site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
१५ सेकेन्डमा दर्शक/स्रोताको ध्यान खिचिसक्नुपर्छ

० ० ०
नेपाली सांगीतिक क्षेत्रमा एक दशकदेखि सक्रिय छिन्, गायिका इन्दिरा जोशी । आफैं गीत पनि लेख्ने जोशी गायन प्रतियोगिता ‘नेपाली तारा’ हुँदै नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । चलचित्र ‘लुट’को ‘उध्रेको चोली...’ बोलको गीतबाट आम स्रोता तथा दर्शकमाझ चिनिएकी उनले ३०० भन्दा धेरै गीत गाइसकेकी छिन् । जसमध्ये दर्जनौं गीत लोकप्रिय छन् । 

पछिल्लो चलचित्र, आधुनिक तथा फास्ट नम्बरलगायत सबै प्रकारका गीत गाउने उनले केहीदिन अगाडि नेपाली समाज विद्यमान जातीय विभेद र त्यसले सिर्जना गरिरहेको दुखान्त अवस्थालाई देखाउने गीत ‘बेग हानी गाको...’ बोलको गीत सार्वजनिक गरेकी छिन् । नेपाल आइडल सिजन-१ देखि सिजन-३ सम्म निर्णायकको भूमिकामा रहेर नयाँ गायन प्रतिभाको खोजी तथा मूल्यांकन गरिरहेकी जोशीसँग बाह्रखरीका नरेश फुयाँलले नेपाली गीतसंगीतको अवस्था, यसमा हुने गरेका टिप्पणी, अहिलेको पुस्ताको चुनौती तथा रियालिटी सोका विषयमा केन्द्रित रहेर गरेको कुराकानी ।

० ० ०

Argakhachi Cement Island Ad

बजारमा आम रुपमा चलिरहेकोभन्दा फरक गीत लिएर आउनुभयो । ट्रेन्डिङ र टिकटकको लोभ लागेन ? 
मेरो यो गीत ट्रेन्डिङ र टिकटकमा लोभ गर्ने खालको छैन, त्यसैले लोभ लागेन ।  

अन्तरजातीय प्रेम कथा समेटेको गीत र भिडियो सार्वजनिक गर्नुभयो । तपाईंले थिम दिएर गीतकारले गीत तयार पार्नुभएको हो कि पहिला नै लेखिएको गीत तपाईंसम्म आइपुगेको हो ?
यसको सुरुदेखि नै गीतकार तथा संगीतकारसँग बसेर काम गरेको हो । मलाई यस्तो प्रकारको गीत गर्न मन छ भनेकी थिएँ । अलिकति लोक झ्याउरे, कविता वाचन प्रकारको गीतमा काम गर्न मन छ भनेको थिएँ । दिमागमा पहिला नै थियो । यस्तो प्रकारको गीत सधैं गर्न सकिँदैन । तर, कलाकार भइसकेपछि इच्छा हुन्छ । आफ्नै निर्णय हो । कम्पोजरसँग बसेर गरेको गीत हो यो । 

तपाईंलाई जुन जानराको गीतले चिनायो, त्योभन्दा भिन्न जानरा र शब्द तथा संगीतका गीत गाउनका लागि त खासै प्रस्ताव पनि आउँदैन होला, होइन ? 
पक्कै पनि हो । जुन गीत धेरै चलेको छ र जुन गीतले चिनाएको छ त्यस्तै प्रकारको गीतको प्रस्ताव बढी आउँछ । तर, स्लो नम्बर पनि गरेको छु । पहिला सुरुमा केही आधुनिक गीत गाएको छु, त्यसपछि खासै धेरै गाएको छैन । फास्ट नम्बरहरुकै कुरा धेरै आउँछ । तर, मलाई सबै प्रकारका गीत गाउन मन लाग्छ । सुरुमा सबै प्रकारका गीत गाइरहेको पनि हो । पछि मेन स्ट्रिममा फास्ट नम्बरहरु बढी आए । म जुन समय नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेँ । त्यो समय रिमिक्स चलिरहेको थियो । फास्ट नम्बरको ट्रेन्ड आइसकेको थियो ।  

व्यावसायिकता पनि हेर्नुपर्ने भएकाले जस्तो अफर आउँछ, त्यस्तै गीत गाउनुपर्ने बाध्यता छ ?
आफ्नो रोजाइको कुरा पनि हो । कोमार्फत आउँछ भन्ने कुराले पनि निर्णय गर्छ । कहिले-काहीं दिग्गजहरुले स्टोरी सोचेर बनाएको फास्ट नम्बरहरु पनि हुन्छन् । त्यसलाई अस्वीकार गर्न सकिँदैन । होइन भने अहिले हामीसँग विकल्पहरु धेरै छन् । 

अक्सर पछिल्लो समय समाज परिवर्तन र चेतनाभन्दा पनि सर्जकहरु बढी व्यावसायिक बन्दै गए, त्यसको परिणाम गीतमा देखियो भन्ने गुनासो बढ्दै गएको छ । त्यसलाई जवाफ हो यो गीत भन्न सकिन्छ ?
व्यावसायिक रुपमा जान जरुरी भएर पनि हो । सुरुका केही वर्ष प्यासनले काम गर्न सकिन्छ र ठीकै पनि हो । तर, जब यही क्षेत्रमा लामो समय काम गर्छु भन्ने सोच्नुहुन्छ । रोजीरोटी नै यहीँबाट जुटाउँछु भन्ने सोच्नुहुन्छ भने व्यावसायिक सफलता पनि अनिवार्य हुन्छ । यो नि:तान्त व्यक्तिगत कुरा हो । यसमा धेरै कमेन्ट गर्न मन लाग्दैन । जुन उद्देश्य लिएर कलाकारले गीत बनाएको हो, त्यो उद्देश्य प्राप्त होस् भन्ने मेरो चाहना हुन्छ । व्यावसायिक गीतहरुलाई पनि मन पराइयोस् । व्यावसायिक सक्सेस हुन पनि जरुरी छ ।

गीत-संगीत भनेको खाली मनबाट मात्रै गर्नुपर्छ भन्ने बुझाइ छ । सामाजिक कार्य मात्रै हो यो भन्ने सोचिन्छ, तर त्यस्तो होइन । अहिले प्रतिस्पर्धात्मक समय छ । यस्तो प्रतिस्पर्धामा आउने व्यक्ति दक्ष हुनैपर्छ । एउटा दुईटा गीत गर्न सकिएला तर त्योभन्दा धेरै सोखका हिसाबले गर्नै सकिँदैन । यदि लामो समय यही क्षेत्रमा काम गर्ने हो भने व्यावसायिक सफलता र लगानीको प्रतिफल पनि उत्तिकै आवश्यक छ । 

यसको अर्थ गीत-संगीत भनेको कला र साधना मात्रै हो भन्ने कुरा अब रहेन ?
साधना त सबै कुरामा हुन्छ । तपाईंले स्कुलका पढेको पनि त साधना हो । सीएको परीक्षाका लागि गरेको तयारी पनि साधना नै हो । जुनसुकै काम गर्नुस् अथवा करिअर छनोट गर्नुस्, त्यसमा साधना जरुरी छ । 

पछिल्लो समय जति पनि गीत आएका छन् । ती सबै गीतमा साधना छ भन्न सकिन्छ ?
मान्छेलाई हेर्दा गीत-संगीत सजिलो छ भन्ने लाग्छ । तपाईंले भन्न खोज्नुभएको अहिलेको लाइट सङ जो टिकटकमा भाइरल छ, त्यस्ता गीतलाई लक्षित गर्नखोज्नु भयो । त्यसमा पनि मिहिनेत गर्ने मान्छेहरु छन् । त्यसका लागि पनि उहाँहरुले मजाले मिहिनेत गरिरहनुभएको हुन्छ । एउटा-दुइटा प्रोजेक्ट मात्रै होस् अथवा दीर्घकालीन रुपमा अगाडि बढ्न खोज्नुभएको होस् त्यसमा पनि मिहिनेत त छ । धेरै मान्छेलाई भेटेको हुन्छ । गीत तयार पार्ने प्रक्रिया लामो छ । त्यसमा खटेको हुन्छ । कसरी कसलाई भेटेर क्याच्ची मेलोडी बनाउँ भनेर मिहिनेत गरेको हुन्छ । 

त्यो साधना र लगानी उचित ठाउँमा छ कि छैन भन्ने कुराले अर्थ राख्दैन करिअरमा ? 
उद्देश्य के हो त्यसमा निर्भर हुन्छ । यो गीत मैले कमर्सियल सक्सेसका लागि गरेको होइन । त्यही भएर आज हामी यो टपिकमा छलफल गरिरहेका छौं । किन भने यो काम हेर्दै थाहा हुन्छ, यो आफ्नो इच्छाले गरेको हो । तर, फास्ट नम्बर गाउने । त्यो फास्ट नम्बर चलेपछि कन्सर्टका लागि अफर आउने हुन्छ । यस्ता विविध पक्षहरु हुन्छन् । पक्कै पनि साधना जरुरी छ । रियाज जरुरी छ । आफूले गाउनेभन्दा पनि अरुले गाउन लगाउँछन् । लाइभ गाउनुपर्छ । डान्ससँग पफर्मेन्स गर्नुपर्छ । यसका लागि साधना पक्कै पनि चाहिन्छ । ‘क्वालिटी अफ म्युजिक’ चाहिन्छ नै । 

भिडियोमा आफैंले अभिनय गर्नुभएको छ । अरुलाई विश्वास नगर्नु भएको हो कि भिडियोको खर्च घटाउने चलाखी हो ?  
मैले पहिलो चरणमा हिरोइनसँग मिटिङ पनि गरिसकेको थिएँ । तर, कोरोनाका कारण यो बीचमा यस विषयमा कुराकानी हुन पाएन । अडियो रेकर्ड भइसकेपछि भिडियोको तयारी भइरहेका बेला लकडाउन भयो । लकडाउन केही खुकुलो भएको समय एकपटक पुनः कुराकानी भएको थियो । तर, फेरि कामको समय पछि धकेलियो । यही मितिमा छायांकन हुन्छ भनेर पनि भन्न सक्ने अवस्था रहेन । यस्तै कारणले जुरेन । 

अलिन श्रेष्ठ जसले यो भिडियो निर्देशन गर्नुभएको छ, उहाँले इन्दिराजी तपाईं आफैंले गाएको गीत हुनाले फिल पनि गर्न सक्नुहुन्छ, त्यसैले आफैं अभिनय गर्नुस् भन्नुभयो । उहाँले इन्करेज गरेपछि मैले प्रयास गरेको हुँ ।  

नेपाली गीत-संगीतले व्यावसायिकताका नाममा आफ्नो धरातल बिर्सिएको टिप्पणी हुँदै आएको छ, यसमा तपाईं सहमत हुनुहुन्छ ? 
कस्तो धरातल हुनुपर्छ ? वास्तवमा धरातल भनेको के हो ? यो कुरा म बुझ्दिनँ । आफ्नो विधामा नयाँ-नयाँ लोकगीत लिएर आइरहनुभएको छ । साउन्ड, अडियो, टेक्स्चर, मिटरहरु विस्तारै परिवर्तन हुँदै जाँदै छ । जति हामी परिस्कृत हुँदै जान्छौं, परिवर्तन हुँदै जान्छौं त्यति नै हाम्रो गीत-संगीत पनि परिस्कृत, परिमार्जित हुँदै जान्छ ।

पहिला-पहिला पनि यो गीत पहिलाको जस्तो छैन भनिन्थ्यो । एउटा जेनेरेसनले अर्को जेनेरेसनलाई कम्प्लेन गरिरहेको हुन्छ । अबको १० वर्षपछि कलाकारलाई सोधिने प्रश्न पनि यही हो । जसरी हामी परिमार्जित हुँदै छौं त्यसरी नै हाम्रो रहनसहन, टेस्टलगायत सबै कुरा परिवर्तन हुन्छ । अहिले नै पुरानो गीतको रेकर्डिङ सुनायो भने वाह ! भन्नुहुन्छ । तर, त्यसैलाई नयाँ साउन्डमा नयाँ तरिकाले प्रस्तुत गर्‍यो भने त्यही नै नयाँ जेनेरेसनका लागि नयाँ गीत बन्छ । त्यसैले म यो कुरामा त्यति धेरै विश्वास गर्दिनँ ।

हो पक्कै पनि हामी अलि साँघुरिएका छौं । १५ सेकेन्ड, ३० सेकेन्डको भिडियोमा हामी गीत सुन्न र भिडियो हेर्न थाल्यौं । यो पनि समयअनुसार हो । पूरै गीत सुन्न चाहनेले पनि भिडियोको मुख्य सोर्समा गएर हेर्न र सुन्न सक्नुहुन्छ । 

समयको उपज हो भन्ने तपाईंको धारणा ?
पक्कै पनि हो । डिजिटलाइजेसनसँगै झन् उच्च प्रतिस्पर्धा छ । तपाईं कल्पना गर्नुस् त, १५ सेकेन्डमा स्रोता तथा दर्शकलाई इम्प्रेस गर्नुपर्ने समय आयो । तपाईंसँग १५ सेकेन्ड मात्रै छ, त्यो समयमा दर्शक र स्रोतालाई टिकाएर गीतको मेन सोर्समा लैजानुपर्ने भएको छ । यसले नै कति टफ छ भन्ने संकेत गर्छ । यसैले त हो मान्छे जे पनि गर्न तयार भएको । समयसँगै आएको परिवर्तन हो यो । हेरौं अब कस्तो समय आउँछ । अति भएपछि मान्छेले अर्को बाटो खोज्छ, हेरौं नेपाली संगीत कसरी अगाडि बढ्छ । 

गीत-संगीत डिजिटलाइज भएसँगै महँगो हुँदै गएको भन्ने गुनासो पनि थुप्रै सुनिँदै आएको छ । अहिलेको परिवेशमा पैसा नहुने तर प्रतिभा हुनेहरु आर्थिक अभावमा खुम्चिएर बस्नुपर्ने बाध्यता छ ?
यो पहिलादेखि नै थियो । कारण यो संसार पूर्ण परफेक्ट कहिल्यै पनि थिएन र छैन पनि । प्रतिभा भएर पनि पैसा नहुँदा बाहिर आउन गाह्रो थियो । अहिले पनि छ । अहिले पनि डिजिटल प्लेटफर्ममा टन्न पैसा खर्च गरेन भने अरुको ध्यानाकर्षण गर्न कठिन छ । बाटो फरक थियो होला तर चुनौती अहिले पनि छ । यो संसार नै यस्तै छ, जहाँ शतप्रतिशत न्याय भन्ने हुँदैन । 

भिडियोबिनाको गीत कल्पना गर्न सकिने अवस्था छ अहिले ?
छ, मजाले छ । कतिजना हुनुहुन्छ रिलिकल भिडियो मन पराउने, भिडियो बनाउनु नपर्ने । त्यस्तो पनि थुप्रै देखेको छु मैले । 

अहिले सिङगिङ रियालिटी सोहरु थुप्रै छन् । यसमा प्रतिस्पर्धीदेखि निर्णायकसम्मको तपाईंले अनुभव गरिसक्नुभएको छ । यस्ता सोहरुले निष्पक्ष रुपमा प्रतिभा उजागर गरिरहेका छन् कि नयाँ प्रतिभा उजागर गर्नेमा व्यापार भइरहेको छ ? 
प्रतिस्पर्धा भनेको सुरुदेखि नै थियो । कतै न कतै गएर प्रतिस्पर्धा गर्नैपर्थ्यो । म प्रतिस्पर्धामा विश्वास गर्छु । किनकि हामीलाई मेरो छोरा, मेरो छोरी र म नै सबैभन्दा पूर्ण हो, जान्ने हो, सक्षम हो भन्ने लाग्छ । तर, जब प्रतिस्पर्धामा गएपछि थाहा हुन्छ, ऊ पनि वेस्ट छ, अर्को पनि वेस्ट छ र तपाईं पनि वेस्ट हुनुहुन्छ । त्यसैले प्रतिस्पर्धामा गएपछि म कहाँ छु भन्ने अनूभुत हुन्छ र संसार फरक छ भन्ने पनि थाहा हुन्छ । संसार आफूले सोचेभन्दा पनि फरक छ भन्ने रियलाइज हुन्छ त्यसैले पनि प्रतिस्पर्धा जरुरी छ । म आफैं पनि रियालिटी सोबाट आएको हुँदा प्रतिस्पर्धामा भाग लिनुहोला, आफ्ना छोराछोरीलाई सहभागी गराउनुहोला भन्छु ।

मेरा लागि सहयोगी नै भयो । अहिले आएका जति पनि रियालिटी सोहरु छन्, चाहे आइडल होस् अथवा भ्वाइस, लोक स्टार होस्, अवसर पाउने ठाउँ नै हुन् । 

व्यापार त हुनैपर्छ । कारण उक्त रियालिटी सोमा सयजना जनशक्ति आबद्ध छ भने घर फर्किएर उनीहरुले पनि हातमुख त जोड्नैपर्छ । यसलाई व्यावसायिकताका रुपमा पनि लिनुपर्छ । हामी बलिउड र हलिउडको मात्रै कुरा गर्छौं । हामी पनि व्यावसायिक हुनैपर्छ । सो कम्प्लिमेन्टले मात्रै चल्दैन । बजार नै बन्नुपर्छ । देशको अर्थतन्त्रलाई नै सहयोग गर्नसक्ने क्षमता हुनुपर्छ । हाम्रोमा एउटा सो चल्यो भने त्यसको कुरा क्रिटिसाइज गर्ने कल्चर छ । किन हामी यति धेरै अशिक्षित बनिरहेका छौं मलाई थाहा छैन । तर, यस्ता सोहरु अझ विकसित र सम्पन्न हुँदै जानुपर्छ । प्रतिस्पर्धीले पनि धेरै पाउन्, सोमा आबद्धहरुले पनि कमाउन सकुन्, आयोजकलाई पनि नाफा होस् भन्ने मेरो चाह हो । 

नेपाल आइडलको आउँदो सिजनमा यहाँलाई तपाईंका दर्शक, शुभेच्छुक तथा शुभचिन्तकहरुले देख्‍न पाउँछन् कि पाउँदैनन् ?
यो मलाई पनि थाहा छैन । कारण हामीलाई केही नोटिस् आएको छैन । कहिले छायांकन हुन्छ, यस विषयमा मलाई केही पनि जानकारी छैन । 
तस्बिर : इन्दिरा जोशीको फेसबुकबाट

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  १५:५१
प्रतिक्रिया दिनुहोस्