site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजावादीको निसाना : राष्ट्रपति, संघीयता र संविधान

काठमाडौं ।  राजतन्त्र पुनर्स्थापनाको माग गर्दै काठमाडौंमै सोमबार बृहत प्रदर्शन भएको छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै उनीहरुले जुलुस निकालेका हुन् । उनीहरुले लगाएको नारा र बोकेको प्लेकार्डमा मुख्यगरी ‘गणतन्त्र र संघीयता’ खारेजीको माग गरिएको थियो ।  ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए । 

जुलुसमा सहभागी केहीले केपी ओलीविरुद्ध पनि नारा लगाएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो ।  जुलुसमा सहभागी केहीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहको तस्विबर अंकित टिसर्ट पनि लगाएका थिए ।
काठमाडौं, भक्तपुर र ललितपुरबाट जुलुसमा सहभागी हुन राजसंस्था समर्थकहरु आइपुगेका थिए । 

कार्यक्रम आयोजकले सामाजिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न पटकपटक सचेत गराए पनि उनीहरुले त्यसलाई बेवास्ता गरेका थिए । 

Argakhachi Cement Island Ad

कसले निकाल्यो जुलुस ? 

राजसंस्था पुनर्स्थापनाको माग गर्दै देशका मुख्य–मुख्य सहरहरुमा प्रदर्शन भइरहेको छ ।  सोही क्रममा काठमाडौंमा पनि उनीहरुले जुलुस निकालेका हुन् ।  राष्ट्रिय शक्ति नेपालले सोमबार काठमाडौंमा राजसंस्थाको पक्षमा जुलुस निकालेको हो । राष्ट्रिय शक्ति नेपालको अध्यक्ष पूर्वपञ्चका रुपमा चिनिने पूर्वमन्त्री केशरबहादुर बिष्ट छन् । 
उनी राजा ज्ञानेन्द्र शाहसँग निकट सम्बन्ध भएका व्यक्ति हुन् । 

बिष्ट नेतृत्वको राष्ट्रिय शक्तिले संयोजन गरेको जुलुसमा अहिले देशभर भइरहेको राजावादीहरुको प्रदर्शनमा सक्रिय राष्ट्रिय सरोकार मञ्च र गुरु गोरखनाथका भक्तहरुको समाज पनि सहभागी थियो ।  बिष्टले नै आफुहरुको जुलुसमा उनीहरुको समेत सहभागिता रहेको जानकारी गराएका थिए । 
जुलुसमा सुहभागी हुनेहरु अधिकांस राष्ट्रिय प्रजातन्त्र पार्टी निकटहरु छन् । 

त्यस्तै, नेपाली सेनाका पूर्वसहायक रथी नेतृत्वका पूर्वसेना, प्रहरीको समूह पनि जुलुसमा सहभागी थिए । जुलुसमा बिष्टसहित तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासनसत्ता हातमा लिएपछि मन्त्री बनाएका श्रीषशमशेर राणा, दीपक ज्ञवाली र कांग्रेस विपिन कोइराला पनि सहभागी थिए ।  बिष्टले छोटो तयारीमा सोमबार जुलुस निकालेको बताउँदै आउँदो २० गते अझ बृहत प्रदर्शन हुने जानकारी दिए ।  

निसानामा परिवर्तनका मुद्दा

राजसंस्थाका समर्थकहरुको निसानामा ०७२ असोज ३ गते जारी संविधान रहेको पाइएको छ । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने सबैजसो वक्ताले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रपतिको खुलेर विरोध गरे ।  राष्ट्रिय शक्तिका अध्यक्ष बिष्टले राजाले जस्तो राष्ट्रपतिले नेपालजस्तो धेरै संस्कृति र मूल्यमान्यता भएको देशलाई फूलको मालामा उनेजस्तो गाँस्न नसक्ने भन्दै राजसंस्था पुनस्र्थापना अनिवार्य रहेको बताए । 

उनले राष्ट्रपतिको भूमिकाको तटस्थता र राष्ट्रिय एकताको प्रतीकका रुपमा हुनैनसक्ने भन्दै विरोध गरे ।   अर्का वक्ता कोइरालाले आफूहरुको मूल एजेन्डा ०७२ को संविधान खारेज गरी ०४७ सालको संविधान ब्यूँताउनु भएको बताए । उनले पनि नेपालमा यसअघिका राष्ट्रपति डा. रामवरण यादवमा पनि दलीय रुझान देखिएको बताए । 
उनले विद्यादेवी भण्डारी त पूरै प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेको भन्दै दलको पनि हुन नसकेको टिप्पणी गरे । 

संविधानको दायराभित्रको राजा नेपालमा चाहिएको उनको धारणा थियो ।   राजाका शासनकालका मन्त्रीसमेत रहेका ज्ञवालीले पनि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आयातीत एजेण्डा रहेको भन्दै  खारेज गर्नुपर्ने बताए ।  ०४७ सालको संविधान फर्काएर राजालाई रेफ्रीको भूमिकामा ल्याउनुपर्ने उनको भनाइ थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्