site stats
बाह्रखरी :: Baahrakhari
विशेष
पढाइमा बच्चा कमजोर छ ? ‘स्पेसिफिक लर्निङ डिसअर्डर’ हुनसक्छ

काठमाडौं । तपाईंको बच्चाले विद्यालयमा पढाएको कुरा घरमा आएर लेख्न सक्दैन ? अथवा पढ्दै जाँदा बीच-बीचका अक्षरहरू छुटाउँछ ? गणितका हिसाब गर्ने क्रममा जोड्नुपर्ने अंकलाई घटाउ, भाग गर्नुपर्नेलाई गुणा गरिदिन्छ । ठूलो कक्षामा पुगिसक्दा पनि स्पेलिङ बिगार्छ अथवा उस्तै शब्दहरूको स्पेलिङ एउटै लेख्छ । यी लक्षणहरू देखिएका बालबालिकामा स्पेसिफिक लर्निङ डिस्अर्डर (एसएलडी) को समस्या हुनसक्छ ।

के हो स्पेसिफिक लर्निङ डिस्अर्डर ?
स्पेसिफक लर्निङ डिस्अर्डर कुनै मानसिक रोग नभइ बालबालिकामा हुने एक प्रकारको असामान्य बौद्धिक अवस्था हो । यस्तो समस्या भएका बालबालिकाले सामान्यसरह पढाइएका कुराहरू सिक्न, पढ्न र लेख्‍न सक्दैनन् । विशेषगरी प्रि-स्कुलदेखि माध्यमिक तहसम्मका बालबालिकामा यो समस्या देखिन्छ । स्पेसिफिक लर्निङ डिस्अर्डर मुख्यत: तीन प्रकारको हुन्छ । यिनै तीनवटा माध्यमबाट बालबालिकामा एसएलडीको समस्या भएको पहिचान पनि गर्न सकिन्छ । 

१. डिस्लेक्सिया : डिस्लेक्सिया स्पेसिफिक लर्निङ डिस्अर्डरअन्तर्गत पर्ने एक समस्या हो । बालबालिकाले पढ्ने अथवा उच्चारण गर्ने क्रममा यो समस्या पहिचान गर्न सकिन्छ । डिस्लेक्सिया भएका बालबालिकाले पढ्ने क्रममा शब्द अथवा अक्षर स्पष्ट उच्चारण गर्न सक्दैनन् । उस्तै अक्षरहरू भए एउटै उच्चारण गर्ने, वाक्यमा बीचका शब्दहरू छुटाउने समस्या यस्ता बालबालिकामा देखिन्छ । सामान्य बालबालिकासरह पढ्ने सिक्ने , हेर्ने क्रममा सहभागी भए पनि यस्ता बालबालिकाले पर्याप्त सिक्न सक्दैनन् । यो समस्याले गर्दा बालबालिकालाई पछिसम्म पनि भाषामा समस्या हुनसक्छ ।

Argakhachi Cement Island Ad

२. डिस्ग्राफिया :  डिस्ग्राफिया बालबालिकाको लेखाइमा देखिने समस्या हो । यस्ता बालबालिकाले स्पेलिङमा धेरै गल्ती गर्छन् । उस्तै शब्दहरूको स्पेलिङ एउटै लेख्ने अगाडि या पछाडिको अक्षर गल्ती लेख्नेजस्ता लक्षण देखिएमा उनीहरूमा यो समस्या भएको पहिचान गर्न सकिन्छ । डिस्ग्राफिया समयमा पहिचान नभएमा ठूलो तहमा पुग्दासम्म पनि उनीहरूले आफ्नो बानी सुधार गर्न सक्दैनन् । 

३. डिस्क्याल्कुलिया :  डिस्क्याल्कुसलिया भएका बालबालिका गणित विषयमा कमजोर देखिन्छन् । सामान्य जोड, घटाउ, गुणा भाग गर्ने क्रममा उनीहरूले संकेत उल्टोपाल्टो गर्छन् । जस्तै जोड्ने क्रममा घटाउने, एउटै हिसाबमा दुईवटा संकेत प्रयोग गर्नेजस्ता लक्षण यी बालबालिकामा हुन्छ । ठूला बालबालिकामा भने सूत्र प्रयोग गर्ने, ग्राफहरू बनाउने क्रममा पनि समस्या देखिनसक्छ । 
No description available.

कसरी हुन्छ स्पेसिफिक लर्निङ डिसअर्डर ? 
बालबालिकाको उमेरअनुसार ध्यानकेन्द्रित गर्नसक्ने क्षमता हुन्छ । प्राथमिक तहका बालबालिकाको ध्यानकेन्द्रित गर्नसक्ने क्षमता एकपटकमा १० देखि १५ मिनेटसम्म हुन्छ । लामो समयसम्म कक्षा सञ्चालन गर्दा बालबालिकामा ध्यानकेन्द्रित गर्ने क्षमता भंग भइसकेको हुन्छ र उनीहरूले पढाएका सबै कुरा सिक्न सक्दैनन् भन्ने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । क्लिनिकल साइकोलोजिस्ट डा. तृष्णा विष्टका अनुसार सबै बालबालिकामा सुन्न, र सिक्नसक्ने क्षमता फरक-फरक हुन्छ । सँगै उनीहरूले सिक्ने तरिका पनि फरक हुन्छ । कसैलाई भनेको आधारमा उनहिरूले सिक्नसक्छन् भने कसैलाई देखाएर सिकाउनुपर्ने हुन्छ । केही बालबालिकामा भने प्रयोग गरेपछि मात्रै नयाँ कुरा सिक्नसक्ने क्षमता हुन्छ । त्यसैले धेरै बालबालिकालाई एकै ठाउँमा राखेर एउटै तरिकाले सिकाउँदा बालबालिकामा यस्ता समस्या देखिन सक्छ । त्यस्तै बालबालिकालाई सानै उमेरमा विद्यालय भर्ना गरिदिँदा पनि उनहिरूको सिक्ने क्षमता विकास भइनसकेको अवस्थामा पनि एसएलडीको समस्या देखिनसक्ने डा. विष्ट बताउँछिन् ।

No description available.

के हुन्छ समाधानको उपाय ?
स्पेसिफिक लर्निङ डिस्अर्डरलाई धेरै अभिभावक तथा शिक्षकहरूले बालबालिका अल्छी भएको वा अटेरी भएको रुपमा बुझ्‍ने गरेको डा. विष्ट बताउँछिन् । बालबालिकामा भएको यस्तो समस्याको सही पहिचान नहुँदा उनीहरूलाई पढाइका लागि दबाब दिने गरिएको देखिन्छ । केही बालबालिकालाई मानसिक रोगी भएको आशंकामा अभिभावकले मनोचिकित्सककहाँ पुर्‍याएका घटना पनि विष्टको अनुभवमा छन् । एसएलडी आफैंमा मानसिक समस्या नभए पनि सिक्न नसकेकै कारण अभिभावक र शिक्षकले दिने दबाबले उनीहरूमा डिप्रेसन, नकारात्मक निर्णय लिनसक्ने अवस्था आउनसक्छ । समयमै बुझेर सही परामर्श दिनसके निश्चित अवधपिछि यो समस्या निदान हुन्छ । त्यसका लागि अभिभावक र विद्यालमा नजिक रहेका शिक्षकको ठूलो भूमिका हुन्छ । 

विद्यालमा स्पेसल शिक्षकको आवश्यकता
नेपालमा फरक क्षमता भएका बालबालिकाका लागि विशेष विद्यालयको अवधारणामा धेरै संस्थाहरू सञ्चालनमा छन् । सरकारी तवरबाटै सञ्चालन भएका शैक्षिक संस्था पनि प्रभावकारी भइसकेको अवस्था छ । तर स्पेसिफिक लर्निङ डिस्अर्डर भने यी सबैभन्दा फरक समस्या भएकाले यसबारै कुनै सरकारी वा गैरसरकारी अवधारणा अघि बढेको देखिँदैन । अभिभावकहरूले आफ्नो बालबालिकामा भएको यस्तो समस्यालाई जटिल रुपमा नलिई समस्या स्वीकार गरेमा उपचार प्रक्रियामा लैजान सहज हुने काठमाडौंको चाँदबाग प्रि-स्कुलकी प्रधानाध्यापक कल्पना लोहनीको भनाइ छ । एसएलडीको समस्या भएका बालबालिकालाई छुट्टै विशेष शिक्षक राख्नुपर्ने भए पनि प्रि-विद्यालयले राख्‍ने मन्टेश्वरी शिक्षक मात्रै पनि पर्याप्त नहुने उनको दाबी छ ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  ०६:०९
प्रतिक्रिया दिनुहोस्