
(विद्रोही तथा आलोचनात्मक चेतका कविता लेख्न र पढ्न रुचाउने कवि स्नेह सायमिको कविता लेखनको क्रम ३० को दशकदेखि नै सुरु भएको हो । ४० वर्षअघि नै उपत्यकाव्यापी कविता प्रतिस्पर्धामा विजयी कवि सायमि आज पनि कविता लेखनमा उत्तिकै सक्रिय छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न २०७७ सालको कविता महोत्सवका निर्णायकसमेत रहेका सायमिसँग समकालीन कविता लेखनका विषयमा कुराकानी भएको छ । प्रस्तुत छ, सायमिसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानीको अंश ।)
अहिलेको कविता लेखनको समग्र प्रवृत्तिलाई कसरी हेरिरहनुभएको छ ? के अहिलेका कविता राजनीतितर्फ बढी उन्मुख हुँदै गएको हो ?
हेर्नुस्, राजनीति पनि एउटा दर्शन नै हो । राजनीतिले पनि मानिसको जीवनमा प्रभाव पारेकै हुन्छ । त्यसैले राजनीतिमाथि कविता लेख्न हुँदैन भन्ने होइन । राजनीतिक विषयवस्तुमाथि पनि कविता लेखिनुपर्छ, तर राजनीति लेखे पनि, दर्शन लेखे पनि अथवा अरू कुनै विषयलाई लिएर कविता लेखिए पनि, त्योचाहिँ समाजलाई अग्रगतिमा लैजानका लागि मानक भने हुनुपर्छ । सक्षम हुनुपर्छ । अग्रगमनका लागि सहयोगी हुनुपर्छ ।
साँच्चै भन्नु पर्दा कुनै–कुनै कविता त समाजलाई पछाडि धकेल्ने खालका पनि छन् । त्यस्ता कविता लेखिनु हुन्न । हामीले सोच्ने भनेको समाजलाई कसरी अगाडि बढाउने भन्ने हो । कुनै किसिमले समाज त अगाडि बढ्छ नै । तर समाजको अग्रगमनलाई अगाडि लैजान यसले मद्दत गर्यो कि गरेन भन्ने हेरिनुपर्छ । अनि अर्को कुरो, कविता लेखेर मात्रै कविता हुँदैन । कविता भयो कि भएन भन्नेतर्फ पनि ध्यान दिइनुपर्छ ।
कविता भयो वा भएन भनेर मापन गर्ने आधार के–हो त ?
म एउटा उदाहरण दिन्छु, मेरो एउटा कविताको किताब फ्रेन्च भाषामा अनुवाद हुने कुरो चल्यो । अरू पनि केही भाषामा कविता अनुवाद भइसकेको हो । एकजना मित्रले फ्रेन्चमा अनुवाद गर्छु भन्नुभयो । अनि मैले उहाँको भनाइ स्वीकार गरिनँ । मैले उहाँलाई भनेँ ‘भाषा मात्रै जानेर हुँदैन । तपाईंलाई कविताको ज्ञान छ ? यदि तपाईंंलाई कविताको ज्ञान छैन भने तपाईंले कविताको अनुवाद गर्न सक्नु हुन्न । तपाईंले अनुवाद गरिदिनुहुन्छ । मेरा लागि त राम्रै होला, तर तपार्इंले कस्तो अनुवाद गर्नुहुन्छ, त्यो हाम्रा लागि चासोको विषय हुन्छ । तपाईंले कविता बुझ्नुभयो भने राम्रो अनुवाद गर्नुहोला । नभए कविताको अनुवाद गर्न तपाईंले सक्नुहुन्न’ ।
अर्थात्, कविता लेख्ने कला, कवितालाई कविता बनाउने सीप हरेक कविमा हुनुपर्छ भन्ने मलाई लाग्छ । नभए कविता कविता हुन्न । यदि कविता कविता बन्दैन भने गद्य वा निबन्ध वा अनुभूति लेखे बेस ! तर तिनै भावनालाई काव्यात्मक स्वरूप दिन भने बेग्लै कौशल चाहिन्छ । र त्यस किसिमको कौशल नभईकन एउटा कवि कवि हुन सक्तैन ।
शब्दको भण्डार पोखेर मात्रै कविता लेखिइँदैन । कवि भइँदैन । तर अचेल त्यस्ता कविताहरू धेरै आए भन्ने लाग्छ मलाई । हुन त त्यसो भन्दैमा कविता नलेख्नू भन्ने कुरा होइन । त्यसरी नै कविता लेखेर अगाडि बढ्ने हो । तर आफूलाई परिमार्जित गरेर त लानुपर्यो ।
तर अचेल क्लिष्ट शब्दहरू भरेर कविता लेखिँदै आइएको देखिएको छ । भूपिको कवितामा कहिले पनि क्लिष्टता भेटिएन । त्यस स्वरूपमा कविहरू किन जान नसकेका होलान् ? यस्तो प्रवृत्ति किन बढ्दो छ ?
हामीभन्दा अग्रज केही कविले पनि कविता लेख्दा क्लिष्ट शब्दहरूको प्रयोग बढी गर्नुभयो । त्यसैलाई धेरैले कविता भने । तर मेरो विचारमा क्लिष्ट शब्दहरूको संग्रह कविता हुनसक्दैन । हो, लेखक कविमा शब्द भण्डार धेरै हुनुपर्छ । शब्दहरूको प्रयोग गरिनुपर्छ । तर क्लिष्ट शब्दहरूको प्रयोग मात्रै कविता हुँदैन । हामीले चाह्यौँ भने अत्यन्तै सरल र सहज शब्दहरूबाटै उच्चकोटीको कविता बन्न सक्छ । कविता बनिरहेको छ । म आफैंले कविता लेख्दा पनि क्लिष्ट शब्दहरू प्रयोग गर्दिनँ । प्रयोग भएको छ भने त्यसको सम्पादन गर्दा सरल शब्द खोजेर राख्ने प्रयास गर्छु । ताकि पाठकहरूलाई बुझ्न सहज होस् । कविले पोख्न खोजेको भाव र सम्प्रेषण सहज हुनुपर्छ, कुनै पनि कवितामा ।
कहिलेकाहीँ सरल शब्दका कवितालाई ‘धेरै सरल भयो’ भन्ने टिप्पणी पनि हुने गरेको छ । अर्थात् खोजी क्लिष्टताको पनि गरिन्छ !
मान्छेको आफ्नो–आफ्नो रुचि हुन्छ । तर मचाहिँ सरलताको पक्षधर हुँ । कतिपयलाई क्लिष्ट शब्दहरू राख्दा कविता बन्यो जस्तो लाग्नसक्छ । तर मैले भनेँ नि, क्लिष्ट शब्दहरूको भण्डार मात्रै कविता होइन । हुँदै होइन ।
क्लिष्ट शब्दहरूको प्रयोगले गलत अर्थ पनि दिइरहेको हुनसक्छ ?
गलत अर्थ पनि दिइरहेको हुनसक्छ । क्लिष्ट शब्द र भाव पाठकले बुझ्दैनन् । मानिसलाई कविता बुझ्न गाह्रो हुन्छ । वास्तवमा कविता लेख्नु र क्लिष्ट शब्दहरूको प्रयोग गर्नु दुई भिन्न कुरा हुन् भन्ने मलाई लाग्छ । त्यसैले क्लिष्ट शब्द राख्दैमा कविता हुन्छ भन्ने म मान्दिनँ ।
उसो भए अहिलेको कविताको धार कता गइरहेको छ भन्ने लाग्छ ?
अहिले कविता प्रस्तुतिका लागि सामाजिक सञ्जाल ठूलो माध्यम बनेको छ । सामाजिक सञ्जालभित्रै पनि धेरै समूह छ, हजारौं मानिस त्यसमा आबद्ध छन् । तर त्यसमा राखिएका कविताहरू हेर्दा, अझै निर्ममतापूर्वक भन्नुपर्दा के लाग्छ भने त्यहाँ अधिकांशतः अ–कविता छन् । सुरुको स्थितिमा त्यो नराम्रो नहोला । अ–कविता भयो भन्दैमा लेख्नै छाड्नु पनि ठीक हुन्न । तर एउटा कुरो के हो भने कविता लेख्ने मित्रहरूले साँच्चैको कविता कस्तो हुन्छ ? भनेर पढिदिए बेस हुन्थ्यो । अथवा पढ्नु भएन तर छलफल मात्रै पनि भइदिए पनि राम्रो हुन्थ्यो । तपाईंले लेखेको कविता मैले आहा ! भनिदिएँ भने तपाईं खुसी हुने । र फेसबुकमा हालिएका कविता नहेरीकनै ‘आहा’ भनेर लेखिदिने धेरै देखिएका छन् ।
पहिले–पहिले हामी आफूले लेखेको कविता एक–अर्कालाई सुनाउँथ्यौं । र कवितामाथि जुन टिप्पणी हुन्थ्यो, त्यसलाई स्वीकार गर्थ्यौँ । कसैले यो भएन भनिदिँदा त्यसलाई हटाएर अरू केही राख्न सकिन्छ कि भनेर सोच्थ्यौँ । मिलाउँथ्यौँ । कुनै कविता छाप्दै नछाप भन्ने साथीहरू पनि थिए । छन् पनि । एउटा कविका लागि त्यस्ता साथीहरूको आवश्यकता हुन्छ । तसर्थ दास कमेन्टलाई एउटा राम्रो कविले रुचाउनु हुँदैन भन्ने मलाई लाग्छ ।
मेरो कवितामा कुनै युवा कविले टिप्पणी गर्छ भने उसको टिप्पणीमाथि विचार गरेर आफ्नो कवितालाई सक्दो मिलाउने प्रयास गर्छु म । त्यसैले एउटा कविले त्यसतर्फ त ध्यान दिनैपर्छ । मेरो भनाइ हो, कवितामाथि कडा वा मिलेन भन्ने टिप्पणी आउँदा आफ्नो कवितालाई फेरि मिलाउने जाँगर हुनुपर्छ, कविमा । त्यसले एउटा कविलाई नै सक्षम बनाउँछ ।
तर कतिपय कवि नकारात्मक टिप्पणी त मनै पराउँदैनन् नि !
हो, अहिलेका कविहरूमा सहनशीलता कम छ ।
त्यसले एउटा राम्रो कविलाई त मार्दैन र ?
मार्छ । पक्कै मार्छ । मेरो एउटा तीव्र आलोचक हुनु भनेको मेरा लागि फाइदाको कुरा हो । अहिले त्यसरी लिने चलन हराएको छ । एउटा राम्रो निर्माणका लागि कसैले मेरो तीव्र आलोचना गर्छ भने त त्यो मेरो परम मित्र हो भन्ने ठान्छु म । तर खै, तीव्र आलोचना ग्रहण गर्ने चलन नै हरायो !
धेरै सिक्नुपर्ने छ कविहरूले, हैन ?
हो । हामीले अझै सिक्नुपर्छ भन्ने युवापुस्ताका कविहरू पनि हुनुहुन्छ । राम्रो कविता लेख्ने युवा कविहरू पनि हुनुहुन्छ । कतिले हामीले सुझाएका कुरा सहज रुपमा ग्रहण गर्नुहुन्छ । कति राम्रो लेखेर पनि चुपचाप बस्ने कविहरू पनि हुनुहुन्छ ।
अनि कविहरूमा कविताप्रतिको साधना कस्तो छ ? साधना आवश्यक छ कि छैन ?
कविता लेखनमा साधना निःतान्त जरुरी छ । विनासाधना कविता लेख्न कठिन छ । अहिले त साधनाभन्दा पनि चाँडै कवि बनौँ भन्ने रहर मौलाएको देखिएको छ ! कसैको कवितासंग्रह छापियो, तर त्यसमा रहेका कविता, कविता भयो कि भएन भनेर हेरिँदैन । बस् मेरो किताब छापियो भन्ने रहरमा नै रमाउने देखिन्छन् ।
कुनै पनि कविताका अगाडिको चार–पाँच पङ्ति पढ्नासाथै त्यो कविता भयो कि भएन भन्ने थाहा लाग्छ । लेखन शैलीबाटै थाहा हुन्छ, कविता कस्तो छ वा कविता भयो अथवा भएन । कुनै कविता माथिदेखि तलसम्मै राम्रो हुन्छ । सललल बगेको । कुनै माथि राम्रो हुन्छ तर तल गएर मिलेको हुँदैन । वा मिलाउन सकिएको हुँदैन । फ्यास्सै हुन्छ । त्यस्ता कविता बिग्रिएको हुन्छ । यस्ता कुरा कर्मीले नै मिलाउनुपर्छ । अरूले मिलाएर हुँदैन । यतातिर कविहरूले नै ध्यान दिनुपर्छ । र त्यो कर्म गर्न साधना चाहिन्छ ।
मलाई त के लाग्छ भने अहिले कविता लेखनमा बहस नै कम भइरहेको छ । जबकि कविता कसरी लेख्ने भन्ने विषयमा व्यापक बहस आवश्यक छ । त्यसले कविता र कविलाई बलियो बनाउँछ । नेपालको उत्कृष्ट भनिएका कविहरूको कविता साउथ एसिया रिजनमा कस्तो स्थितिमा रहलान्, विश्व साहित्यको स्पर्धामा हामीले लेखेका कविता कहाँ पुग्लान्, विदेशका कविहरूले हाम्रा कवितालाई कसरी लेलान्, हामीले त्यसरी सोच्ने बेला भइसकेको छ । विश्वमा नेपाली कविताको स्तर कहाँ छ भनेर सोच्ने हो भने हामी अग्रगामी हुनसक्छौँ । त्यसले हामीलाई विश्वस्तरीय काव्य प्रतिस्पर्धामा लैजान्छ । हैन कविता त कवितै हो भनेर मनलाग्दी लेख्दै जाने हो भने त आफूले खनेको खाल्डोमा आफैं परिन्छ ।
हेर्नुस्, संसारमा कविताको स्वाद बुझ्ने धेरै छन् । कविताको विश्लेषण गर्ने ठूला ठूला विद्वान् मानिसहरू छन् । ती विज्ञहरूका बीचमा आफ्नो कविता पढ्न सक्ने, कविताका विषयमा आफ्नो अवधारणा राख्न सक्ने किसिमबाट हामीले आफूलाई निर्माण गर्न सक्नुपर्छ ।
प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवहरूको निर्णय बेलाबखत विवादित हुँदै आएको देखिएकै हो । तर तपाईं यसपटक राष्ट्रिय कविता महोत्सवमा निर्णायक समितिमा बस्नुभयो । कस्तो अनुभव रह्यो ?
यसभन्दा अगाडि के–कस्तो भयो, त्यसबारे मलाई खासै अनुभव छैन । वास्तवमा म प्रज्ञा प्रतिष्ठानबाट करिब–करिब जीवनभरै टाढा रहेँ । मैले कहिले पनि त्यसमा रुचि राखिनँ । ०३४–३५ सालतिरको कुरो हो, म उपत्यकाव्यापी कविता प्रतियोगितामा प्रथम भएको थिएँ । जुरीमा हुनुहुन्थ्यो भूपि शेरचन र श्यामदास वैष्णव । भूपिले मेरो पिठ्युमा धाप मार्नुभयो र तपाईंको कविता राम्रो छ भन्नुभयो । त्यसबेला उहाँ एकेडेमीको काव्य विभाग प्रमुख हुनुहुँदो रहेछ । अनि उहाँले मलाई ‘कविता’ पत्रिकाका लागि कविता दिन भन्नुभयो । र म एकेडेमी छिरेको थिएँ । त्यसउप्रान्त म चार वर्षअघि विष्णुविभुजीहरू एकेडेमीमा हुँदा मात्रै छिरेँ । म कहिले प्रज्ञा प्रतिष्ठान नछिरेको मानिस, मलाई त्यसमा रुचि नै नभएको मानिस, मैले खासै ध्यान दिने कुरो पनि थिएन । तर यसपटक उहाँहरूले मलाई जुरीमा बस्न भन्नुभयो । मैले नाइँ भनिनँ । निर्णयका क्रममा हामीलाई कोड नम्बर राखिएको कविता दिइएको थियो । त्यसरी हामीले नाम नभएका कविताहरूबाट चयन गरेका थियौँ ।
मेरो हकमा भने मेरा लागि कविता कविताजस्तो हुनै पर्छ । त्यसदेखि बाहेक म विद्रोही कविता मनपराउने भएकाले च्वासच्वास्ती घोच्ने कविता मलाई मनपर्ने । अलिकति आलोचनात्मक कविता मनपर्ने भएकाले मैले ग्रेडिङ गर्दा त्यस्ता कवितामा ध्यान दिएँ । अरू निर्णायकको रुचि अरू लेखन प्रवृत्तिमा थियो होला । पछि समग्रमा ३० जनाको कविता चयन भए ।
एउटा कुरो मैले स्पष्टतः भन्नैपर्छ, महोत्सवका लागि आएका पाँच सय चानचुन कवितामध्ये अधिकांश कविता राम्रा थिएनन् । विडम्बना ! मलाई कविता छान्न यति गाह्रो भयो कि ! मलाई राम्रो लागेको १०–१२ वटा कविता थिए, जुन मैले छानेको थिएँ । मैले छानेका मध्ये चार–पाँचवटा कविता ३० भित्र परे कि !
म यथार्थ भन्नै रुचाउँछु । म डराउँदिनँ । मलाई लप्पनछप्पन गर्नु पनि छैन । वास्तवमा कविता छान्नै गाह्रो भएको थियो मलाई । बडो सकसपूर्ण रह्यो त्यो क्षण ! प्रज्ञा प्रतिष्ठानले भने अति गौरव गर्यो, ५ सयमाथिको संख्यामा कविता आयो भनेर । तर स्तरीय कविता आएनन् । स्तरीय कविता लेख्ने कविहरू पनि सहभागी हुनुपथ्र्यो । भएनन् ।
धेरै कुरा थाहा पाइयो यसपटक निर्णायक समितिमा बसेर । र अर्को वर्ष पनि मलाई जुरी राख्ने भए यस्तो गर्छु र यसरी निर्णय गर्नुपर्छ भन्ने मनमा रहेको छ । तर अर्को वर्ष जुरीमा राख्दैनन् (यति भन्दै गर्दा कवि सायमि मज्जाले हाँसे) ।
धेरैपछि एकेडेमीसँग अलिकति मात्रै भए पनि जोडिँदा के अनुभव गर्नुभयो ?
मलाई एउटा अनुभव के भयो भने, म आफैं लामो समयदेखि प्रज्ञा प्रतिष्ठानबाट टाढिएको थिएँ । तर त्यसोे गर्नु हुँदैनथ्यो भन्ने भयो । किनभने त्यो त हामीले तिरेको करबाट चलेको संस्था हो । त्यसमा हामीले हस्तक्षेप नै गर्नुपर्ने रहेछ भन्ने लाग्यो । राज्यले निर्माण गरेको कवि, लेखक, साहित्यकारहरूको ठाउँमा लेखक कविहरूले हस्तक्षेप गरेको, सहभागी भएकै राम्रो । टाढियो भने त नजिक हुनेहरू नै पो हाबी हुने भए !