site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद विघटनपछि जसपाको पहिलो बैठक सुरू, संघर्षका कार्यक्रम तय हुने 

काठमाडौं । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक शुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि पहिलो पटक जसपाको औपचारिक बैठक बसेको हो । 

जसपाले संसद विघटन गर्ने कदमलाई असंवैधानिक भन्दै सरकारविरुद्ध संघर्ष गर्ने बताएको छ ।  

Argakhachi Cement Island Ad

उपत्यका बाहिर रहेका अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो बैठकका लागि काठमाडौं आइपुगेका छन् । तुलसीलाल अमात्य प्रतिष्ठानको हल च्यासलमा जारी केन्द्रीय कार्र्यकारिणी समितिको बैठकले संसद विघटनको विषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने जसपा नेता केशव झाले जानकारी दिए । 

सोमबार अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै पुस ८ गते देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । संघर्षका थप कार्यक्रम बारे पनि बैठकले तय गर्ने उनले बताए । 

जसपाका अर्का नेता डा.सुरेन्द्र झाले संसद विघटनको कदम असवैधानिक भएकाले सर्वोच्च अदालतले खारेज गर्ने विश्वास रहेको बताए । 

“संविधानमा नभएको अधिकार प्रयोग गरे प्रधानमन्त्रीले संसद विघटन सिफारिस गर्नुभयो । राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्दिनुभयो । संसद विघटन संविधानमाथिकै प्रहार पनि हो र कू पनि हो,” झाले भने, “ त्यसैले यसको कसरी प्रतिरोध गर्ने भन्ने सन्दर्भमा  विरोधका कार्यक्रम सिलसिलेवार रुपमा अघि बढाउने भन्ने विषयमा बैठकमा छलफल हुन्छ ।”

संसद विघटनको विषय सर्वोच्च अदालतमा पुगिसकेकाले संविधानको व्याख्याअनुसार सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गर्छ भन्ने जसपाको अपेक्षा रहेको उनले बताए । 

“संसद विघटन भयो भने पनि अस्थिरता हुन्छ । प्रतिनिधिसभा पुनस्र्थापित भयो भने पनि अस्थिरता हुन्छ । मधेस आन्दोलन,थरुहट आन्दोलन र आदिवासी जनजातीको आन्दोलनको जगमा बनेको पार्टीको हैसियतले संघीयता, समानुपातिक समावेशितालाई कसरी जोगाउने ? त्यसमा पार्टीको भूमिका के हुनसक्छ ? र, समान विचारधारा भएको पार्टीहरुसँग कसरी सहकार्यै हुनसक्छ ?”, उनले बैठकका एजेण्डाबारे जानकारी दिँदै भने, “यी सबै विषयलाई केन्द्रविन्दुमा राखेर राय संकलन गर्ने र पार्टीलाई केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मै सक्रिय बनाउने भन्ने विषयमा छलफल हुन्छ ।”

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १३:२६
प्रतिक्रिया दिनुहोस्