैले मात्रै गाउने कुरा थियो । तर, मेरो समूहमा रहेकी शैलेश्वरी सिंहको गायन प्रतिभा देखेपछि डोयट् गरौं भनेर दुईजनाले गाएका हौं ।

यो गीत मेरो विचारमा स्वर्ण युगमा जुन प्रकारको माहोल थियो गीतको, त्यो माहोल अहिलेसम्म निरन्तर विस्तार र प्ररिष्कृत हुँदै आएको भए अहिलेका गीत ‘अरु सबै’ जस्तै हुने थिए होलाजस्तो लाग्छ । अहिलेसम्म आइपुग्दा सुगम संगीत यस्तो हुन्थ्यो कि भन्ने हाम्रो परिकल्पना हो ।

लभसँग प्रेम गर्ने जोडीको इन्टिमेसी वर्णन गरिएको छ । 

इन्टिमेसी अलि बढी नै भयो कि ? 
तपाईंले भनेको कुरालाई पनि व्याख्या गर्न सकिन्छ । मेरो विचारमा इन्टिमेसी कति समाजले रोकेको छ । तर, आर्टले इन्टिमेसीलाई कहिल्यै रोकेन । जस्तै प्राचीनकालका आर्ट हेर्नुस् । मन्दिरका टुँडालहरूमा हेर्नुस् । इन्टिमेसी लुक्ने कुरा होइन भनेर यो भिडियोमा हामी इमान्दिारीपूर्वक लागेका छौं । आर्टको फर्मबाट यसलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छौं भन्ने मेरो विश्वास छ । 

पछिल्लो समय बजारले चकलेटी गीत–संगीत बढी मन पराउन थालेको हो ?
मेरो विचारमा समयको माग पनि हो । गीत–संगीत समयसँगै परिवर्तन हुन्छ भनेर मैले विश्वविद्यालयमा पढेको थिएँ । यो लाइन म कहिल्यै बिर्सिन्न । संसार परिवर्तनशील छ र संगीत पनि त्यही नै हो । त्यसैले यसलाई लिएर मेरो नकारात्मक धारणा छैन । मार्केट म्युजिक छ, त्यसैले म्युजिक इन्डस्ट्री पनि छ । आम मान्छेको रुचिअनुसार संगीत पनि सिर्जना हुँदै जाने हो । तर, अलिकति मिहिनेत गर्‍यो भने स्तरीय म्युजिकको स्थान पनि राम्रो रहन्छ । म्युजिक फस्टफुडजस्तो भइसक्यो । संगीत कमोडिटी हो भने यसले बजारलाई नजरअन्दाज गरेर अगाडि बढ्नै सक्दैन । 

क्लासको गीत-संगीत सिर्जना गर्नेहरू पनि मासका लागि गीत–संगीतमा केन्द्रित भएको पाइन्छ, किन ? 
यो कुरा म स्वीकार्छु । सुगम संगीतको विस्तार भइसक्नुपर्ने थियो तर भएको छैन । हामीले यसलाई निरन्तरता दिएनौं भने अबको चार/पाँच वर्षकमा सुगम संगीत मर्छजस्तो लाग्छ । त्यसैले यसमा हाम्रो योगदामन रहनै पर्छ । सबैले गर्नुपर्छ भन्ने छैन । तर, जसले गर्नसक्छ उसले आफ्नातर्फबाट यसमा लागिरहनुपर्छ भन्ने मेरो विचार छ ।

राम्राभन्दा पनि चकलेटी गीतको चर्चा धेरै सुनिन्छ, यसले गीत–संगीतको गुणस्तरमा कस्तो प्रभाव पर्छ ? 
मासमा जाने गीतमा उच्च गुणस्तर हुँदैन । यसमा आज लिरिकल एस्पेक्ट, आजै कम्पोज, भोलि रेर्कड, पर्सि सुट अर्को दिन रिलिज गर्नुपर्छ । यसले अवश्य पनि गुणस्तर हुँदैन । हामीले स्वीकार गर्नैपर्छ, हाम्रोमा परिपक्वता पनि छैन । 

अहिले मासमा जाने गीतमा गुणस्तर छैन । साउन्ड क्वालिटी छैन, प्रोडक्सन छैन । अटो ट्युन छ, यसको अर्थ मिहिनेत छैन भन्ने हो । यसले अन्ततः विकृति नै ल्याउने हो ।

आर्टमा केन्द्रित भएर गुणस्तरीय काम गरे त्यसमै बानी लाग्छ । हैन भने राम्रो गीत बन्दैन ।

यसको अर्थ अबका दिनमा राम्रा गीत सुन्न पाइँदैन भन्ने हो ?
हाम्रो जमर्को नै राम्रो गीत गर्न सकौं भन्ने हो । नवरस म्युजिकबाट हामी आइरहेका छौं । यसबाट हामी क्लासको म्युजिक नै ल्याउँछौं । राम्रा गीत-संगीत ल्याउने प्रयास गर्नेछौं । यो नै हाम्रो उद्देश्य हो ।

तर, यति भन्दाभन्दै पनि हाम्रो संस्कृति परिवर्तन हुन थालिसकेको छ । यसको अर्थ गीत–संगीतमा कस्तो पर्छ भन्ने हो । वास्तवमा भन्ने हो भने संगीत दिमागबाट प्रवेश गरेर आत्मा र मनलाई छुने हो । तर, अहिलेको गीतले खुट्टा र हिप मात्रै नचाउँछ । 

बजारका लागि नचाउने एक खाले र आत्मसन्तुष्टिका लागि अर्कै गीत गाउनुपर्ने अवस्था आएको हो ?
पक्कै पनि हो । तर, सुगम संगीत आज पनि बचिरहेको कारण क्लासको गीत–संगीत सुन्ने स्रोता भएका कारण हो । यो अझै बच्छ भन्ने लाग्छ । किन भने मासका गीत-संगीतको आयु एकदम छोटो हुन्छ ।

युट्युब कमाउनेभन्दा पनि धेरै हल्ला गर्ने माध्यम बनेको छ, यदि स्टेज कार्यक्रम हुँदैन थियो भने गायक-गायिकाको आर्थिक अवस्था कस्तो हुन्थ्यो ?
हल्ला गरेर सुनाउने प्रलन बसिसक्यो । डिजिटल प्लेटफर्मको प्रकृति पनि त्यस्तै छ । डिजिटल मार्केटको बिजनेस स्टाटेजी पनि त्यस्तै नै छ । गुगलको प्रोटोकल नै त्यस्तै छ । जसले बडी हल्ला गर्‍यो, बुस्ट गर्‍यो त्यसले कन्टेन्ट त्यति नै फ्लो गर्छ । राम्रो कुराको हल्ला गर्दा हुन्छ भन्ने मेरो मान्यता छ ।

स्टेज कार्यक्रमले कलाकारको लाइफस्टाइललाई नै निर्धारण गर्छ । आर्थिक अवस्था राम्रो हुने नै स्टेज कार्यक्रमले नै हो । अहिले एक वर्ष स्टेज कार्यक्रम नहुँदा विश्व भरै नै कलाकारलाई आर्थिक असर परेको छ ।

कपीराइटको कानुन लागु नहुँदा स्रष्टाहरू ठगिएको गुनासो आइरहेको छ । किन कपिराइट र रोयल्टीको मुद्दा हाम्रोमा टुङ्गो लाग्न सकेको छैन ?
पहिलो पक्ष त चेतनाको कमी नै हो । दोस्रो कुरा हामी सबै एकजुट भएर अगाडि बढेका छैनौं भन्ने लाग्छ । एउटै कार्यका लागि विभिन्न ठाउँमा बाँडिएर काम गर्नुपर्छ भन्ने मलाई लाग्दैन । सबै एकजुट भएर अगाडि बढ्नुपर्छ । एकै ठाउँमा आएर अदालतसम्म पुगेपछि यो कुरालाई नसुन्ने भन्ने हुँदैन । तर, समय भने लाग्छ जस्तो छ । किन भने यहाँ धेरै कुरा ढिलो हुन्छ । 

पछिल्लो समय यो कुरामा मेरो पनि चासो बढ्दै गएको छ । लक्ष्मण शेषले मसँग जे कुरा भन्नुभएको छ । उहाँको योजना र सोच मलाई मन परेको छ । कलाकारको हितको मात्रै कुरा होइन यो । बौद्धिक सम्पत्ति रक्षाको कुरा पनि हो । आफ्नो सिर्जनामा कसैले हातहाल्छ भने त्यो अपराध हो । सरकारसमक्ष यो कुरा पुर्याउनुपर्छ । लक्ष्मणजीको कुरा मलाई मन परेको छ । अब बौद्धिक सम्पत्ति रक्षाका लागि हामी एकतृत भएर लड्नै पर्छ । मलाई लाग्छ यो समय चाँडै आउँछ । 

युट्युबको प्रयोग बढेसँगै गीत सुन्नेभन्दा हेर्ने भयो । यो सँगै गीत महँगो भयो भन्ने गुनासो छ । यसले प्रतिभावान् व्यक्तिहरूका लागि गायनमा प्रवेश नै कठिन भयो भनेर मान्न सकिन्छ ?
यसलाई कसरी व्याख्या गर्ने भन्नेमा म आफैं पनि दोधारमा छु । एक हिसाबले भन्ने हो भने हो पनि । राम्रो गीत–संगीतका लागि प्रोडक्सन पनि राम्रो हुनै पर्छ । कसरी हुन्छ यसको निष्कर्षमा हामी पुग्नै पर्छ । 

गीत सुन्नेभन्दा पनि हेर्ने भएसँगै गीत–संगीत साधना नै रहेन भन्न मिल्छ ?
समय त्यस्तै थियो भन्छु म । मान्छेलाई गीत–संगीतप्रति माया, मोह र लगाव धेरै थियो । मान्छेलाई म्युजिक भए केही चाहिँदैन थियो । बहुला भएर गीत–संगीतमा लाग्ने समय थियो । अहिले गीत–संगीतमा व्यापार गर्ने ठाउँ देखिएपछि मासलक्षित हुँदै जाँदा प्राविधिक हिसावले धेरै मिहिनेत नगर्ने प्रचलन बढेर गयो । हो जति मिहिनित हुनुपर्ने थियो भएको छैन । लगाव नभएको संगीतकर्मीले त्यो काम गर्दैनन् । 

संगीत साधना होइन भन्ने कुरा त नकार्नै सकिँदैन । संगीतले साधना अपिल गर्छ नै । 

नेपाली गीत–संगीतको गुणस्तर खस्कियो भन्ने टिप्पणी हुँदै आएको छ । स्वीकार्नु हुन्छ ? 
सबैमा त होइन तर केहीमा गुणस्तर छ । आ–आफ्नो जानरामा काम गरेका संगीतकर्मीहरूले राम्रो काम गरेका छन् । तर, निश्चय नै गीत–संगीतको गुणस्तर खस्किएको छ । 

चलचित्रका गीतले अन्य गीत–संगीलाई छायामा पारे भन्न मिल्छ ?
चलचित्रका गीत पनि राम्रै छन् । तर, छायामा पार्ने कारण त्यहाँ भित्र केही स्टाटेजी छन् । म यसलाई ठेट संगीत मान्दिनँ । त्यो स्टाटेजीभित्र केही काम हुन बाँकी छ । यो स्टाटेजीलाई म नेपाली मौलिकताको बुई चढेको भन्छु । आर्टलाई यस्ता पक्षले विगार्छन् भन्ने हो । आर्टलाई पियोर फर्ममै राख्नुपर्छ । 

पहिलेका चलचित्रका गीत–संगीत हेर्नुहुन्छ भने अहिलेकाभन्दा कैयौं गुणा राम्रा छन् । अहिले गुणस्तर घटेकै हो । कारण हामीमा लगाव छैन । बिजनेस घुसाउन थालियो । 

रियालिटी सोहरूले साँच्चै प्रतिभाहरू जन्माउँदै छन् कि प्रतिभाका नाममा व्यापार गरिरहेका छन् ?
प्रतिभाको पक्षमा काम भइरहेको छैन भन्न मिल्दैन । लाइमलाइटमा आउन चाहनेहरूले राम्रो प्लेटफर्म पाइरहनुभएको छ । तर, यति हुँदाहुँदै पनि बिजनेस होइन भन्न मिल्दैन । शतप्रतिशत बिजनेस हो । संसारमै भइसकेको बिजनेस हो यो । तर, इमानदार भएरभन्दा धेरै बिजनेस थोरै कलाचाहिँ हो । 

त्यो प्लेटफर्ममा जातीयता, क्षेत्रीयता, लिङ्गीयताको प्रभाव कति देखिँदोरहेछ ? 
सुरुसुसरुमा देखियो । तर, अहिलेसम्मम त धेरै कम भइसक्यो । यो कुरा ठीक होइन भन्ने धेरैलाई लाग्न थालिसक्यो । सुरुका दुई/तीन वर्ष यसको प्रभाव धेरै देखिएको थियो । संसारमै रियालिटी सोको एज धेरै छैन भनिन्छि । यो स्याचुरेसनमा जान थालिसक्यो । 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०७:२९
प्रतिक्रिया दिनुहोस्