नेपाली कांग्रेस सम्भवतः कांग्रेसकै नेता र कार्यकर्ताले चिन्न नसकेको पार्टी हो । फकिर प्रकृतिका कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले नेतृत्व गर्दा पार्टी सबैभन्दा ठूलो हुने तर राजनीतिक दाउपेचका कुशल खेलाडीहरू गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले नेतृत्व गर्दा दोस्रो हुने गरेको छ नेपाली कांग्रेस । पहिलो जनआन्दोलनपछि २०४८ को संसदीय निर्वाचनमा किसुनजी पार्टी सभापति र प्रधानमन्त्री थिए । कांग्रेसले बहुमत ल्यायो । मध्यावधि निर्वाचन जितेको भए गिरिजाबाबु नै प्रधानमन्त्री हुन्थे । पार्टी दोस्रो भयो । विसं २०५६ को निर्वाचन किसुनजीको नामबाट लड्दा कांग्रेसले पुनः बहुमत ल्यायो ।
दोस्रो जनआन्दोलनको नेतृत्व गरेर राजालाई परास्त गरेका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६४ सालमा संविधान सभाको निर्वाचन भयो । चुनाव जितेको भए गिरिजाबाबुले प्रधानमन्त्री वा राष्ट्रपति चाहेको पद पाउँथे । तर, पार्टी चुनावमा दोस्रो भयो ।
गिरिजाबाबुको उत्तराधिकारी भए पनि सुशील कोइरालाको प्रकृति किसुनजीसँग मिल्दोजुल्दो थियो । दुवै अविवाहित र फकिर स्वभावका थिए । धनको लोभ गरेको आरोप सुशील कोइरालालाई पनि लागेन । सुशील कोइराला पार्टी सभापति भएपछि भएको संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस फेरि पहिलो पार्टी भयो ।
प्रवृत्ति र प्रकृतिका दृष्टिले शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबीच किसुनजी र सुशील कोइरालामा भन्दा पनि धेरै समानता छ । पार्टीमा बलियो पकड भएका र आफ्ना कार्यकर्तालाई हुने नहुने जे पनि गरेर संरक्षण गर्ने भनिएका दुवैलाई नेपाली जनताले भने पत्याएको देखिएन । देउवाको नेतृत्वमा भएको पहिलो चुनाव हो यसपटकको स्थानीय तहको चुनाव । कांग्रेस फेरि दोस्रो भयो ।
अरू पार्टीका नेता जस्ता भए पनि नेपाली जनता नेपाली कांग्रेसका नेतामा किसुनजी वा सुशीलदा जस्तै सिद्धान्तनिष्ठा र फकिर प्रवृत्ति खोज्दारहेछन् । तर, कांग्रेसका महाधिवेशन सदस्यहरूले गिरिजाबाबुजस्तै नेता रोजे । सायद, यही कारणले जनताले पनि कांग्रेसलाई पाठ सिकाए । तर, कांग्रेससँग अहिले किसुनजी वा सुशील कोइरालाजस्ता फकिर प्रकृतिका नेता अस्पतालमा सिकिस्त बिरामी रामहरि जोशीबाहेक सायद अरू छैनन् । जोशीलाई अधिकांशले चिन्दैनन् । ठूलो संख्याले त नामै सुनेका छैनन् होला । कठै ! फकिर खोजे पनि नभेट्टाउने भएछन् कांग्रेसका कार्यकर्ताले अब त ।
कांग्रेसभित्र केही विभीषण, केही शल्य र अलि धेरै शकुनि छन् तर सामान्य कार्यकर्तालाई आफ्नो पार्टी हारोस् वा बदनाम होस् भन्ने चाहना त पक्कै छैन होला नि त ! सुपात्र र ज्ञान नभएपछि के गरून् ?
(पक्कै पनि यही एउटा चुनाव हार्दैमा शेरबहादुर देउवाले पार्टी सभापति वा प्रधानमन्त्रीको पद छाड्नेछैनन् । पार्टी सभापति त प्रदेश र संघको चुनाव हारे पनि छाड्नु पर्दैन । त्यसैले छाड्नेछैनन् । प्रधानमन्त्री पदको भने ठेगान छैन । कांग्रेसबाहिरको अझ देशबाहिरको समेत विभिन्न कारकले निर्धारण गर्ने हुनाले चाहेर छाड्न वा नछाड्न नसकिने रहेछ । नत्र, सुशील कोइराला अन्तिम अवस्थामा प्रधानमन्त्रीको चुनावमा उठ्ने थिएनन् होला !)