
काठमाडौँ । “डा’साब, हजुरको खाना चिसो भइसक्यो ।” बन्द ढोकाबाट थोरै चिहाउँदै कोभिड युनिटकी एक महिला स्टाफ बोलिन् । घडीको सुईले दिउँसोको ठिक साढे तीन बजेको देखाइरहेको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पुरानो आईसीयू वार्ड । अस्पतालका कोभिड युनिट संयोजक डा. अनुप बास्तोला निकै थकित मुद्रामा देखिन्छन् ।
यति ढिलो खाना खानुहुन्छ ? हाम्रो जिज्ञासामा उनी बोले, “हाम्रो खाना खाने कहाँ टुंगो हुन्छ र कहिले १ बजे, कहिले ३ बजे । आज त झनै भ्याइ–नभ्याइ छ ।”
अस्पतालमा भर्ना भएका बिरामीको अवस्थाबारे परिवारका सदस्यलाई फोनबाटै जानकारी दिँदा रहेछन्, उनी । ५/५ मिनेटको अन्तरालमा मोबाइलको घन्टी बजिरहँदा डा. अनुप कत्ति पनि नझर्किइ रेस्पोन्स गरिरहेका थिए । बिरामीका कोही आफन्त फोनमै रुन खोज्छन् । उनी ढाडसका शब्दहरु बोलिदिन्छन् ।
फोन राखे । मन अमिलो छ । सुइय्य सुस्केरा हाले, “के गर्ने आँखैअगाडि दिनहुँ यसरी आमाबुवाहरु गुमाइरहनुपरेको छ ।”
अस्पताल पुगेपछि उपचार गर्नु डाक्टरको दायित्व हो । तर, बिरामीको जीवन–मरण डाक्टरको हातमा हुँदैन । आमबुझाइ यही हो । विश्वव्यापी सत्य पनि । तर, लामो समय उपचार गर्दा बिरामीसँग भएको सामीप्यता र तीनलाई गुमाउनु पर्दाको पीडा यसरी खाइ–नखाई उपचार गर्ने डाक्टरबाहेक सायद अरुले अनुभव गर्नै सक्दैन ! डा. अनुपको उदास अनुहारले यही कुरा बोलिरहेको थियो ।
एकछिनको मौनता । उनी मोबाइलको ग्यालरीतिर क्लिक गर्न थाले । “उहाँ बुवालाई अस्तिको दिनसम्म मेरै हातले खाना खुवाएको थिएँ । अलि–अलि खान थालेको देखेर बाँच्ने आशा पलाएको थियो । तर, साँझ फोक्सोको भिडियो एक्सरे गरेर हेर्दा मेरो आशा पनि गुम्यो र उहाँपनि... ।”
पेसा जे भएपनि मन त मनै हो । आखिर आँखैअगाडि कसैको मृत्युलाई कहाँ सहजै स्वीकार्दो रहेछ र ? आँसुले टिलपिलाएका अनुपका आँखा उनले लगाउने चारकुने चस्माको बाहिरबाट प्रष्टै देखिन्थे । केही सम्हालिँदै उनले फेरि मोबाइलको स्क्रिनतिर आफूलाई केन्द्रित गर्न खोजे ।
उनले त्यस्ता धेरै बिरामीलाई उपचार गर्दाको भिडियो देखाए, जसलाई थरको आधारमा साइनो लगाउने गरेका छन् । परियार बुवा, अधिकारी आमा यस्तै यस्तै । तर, विडम्बना, उनले यसरी स्याहारेको धेरैको ज्यान कोरोनाले लगिसेकेको छ । मनको साइनो गाँसेका ती आमाबुवा अनुपको मनको ग्यालरीमा मात्रै सीमित भइसकेका छन् ।
नेपालमा कोरोना संक्रमणको सुरुआतदेखि नै उनले संक्रमितसँग नजिक भएर काम गरे । सेवालाई नै धर्म मानेर योबीचमा बिदा बसेनन् । ४८ जनाको युनिट सम्हालेर काम गरिरहँदा उनले सहकर्मीलाई आलोपालो बिदा दिने गरेका छन् । तर, आफूलाई घर बस्न मनले मान्दैन ।
पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेमा अधिकांश बिरामीको उमेर हेरेर उनी बेला–बेला झस्कन्छन् । घरमा ६७ वर्षका बुवा हुनुहुन्छ, ६० पुग्न लागेकी आमा । “थ्याङ्क गड, अहिलेसम्म म र मेरो परिवारमा संक्रमण देखिएको छैन । सधैं यस्तै भए हुन्थ्यो भन्ने कामना हो,” उनी उज्यालो देखिए ।
पाँच महिनाअघि नेपालमा संक्रमणको दर बढ्न थालेपछि डा. अनुपलगायत विशेषज्ञको मन्त्रालयसँग छलफल भएको थियो । उनी सम्झन्छन्, “यो अवस्था आउनसक्छ भन्ने आँकलन गरेर हामीले त्यही बेला मन्त्रालयलाई सुझाएका थियौँ । तर, नियन्त्रणका उपाय प्रभावकरी भएनन् । आमाबुवा जोगाउन हामीले बलियो प्रयास गरेनौँ । न परिवारका सदस्यले नै अनुशासित भएर मापदण्ड पालना गरे ।”
उनले प्रश्न तेर्स्याए, “असी कटिसकेका बुवाआमा कोरोनालाई खोज्दै घरबाहिर निस्किए होलान् त ? पक्कै परिवारका सदस्यबाटै सर्यो नि, होइन ? युवाहरुले पुनर्जीवन पाए बुढाबुढीले मृत्यु ।”
एकपटक फेरि सुस्केरा हाल्दै बिरामीको डेली रिभ्यु फाइल पल्टाए । उनी मधुरो सुनिए, “यही अवस्था हो भने हामीले अझै धेरै बुवाआमा गुमाउन बाँकी नै छ ।”