site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा विवादको तरङ्ग जसपामा, प्रधानमन्त्रीसँग नियमित सम्पर्कमा रहेका नेता पार्टी फुटाउने तयारीमा छन् !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादको तरङ्ग प्रतिपक्षी दल जनता समाजवादी पार्टीमा पनि देखिएको छ ।  नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको विवाद फुटसम्म पुग्ने चर्चा चलिरहँदा जसपाको एकीकरण प्रक्रिया नै प्रभावित हुन पुगेको छ । 

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादीबीच एकीकरण भएर गठन भएको जनता समाजवादी पार्टीको केन्द्रीय र संघीय परिषद् गठन भइसकेको छ ।  तर स्थानीय, प्रदेश र जिल्ला तहको समायोजनको प्रक्रिया बाँकी नै छ ।  मंसिर मसान्तभित्र समायोजन सक्ने भन्दै तल्लो तहमा केन्द्रले परिपत्र नै पठाएको थियो । तल्लो तहका पार्टी समिति र भ्रातृसंस्था समायोजन कसरी गर्ने परिपत्रमा प्रष्ट व्यवस्था गरिए पनि सोअनुसार समायोजन अघि बढ्न सकेको छैन । 

शीर्ष नेताहरु कोरोनाभाइरसबाट संक्रमित हुँदा समायोजन प्रक्रिया सुस्त देखिएको जसपाका नेता गंगानारायण श्रेष्ठ बताउँछन् । “हामीले यही मंसिर मसान्तभित्रमा सबै समायोजनका काम सम्पन्न गर्ने भनेका थियौं । समायोजनको जिम्मा लिएका अधिकांश नेताहरुलाई कोरोना भएका कारणले अलिकति गति ढिला भयो । तर, काम भइरहेको छ,” उनले भने ।

Argakhachi Cement Island Ad

उनले कोरोनाका कारण प्रभावित बनेको समायोजन प्रक्रियाले अब गति लिने पनि बताए । 

पार्टी फुटाउने तयारी ! 

भर्खरै एकीकरण भएर बनेको जसपाभित्र पनि भित्रभित्रै पार्टी विभाजनको गृहकार्य सुरू भएको छ ।  जसपा उच्च स्रोतकाअनुसार त्यसका लागि जसपाका केही सांसदहरु प्रधानमन्त्री केपी ओलीको नियमित सम्पर्कमा छन् ।  नेकपा विभाजन भएमा जसपा पनि फुट्ने निष्कर्षमा जसपाकै नेताहरु पुग्न थालेका छन् । नेकपा विभाजनको अवस्थामा जसपाका सांसदहरु पनि अलग पार्टी बनाएर सरकारमा जानेसम्मको तयारीमा लागेको ती नेताको दाबी छ ।

उनले बाह्रखरीसँगको कुराकानीमा जसपाका केही नेता प्रधानमन्त्रीसँग नियमित सम्पर्कमा रहेको बताउँछन् । उनले पार्टीका १० सांसद पार्टी फुटाउने विषयमा प्रधानमन्त्रीसँग छलफलमा रहेको ती नेताको दाबी छ । जसपाकै नेता गंगानारायण श्रेष्ठले भने पार्टी विभाजका लागि कसैले तयारी गरिरहेको विषयमा औपचारिक जानकारी नभएको बताए । 

“अहिले त्यस्तो औपचारिक जानकारी त छैन । अरे अरेका कुरा सुन्नमा आइराखेको हो,” श्रेष्ठले बाह्रखरीसँगको कुराकानीमा भने । 

यसअघि पनि नेकपाभित्र विवाद उत्कर्षमा पुग्दा जसपा विभाजन गराउन खोजेको आरोप प्रधानमन्त्री ओलीमाथि लागेको थियो । त्यसका लागि ओली निकट सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीका सांसद डा.सुरेन्द्र यादवलाई घरबाटै ‘अपहरण’ गरेर काठमाडौं ल्याएका थिए ।
त्यसविरुद्ध जसपाले उजुरी नै गरेको थियो । 

हाल राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था छ ।  यसअघि  प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि सो व्यवस्थामा संशोधन गर्दै अध्यादेश ल्याउने तयारी गरेका थिए ।  पुनः नेकपाभित्र विवाद बढ्दै गएमा सो अध्यादेश ल्याउने सम्भावना बाँकी नै रहेको आशंका गरिँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्