site stats
बाह्रखरी :: Baahrakhari
विशेष
 नेपालमा खोपको तयारी : के गर्दै छ सरकार ?

काठमाडौं । कोरोनाविरुद्धको खोप ल्याउने तयारीमा यतिखेर तीन मन्त्रालय एकसाथ जुटेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्राविधिक, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक तथा अर्थ मन्त्रालमार्फत आर्थिक तयारी अगाडि बढाइएको छ ।

खोप सचिवालयको गठन गरी विभिन्न आठवटा समितिमार्फत पूर्वतयारी अगाडि बढाइएको छ । विश्व स्वास्थ्य संगठनमार्फत उपलब्ध गराउने भनिएको कोभ्याक्स खोपका लागि संगठनले प्राविधिक तयारी भइरहेको जनाइरहँदा नेपालले कोभ्याक्स आउनुभन्दा अगाडि नै ३ प्रतिशत जनसंख्‍यालाई पुग्ने गरी खोप ल्याउन विभिन्न माध्यमबाट पहल गरिरहेको छ ।

खोपको आर्थिक तयारी
नेपालमा खोप लगाउने वर्ग (७२ प्रतिशत) जनतालाई पुग्ने खोप ल्याउन ४२ अर्ब रुपैयाँ लाग्ने यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टुंगो लगाइसकेको छ । विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने भनिएको कोभ्याक्सअन्तर्गतको खोप निस्शुल्क पाउने भए पनि त्यसको पूर्वतयारी र आयात प्रक्रियामा दुई अर्ब रुपैयाँ खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ । सरकारले खरिद गर्ने बाँकी खोपका लागि ४० अर्ब रुपैयाँ आवश्यक हुन्छ । यो रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने टुंगो लागिसकेको छ ।

Argakhachi Cement Island Ad

खोप ल्याउन हालसम्म भएका पहल

_ भारत सरकारसँग कूटनीतिक पत्राचार (जीटुजी)

_ भारतको शेरम इन्टिच्युट अफ इन्डियासँग दूतावासमार्फत् छलफल (सरकार(कम्पनी)

_ रुसको राजदूतावाससँग औपचारिक छलफल (जीटुजी)

_ खोपको ट्रायलका लागि एनएचआरसीको पहल ट्रायल (सरकार(कम्पनी)

नेपाल सरकारले खोप ल्याउन चारवटा बाटो अपनाएको छ । पहिलो जीटुजी अर्थत् सरकारमार्फत सम्बन्धित देशको सरकारीस्तरमै पहल भइरहेको छ । विश्व स्वास्थ्य संगठनले प्रदान गर्ने भनिएको कोभ्याक्स कार्यक्रमको खोप सरकारको दोस्रो प्राथमिकतामा छ । त्यस्तै सरकार र कम्पनीमार्फत विभिन्न माध्यमबाट पनि पहल भइरहेको छ भने निजी क्षेत्रलाई समेत खोप आयातका लागि बाटो खुला गरिएको छ । यद्यपि जीटुजी माध्यमबाटै हालसम्म खोप ल्याउने प्रक्रिया सबैभन्दा अगाडि बढेको छ ।

छिमेकी मुलुक भारतलाई त्यहाँ ल्याउने भनिएको खोप सोही मूल्यमा नेपाललाई उपलब्ध गराइदिन आग्रह गर्दै गत १६ डिसेम्बरमा औपचारिक पत्र पठाइएको थियो । त्यसबारे भारतको सरकार सकारात्मक रहेको खोप सचिवालयले जानकारी दिएको छ । त्यस्तै भारतमा पहिलो चरणमै २० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरेको शेरम इन्टिच्युट अफ इन्डियासँग खोप खरिदका लागि सरकारले भारतमा रहेको नेपाली दूतावासमार्फत पहल गरिरहेको छ ।

यो साताभित्रै भारत भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत खोपका विषयमा त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत छलफल गर्ने बताइएको छ । त्यसैगरी रुसस्थित नेपाली दूतावासमार्फत रुसमा बनेको स्पुतानिक भी खोप ल्याउन औपचारिक छलफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

दुई अस्ट्रेलियाली कम्पनीले उत्पादन गरेका खोपको नेपालमा ट्रायलका लागि समेत नेपाल स्वास्थ्य अनुसान्धान परिषद्‌ले प्रक्रिया अगाडि बढाएको छ । अस्ट्रेलियाको क्लोभर बायोफार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको भ्याक्सिन कोभिड १९ खोपलाई नेपालमा ट्रायलका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृति दिइसकेको छ । यद्यपि मन्त्रालयमार्फत मन्त्रिपरिषद्‌बाट अन्तिम निर्णय हुन भने बाँकी नै छ ।

त्यस्तै अस्ट्रेलियाकै उत्पादन कोभ्याक्स १९ खोपलाई पनि नेपाल नेपाल स्वास्थ्य अनुसान्धान परिषद्को पहलमै ट्रायल प्रक्रिया अगाडि बढाइएको छ । यो खोप भने दोस्रो चरणको ट्रायल गरिने प्रक्रियामा छ त्यसैले नेपालमा ट्रायल स्वीकृतिका लागि तयारी पूरा भइनसकेको परिषद्ले जनाएको छ ।

खोपको प्राविधिक तयारी
नेपालमा पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याइने परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाले बताउँदै आएको छ । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने भनिएको ग्लोवल भ्याक्सिन अलायन्स ९गाभी० कार्यक्रमअन्तर्गतको खोप आए पनि पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई पुग्नेगरी खोप आउनेछ ।

सरकार आफैँले खरिद गरेर ल्याएमा पनि ३ प्रतिशत नै ल्याउने शाखा प्रमुख डा। झलक गौतमले जानकारी दिए । दोस्रो चरणमा भने सिकिस्त बिरामी र ज्येष्ठ नागरिकका लागि पुग्नेगरी १७ प्रतिशत खोप ल्याइनेछ । यसरी दुई चरणमा आउने २० प्रतिशत जनसंख्याका लागि पुग्ने खोप भण्डारणका लागि अहिले भएको पूर्वाधार पर्याप्त रहेको डा। गौतम बताउँछन् ।

नेपालले अहिले ल्याउनका पहल गरिरहेका खोपहरू भारतको शेरम कम्पनीले वितरण गर्ने अस्ट्राजेनिका र स्पुतानिक भी, भ्याक्सिन कोभिड १९ खोपहरू रेगुलर टेम्प्रेचर अर्थात् २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । नेपालमा अहिले २ देखि ८ डिग्रीसम्मका भण्डारण कक्ष कोल्डचेन आठवटा छन् । यीबाहेक माइनस २० डिग्रीसम्म राख्नुपर्ने खोप ल्याउनुपरे एउटा मात्रै अल्ट्रा कोल्डचेन छ ।

यसैकारण पनि सरकाले रोगुलर टेम्प्रेचरमा राख्न मिल्ने खोपका लागि पहल गरिरहेको छ । खोप भण्डारण र ओसारपसारका लागि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोगमा नआएको एउटा कोल्डचेन र दुईवटा रेफ्रिजेरेटर भ्यान मर्मतको काम भइरहेको खोप सचिवालय सदस्य डा। भीमसिंह तिंकरीले जानकारी दिए ।

कसरी वितरण गरिन्छ नेपालमा खोप ?
नेपालमा कोरोनाविरुद्धको खोप लगाउने पहिलो प्राथमिकतामा सबै सरकारी र निजी स्वास्थ्य संस्थामा खटिने स्वास्थ्यकर्मी, फिल्डमा खटिएका कर्मचारी र स्वास्थ्य संस्थाका प्रशासनिक कर्मचारी छन् । डा. तिंकरीका अनुसार खोप लगाउने सूचीमा परेका सातवटै प्रदेशका कर्मचारीको विवरण आइसकेको छ भने काठमाडौं उपत्यकामा फोकल पर्सनमार्फत भइरहेको विवरण संकलनको काम बिहीबारसम्म सकिनेछ । कोरोनाविरुद्धको खोप आपत्‌कालीन प्रयोगका लागि भएकाले त्यसका लागि नयाँ निर्देशिका छिट्टै आइपुग्ने समेत डा। तिंकरी बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार पत्रकार सम्मेलन गर्दै खोप आइपुगेको सात दिनभित्र वितरण सुरु गर्ने र त्यसका लागि करिब १६ हजार खोप केन्द्रलाई परिचालन गर्ने योजना रहेको जानकारी गराएका छन् । खोप वितरण र व्यवस्थापनका लागि ५ हजार स्वास्थ्यकर्मी र ५२ हजार स्वयंसेविका परिचालन गर्नेसमेत मन्त्री त्रिपाठीले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०७:१३
प्रतिक्रिया दिनुहोस्