site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
जनताका लागि बोलिदिने साहित्य नै हो

चर्चित कवि अर्जुन पराजुली प्रतिगमनविरुद्धमा भिडेरै उत्रिएका छन् । उनका अनुसार आजदेखिको होइन, उनको यो खबरदारी । धेरैअघिदेखि नै उनले बेथितिका विरुद्ध, अन्याय, अत्याचारका विरुद्ध आफ्नो काव्य, विचार तथा अभिव्यक्तिका माध्यमबाट आम नागरिकलाई जागरुक गराउँदै आएका हुन् । अहिले पनि उनी प्रतिगमनकै विरुद्धमा विभिन्न कार्यक्रममा सहभागी हुन काठमाडौंबाहिर छन् । काठमाडौं छाड्नु अघिल्लो साँझ अर्जुन पराजुलीले बाह्रखरीसँग कुरा गर्दै आफू एक्लै भए पनि प्रतिगमनविरुद्ध लागिरहने बताए । प्रस्तुत छ, कवि पराजुलीसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको सार ।

यतिबेला लेखक/कवि/पत्रकारलगायतका नागरिक अगुवाहरूबाट अर्को आन्दोलन सुरुवातको उद्घोष भएको छ । प्रतिगमनविरुद्धको यो अवस्थाले के देखाउँछ ? 
यतिखेर नागरिकले एकफेर सोच्ने हो भने तिनले थाहा पाउन सक्छन् कि यो प्रतिगमन हो । अझै प्रतिगमनको पनि प्रतिगमन हो भन्ने मलाई लाग्छ । डरलाग्दो किसिमले अगाडि बढिरहेको छ । यो जुन रूपमा अघि बढिरहेको छ, त्यसले फेरि हामीलाई द्वन्द्वमा धकेल्ने सम्भावना धेरै देखिन्छ । 

यस्तो पनि होला भनेर हिजोका दिनमा हामीले सोच्दै सोचेनौँ ?
यस्तो कृत्य यो लेभेलमा हुन्छ भनेर कसरी सोच्ने ? सोच्ने कुरा पनि थिएन । किनभने, पहिले पो राजा थिए । राजा भनेको, राजतन्त्र भनेको जनतालाई शोषण नै गर्ने हो भन्ने थियो । त्योदेखि मानिसहरू सधैँ सचेत पनि भइरहन्थे । सचेत थिए पनि । तर, जनताबाटै राज्यसत्तामा आउनेले यसरी राजाको भूमिका खेल्छ भन्ने मानिसले त सोच्नै सकेको हुँदैन । आज जुन प्रतिगमन भइरहेको छ, त्यो त अपराध हो भन्ने मलाई लाग्छ । 

Argakhachi Cement Island Ad

साहित्यमा कल्पनाको कुरो गरिन्छ । यो त्योभन्दा पनि टाढाको कुरो भयो त ?
यो त कल्पनाभित्र नभएको कुरो भयो ! हिजोको प्रतिगमन भनेको बाघले मासु खाने कुरा थियो । बाघको आहारा नै हो, मासु । त्यसैले बाघसँग सबै बचेर बस्छन् । तर, बाख्राले कहिल्यै मासु पनि खान्छ भनेर कसैले कल्पना गर्न सक्छ ? सक्दैन नि ! यतिबेला बाख्राले मासु खायो ! बाघले मासु खानु र बाख्राले मासु खानुमा त आकाश जमिनको फरक छ नि । 

बाख्रालाई मासु खाने बानी कसरी लाग्यो त ?
मैले भनेँ नि, यो कल्पनाभन्दा बाहिरको कुरो भयो । जनताबाट उठेर आएको मान्छे, पञ्चायतकालमा पञ्चायतका विरुद्ध लागेको मान्छे, जहाँबाट उम्रियो, जसको काँधमा चढेर ऊ दुनिया डुलिरहेको छ, उसैले तलको मानिसलाई लात हानेर लडाउँछ ! जुन व्यवस्थाबाट ऊ जन्मियो, त्यही व्यवस्थामा उसले आगो लगाउँछ । जुन संविधानबाट ऊ बन्यो, त्यही संविधान उसले भत्काउँछ । त्यो कसले कल्पना गर्न सक्छ । कल्पनाबाहिरको नै कुरा हो यो । 

यो त आफ्नो घर जलिरहेको कुरा हो । आफ्नो सहर जलिरहेको कुरा हो । हामी ताली बजाएर बसिरहेका छौँ ! जब हामीलाई उसले आगो लगाउँछ, त्यसबेला बजाउनका लागि हामीसँग ताली हुँदैन, केवल खरानी हुन्छ ! 

सारालाई भ्रममा राखियो ?
हेर्नुस्, अहिले नै पनि प्रतिगमनलाई ठिक भन्ने मान्छे कोही छ ? छैन । खालि थाल, रिकापी र चम्चाबाहेक को छ, प्रतिगमनको समर्थन गर्ने ? अलिकति नैतिकता भएको, अलिकति इमानदार र विवेक भएकोले ठिक भन्दै भन्दैन । 

१३/१४ वर्षअघि व्यवस्था परिवर्तनका लागि सबै आन्दोलनमा उत्रिएका थिए । तर, फेरि आन्दोलनमा होमिनुपर्‍यो ! 
हिजोको त्यो अवस्था र आजको यो अवस्थामा केही पनि फरक छैन । पहिलेको प्रतिगमन नारायणहिटी दरबारबाट भएको थियो भने अहिलेको प्रतिगमन शीतलनिवास र बालुवाटारबाट भएको छ । त्यो बेला पनि जनता नउठेर, दलले भनेको नपत्याएर बल्लबल्ल विस्तारै उठेका थिए । अहिले पनि त्यही स्थिति छ । जनताले सायद सोचिरहेका पनि छैनन् ! कतिलाई त प्रतिगमन के हो भन्ने पनि थाहा छैन होला । फेरि, अर्को भ्रम पनि छ होला, सबै उस्तै उस्तै छन् । एउटा गयो, अर्को आउने हो । त्यसैले हामी किन लाग्ने भन्ने पनि होला कतिपयमा । तर, हाम्रो घरघडेरी नै गइसकेको छ भने हामी त्यत्तिकै त बस्न पनि मिल्दैन नि । त्यसलाई त हामीले जोगाउनुपर्छ नि । 

हामी कहाँ चुक्यौँ ? 
हामी चुकेको भनेको हामीले गलत मान्छेलाई छानेछौँ भन्ने नै हो । हामीले राजालाई भोट दिएको हैनौँ । हामीले त आफूजस्तै आफूसरहकै मानिसलाई भोट दिएर त्यहाँ पुर्‍याएका थियौँ । तर, हाम्रो दुर्भाग्य ! अहिले जसले संविधानभन्दा बाहिर गएर, आफ्नै संविधान बनाएर दुर्घटनातिर देशलाई उन्मुख गराउँदै हुनुहुन्छ ! थाहा छ कि छैन, उहाँहरू दुवैजना २०६२/६३ को आन्दोलनमा हुनुहुन्नथ्यो । त्यसबेलाको भिडियो हेर्नुभयो भने देख्नुहुनेछ, उहाँहरू कुनै पनि जुलुसमा हुनुहुन्नथ्यो । आमसभामा हुनुहुन्नथ्यो । गणतन्त्रको आन्दोलनलाई समर्थन गर्नुहुन्नथ्यो । त्यसबेला उहाँहरूको नेगेटिभ भूमिका मात्रै थियो । तर, दुर्भाग्य जो गणतन्त्रविरोधी थियो, उही नै गणतन्त्रको नेता बन्यो । अनि, उसले बदला लियो ।

त्यसो भए यसरी कहिलेसम्म नागरिक अगुवाहरु उठिरहने ? घच्घचाइरहनुपर्ने ! खबरदारी गरिरहनुपर्ने !
चेतना भएको मानिस चुप लागेर बस्न सक्दैन । कसरी चुप लागेर बस्ने ! अन्याय गरेको कसरी हेर्न सकिन्छ ! बलियोले निर्धोलाई हेपेको, दबाएको, अन्याय गरेको देख्न नसक्ने मान्छे त्यसको विरुद्धमा त उठछ नै । बरु, विरोध गर्दागर्दै मर्ने हो ।

अब जनता पनि जाग्नुपर्‍यो ?
हो । अब जनता नै जाग्नुपर्‍यो । आफ्नो सबै कुरा गइसक्न लाग्यो । कसैको रिसले जे गर्दा पनि हुन्छ र ! हामी एउटालाई हटाएर अर्कोलाई प्रधानमन्त्री बनाउने वा राष्ट्रपति बनाउने भनेर लागेका हैनौँ । त्यो हाम्रो सरोकारको विषय पनि होइन । कुरो के हो भने, यो व्यवस्थालाई आघात पुर्‍याउने काम कसैबाट हुनुहुँदैन । त्यसको विरुद्धमा लागेका हौँ । तथापि, डरलाग्दो कुरो, मुलुक फेरि द्वन्द्व र लडाइँमा जान्छ कि भन्ने हो । 

लेखन र साहित्यमा सक्रिय व्यक्तित्वहरू प्रतिगमनविरुद्धको नागरिक आन्दोलनमा देखिनुभएको छ । पहिलेपहिले जुन रूपमा साहित्यकारहरूको उपस्थिति जनआन्दोलनहरूमा हुँदै आएको थियो, त्यसको अनुपातमा साहित्यकारहरू कम देखिएका हुन् ?

सुरुसुरुमा यस्तै हुन्छजस्तो लाग्छ, मलाई । अहिले त मानिसहरूले परसम्म हेरेका नै पनि छैनन् होलान् । देखे पनि बोलेका छैनन् । कतिलाई केही लिन, पाउनको लोभ पनि होला । कसैले तत्कालका लागि मात्रै आन्दोलन गरेको भन्ने पनि बुझेका होलान् । कति त आन्दोलनमा होमिएका पनि होलान् । 

यदाकदा पुराना लेखक, कविहरुले ३६ सालको सडक कविता क्रान्तिको कुरा गर्छन् । त्यसबेला आफूले गरेका कुरा सुनाउँछन् । तर, आजको दिनमा तिनका अभिव्यक्ति वा विचार खासै आएको देखिँदैन ?
त्यो आफ्नो आफ्नो दृष्टिकोण हो । उहाँहरूले के गरिरहनुभएको छ वा गरिरहनुभएको छैन भन्नेमा मेरो कुनै टिप्पणी छैन । म आफ्नोतर्फबाट एक्लो हुँदासम्म पनि प्रतिगमनका विरुद्धमा, बेथितिका विरुद्धमा लडिरहन्छु । म मेरो विवेकलाई बन्धकी राख्न सक्दिनँ । म कुनै लोभ पनि गर्दिनँ र मलाई चाहिएको पनि छैन । म सधैँ जनताको पक्षमा लागिरहने मानिस हुँ ।

प्रतिगमनका विरुद्धमा आफ्ना दृष्टिकोण राख्न सामाजिक सञ्जालहरू पनि छन् । तर पनि पुराना लेखक, कविको उपस्थिति नगण्य छ !
मैले भनेँ नि, अरूले के गर्नुभएको छ भन्ने तिर म जान्नँ । म आफू लागिरहन्छु । उहाँहरूलाई केही भन्ने अधिकार पनि छैन मेरो । एउटा सचेत नागरिकले प्रतिगमनको विरोध गर्नुपर्ने हो । 

घरमा कसैले आगो लगाइसक्यो । हामीले त्यसमा पानी नहाल्ने हो भने त हाम्रो घर खरानी हुन्छ । हाम्रो बस्ने ठाउँ हुन्न । हामी सुकुमबासी हुन्छौँ । त्यो कुरा त हरेक नागरिकले बुझ्नुपर्छ ।

लेखक, कविका प्रकाशित विचारले प्रतिगमनविरुद्धको नागरिक आन्दोलनलाई कत्तिको प्रभाव पार्छ ?
लेखक, कविका विचारले धेरै नै प्रभाव पार्छ । यसले ठूलो सन्देश प्रवाहित गरिरहेको हुन्छ । पहिलेपहिले गाउँमा एउटालाई सन्देश भन्न पठाइन्थ्यो र उसले सिङ्गो गाउँका अगाडि सन्देश सुनाउँथ्यो । हामी लेखकहरूको काम पनि त्यही हो । सारा नागरिकलाई थाहा दिने हो । जागरुक गराउने ।  

यसपटक नागरिक आन्दोलनलाई लिएर साहित्यको प्रयोग भएको छ कि छैन ?
मेरो कुरा गर्नुहुन्छ भने म निरन्तर मेरोतर्फबाट खबरदारी गरिरहेको छु । तर, प्रतिगमनको यो परिस्थितिमा प्रतिगमनविरुद्ध साहित्यको प्रयोग त्यति भइरहेको मैले देखेको छैन । म सधैँ प्रतिगमनको विरुद्धमा लागिरहेको मानिस हुँ । आज पनि हामी (कृष्ण पहाडी र अर्जुन पराजुली) २०६२/६३ को आन्दोलनकोभन्दा चर्को गरी आफ्नो भूमिका निभाउन हिँडिरहेका छौँ । भोलि हामी भैरहवा जाँदैछौँ । 

पहिले पनि हामी यसैगरी ठाउँठाउँ पुगेका थियौँ । अहिले पनि प्रतिगमन विरुद्धका कार्यक्रममा भाग लिन ठाउँठाउँ गइरहेका छौँ । 

जिल्लाको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
जिल्लाको प्रतिक्रिया पहिले जस्तो रहेको थियो, त्यस्तै अहिले पनि छ । हामीले जिल्ला जिल्लामा प्रतिगमनका विरुद्धमा लाग्नुहुनेहरूलाई जम्मा गरेर कार्यक्रम गर्दै आएका छौँ । हामीलाई हरेकले आफ्नोतर्फबाट सहयोग गर्दै आउनुभएको छ । यसरी नै प्रतिगमनका बारेमा आम नागरिकहरूले थाहा पाउँदै जानुहुनेछ र प्रतिगमनको विरुद्धमा उत्रिनुहुनेछ ।  

प्रतिगमनको विरुद्धमा तपाईंका खरा–खरा कविताहरू आइरहेका छन् । जुन पढ्दा एउटा आम मानिसलाई लाग्छ, कविताले उसको भाव बोलिरहेको छ...  
मेरो काम नै त्यही हो । मैले गर्ने नै त्यही हो । मैले नागरिकका भावनालाई नै मेरा कवितामा प्रस्तुत गरिदिने हो । 

आजको समयमा प्रत्येक मान्छेले इमानदार भएर बीचमा बसेर हेर्ने हो भने, कसैको पक्ष नलिएर सोच्ने हो भने सबैले स्पष्ट देख्ने नै प्रतिगमन हो । फरक यति मात्रै हो, म देख्छु र भन्छु पनि । लेख्छु पनि । धेरैले देखे पनि भन्न सक्नु हुन्न !
अहिले त यी प्रतिगामीहरूलाई पनि लागिरहेको छ, यो प्रतिगमन नै हो भन्ने । तर, उनीहरू भन्दैनन् ! प्रतिगमन बेठिक हो भन्ने त विवेकले भन्छ । अहिले जो प्रतिगमनमा र तिनको समर्थनमा लागिरहेका छन्, तिनलाई बाँचुन्जेल प्रतिगमनले लखेटिरहन्छ । दुनियाँ जनताका अगाडि यिनले ठाडो शिर गरेर हेर्न सक्दैनन्, बाहिर जतिसुकै फूर्ति लगाए पनि । 

यतिबेला आम नागरिकलाई झक्झकाउने काममा लागिरहनुभएको छ । तर, भोलि सत्तामा आउने मानिस कस्ता होलान् त ? 
आउने पनि यही समाजबाट नै हो । तर, अब आउनेले अलिकति विचार पुर्‍याउने हो भने यस्तो नहोला । हामी पनि रक्सीमा, थोरै पैसामा बिक्छौँ भने त के लाग्छ र ! सायद, कहीँ कतै हामी पनि कमजोर नै छौँ । यतातिर नागरिकले पनि बुझ्नुपर्छ । कसैलाई गोठालो लगाउन पठाइन्छ भने त्यसले जोगाओस् भन्ने नै त हुन्छ । 

सबैभन्दा ठूलो कुरा चेतनाको कमी नै हो । लोभ, लालचमा लागेर पनि यस्तो हुन गएको हो । देशको विषयमा, आफ्नो भविष्यका विषयमा इमानदार भएर विवेकपूर्ण तरिकाले सोच्ने हो भने त यो सच्चिन सक्छ । तर, यतिबेला हामीले कि त आफ्नो विवेकलाई बन्धकी राखेर प्रतिगमनको पछि लाग्नुपर्‍यो । हैन भने प्रतिगमनको विरोध गर्नुपर्‍यो । 

आजको परिस्थितिमा हामीले साहित्यलाई कसरी प्रयोग गर्ने ?
हामीले साहित्यलाई समाजको हितका लागि प्रयोग गर्ने हो । अन्यायको विरुद्धमा प्रयोग गर्ने हो । सत्ताको विरुद्धमा प्रयोग गर्ने हो । किनभने, सत्ता कहिले पनि जनताको हुँदैन । त्यसैले सधैँ प्रतिपक्ष भएर साहित्यको प्रयोग गरिनुपर्छ । सधैँ सत्ताको प्रतिपक्ष भइरहनुपर्छ । जब कोही सत्तामा पुग्छ, ऊ जनताको विरोधी नै हुन्छ । त्यसबेला जनताका लागि बोलिदिने भनेकै साहित्यले हो । त्यसैले साहित्य मान्छेका लागि लेखिनुपर्छ । र, मैले लेख्ने पनि मान्छेकै लागि नै हो ।
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०९:४६
प्रतिक्रिया दिनुहोस्