
चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवार छन् । भोलि शनिबार काठमाडौंका तीन स्थानमा नयाँ नेतृत्व चयनका लागि महासंघका प्रतिनिधिले मतदान गर्दैछन् । निर्वाचनको पूर्वसन्ध्यामा बाह्रखरीसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्षका उमेदवार ढकालले यसपटकको निर्वाचनमा आफूहरुले भारी मतान्तरले विजयी हुने अवसर पाएको बताए ।
प्रस्तुत छ, नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रित रहेर बाह्रखरीका लागि हिमाल पौडेलसँग वरिष्ठ उपाध्यक्षका उमेदवार ढकालले गरेको कुराकानीः
संघको निर्वाचनका लागि तपाईं जिल्ला पुगेर उद्योगी व्यवसायीलाई भेट्नुभयो । जिल्लामा जाँदा तपाईप्रति महासंघ प्रतिनिधिको प्रतिक्रिया कस्तो पाउनुभयो ?
निश्चय पनि हाम्रो पक्षमा निकै राम्रो माहोल रहेको पाएका छौं । कोभिडको त्रासबीच पनि हाम्रो टिम पछिल्लो पटक सुदूरपश्चिमको धनगढीदेखि पूर्वको धनकुटा (भेडेटार)सम्म पुगेर त्यसक्षेत्रका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारी भेट्यौं । स्थानीय व्यवसायीसँग पनि छलफल गर्यौं । यसरी अभियान अगाडि बढाइरहँदा म एकदमै उत्साहित छु । जिल्लानगरका साथीहरुले दशकभन्दा लामो समयपछि हामीले खोजेजस्तै उमेदवार पायौं भनिरहनुभएको छ । जिल्लानगरको मात्र करिब ८० प्रतिशत मत हामीले पाउने आकलन गरिसकेका छौं ।
प्रदेश एक र द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा हाम्रै उमेदवार निर्विरोध भइसक्नुभएको छ । यसैगरी वस्तुगत र एशोसिएटबाट पनि हामीलाई उस्तै राम्रो रेस्पोन्स छ । वस्तुगतका अधिकांश साथीहरु हाम्रै टिमबाट उमेदवार बन्न खोज्नु भए पनि कतिपय साथीहरुलाई टिममा राख्नसमेत सकेनौं र पनि उहाँहरुले उमेदवारी नदिएरै हामीलाई साथ दिइरहनुभएको छ ।
अर्को टिममा रहेका साथीहरु पनि प्राविधिकरुपमा मात्र अर्को समूहबाट उमेदवारी दिए पनि मन तपाइँहरुसँगै छ भनिरहनुभएको छ । एशोसिएटमा त मैले महासंघ आएदेखि नै सहभागी हुँदै आएको क्षेत्र रहेकाले यसमा पनि हाम्रो टिम एकदमै बलियो छ । यसरी महासंघको इतिहासमा भारी मतान्तरले विजयी हुने अवसर यसपटक हामीलाई मिल्ने अवस्था देखिएको छ ।
जिल्लामा जाँदा जिल्लाका उद्योगी व्यवसायीले दुबै पक्षलाई स्वागत गरेका छन् । स्वागत गरेकै र सभामा पुगेकै आधारमा भोट दिन्छन् भन्ने हुन्छ र ?
जिल्लानगरका साथीहरुको त्यो हार्दिकता हो । मेरो प्रतिस्पर्धी पनि महासंघको हाल उपाध्यक्ष नै हुनुहुन्छ भने उहाँलाई स्वागत नगर्ने भन्ने हुँदैन । त्यसमाथि महासंघजस्तो निजी क्षेत्रलाई सबल र सक्षम बनाउन स्वयमसेवी भावनाले खट्ने संस्थाको नेतृत्वमा पुग्ने सन्दर्भमा दुवै उमेदवारका कुरा सुनेर निर्णय गर्न जिल्लानगरका साथीहरु स्वतन्त्र हुनुहुन्छ ।
उहाँहरुले हेर्ने भनेको इस्यु र एजेन्डा तथा प्रतिवद्धताका आधारमा को सक्षम छ भन्ने नै हो । यसमा हाम्रो समूह निकै माथि छ भन्ने जिल्लानगरका साथीहरुको सार्वजनिक अभिव्यक्तिबाटै प्रष्ट भइसकेको र हाम्रो समूहलाई जिताउन स्वःस्फूर्त गठन भएका समूहबाट पनि कसलाई भोट दिनुहुन्छ भन्ने प्रष्ट भइसकेन र ?
विगतमा जस्तो यसपटक पनि महासंघमा दुईवटा प्यानल बनेको छ । तपाईंको जीतको आधार के हो ?
मेरो र हाम्रो समूहको चुनाव जित्ने मुख्य आधार भनेकै आम व्यवसायी साथीहरुको विश्वास हो । देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु तथा एशोसिएट र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट प्राप्त सहयोग र समर्थन तथा मप्रति गर्नुभएको उहाँहरुको भरोसाका आधारमा म निर्वाचनमा सफल हुनेछु भन्ने देखाएको छ ।
हाम्रो टीम अनुभवी, उत्साही र कर्मशील व्यवसायीहरुको सन्तुलित प्याकेज हो । जिल्लानगर, वस्तुगत तथा एशोसिएट तीनवटै क्षेत्रमा सक्षम तथा अनुभवी उमेदवारहरु हुनुहुन्छ । महासंघमा हामीले गएर एक्लै गर्ने होइन र यसका लागि टिम चाहिन्छ । त्यो टिम सन्तुलित र समावेशी पनि हुनुपर्छ । निजी क्षेत्रमा समावेशी भनेको व्यवसायको विधागत तथा भौगोलिक रुपमा क्षेत्रगत पनि हो । तपाईंले हाम्रो टिमको धरातल हेर्नुभयो भने यसमा प्रष्ट तस्बिर देख्न सकिन्छ । हाम्रो टिमका तीनजना नै उपाध्यक्ष र सदस्यहरुको जितको स्पष्ट आधार देखिएको छ ।
महासंघमा गइसकेपछि हाम्रो कुरा नै सुनिएन भन्ने गुनासो उद्योगी व्यवसायीको रहँदै आएको छ । यसपटक पनि त्यस्तो गुनासो धेरै सुनिएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको कुरा केन्द्रले किन सुन्दैन ? यो आरोप मात्रै हो कि वास्ताविकता नै हो ?
महासंघको नेतृत्वले सबै व्यवसायीका कुरा सुन्नुपर्छ । मैले पनि विगतदेखि नै धेरै व्यवसायी साथीहरुको यो गुनासो सुन्दै आएको छु । म एशोसिएटबाट उपाध्यक्ष भए पनि सबैजसो जिल्लानगरका साथीहरुसँग पहिलेदेखि नै प्रत्यक्ष सम्पर्कमा थिएँ । त्यो बेला पनि उहाँहरुले यस्तै गुनासो गर्नुहुन्थ्यो । म जब चुनावी अभियान लिएर विभिन्न जिल्लामा गएँ, त्यतिबेला उहाँहरुले भन्नुभएकै त्यही हो कि बल्ल हामीले हाम्रा कुरा सुन्ने, हाम्रो समस्यामा साथ दिने नेतृत्व पाउने अवस्था बन्न लाग्यो । यसैले जिल्लानगरको मात्र नभइ साना मझौला तथा हरेक क्षेत्रका व्यवसायीको कुरा महासंघले सुन्नुपर्छ र त्यो सुन्ने वातावरण म बनाउनेछु ।
तपाईंले मैले सबै उद्योगी व्यवसायीको समस्या, गुनासो सुन्छु भन्नुभएको छ । निर्वाचित भएर गएपछि तपाईंले उहाँहरुको कुरा सुन्नुहुन्छ भनेर कसरी आश्वस्त पार्नुहुन्छ ?
मैले अघि पनि भनेँ म विगतदेखि नै एशोसिएटबाट प्रतिनिधित्व गरे पनि यो बीचमा देशका सबैजसो जिल्ला घुमेँ । म व्यवसायकै क्रममा पनि सबैजसो जिल्लामा गएको छु र मलाई त्यहाँको वास्तविकताबारे पनि थाहा छ । म सबैसँग सरल र समान रुपमा प्रस्तुत हुने स्वभावका कारणले पनि साथीहरुले मलाई रुचाउनुभएको छ ।
पदमा हुँदा एउटा व्यवहार र नहुँदा अर्को व्यवहार गर्ने प्रवृत्ति म भित्र छैन । यसैले मेरो विगतदेखिको लगाव र इच्छाशक्ति बुझ्ने साथीहरुले जिल्ला नगरका व्यवसायीको समस्या बुझ्ने सहज आकलन गर्न सक्नुहुन्छ ।
मैले एफएनसीसीआई भिजन–२०२५ मा पनि भनेको छु कि महासंघ आजको गौरवमा देशैभरिका जिल्ला र नगर उद्योग वाणिज्य संघहरूको अत्यन्तै महत्वपूर्ण भूमिका छ । तर, त्यो भूमिका अनुरुप यी च्याम्बरहरुको कदर र सबलीकरण हुन नसकेको महसुस उद्योगी–व्यवसायी साथीहरूमा भएको छ । त्यसैले, महासंघका प्रादेशिक, जिल्ला र स्थानीय च्याम्बरहरुलाई निर्णय स्वायत्तता दिनु आवश्यक छ ।
ती चेम्बरको क्षेत्राधिकारभित्र उद्यम–व्यवसायलाई प्रवद्र्धन गर्न सम्बन्धित तहका सरकारहरुसँग सार्थक सहकार्य गर्न सम्बन्धित च्याम्बरहरुलाई सक्षम बनाउनुपर्छ । यस कार्यका लागि महासंघको विधानमा नै जिल्ला, नगर र प्रदेश महासंघहरूको भूमिकालाई प्रष्ट व्याख्या गरेर सबलीकरण गर्ने मेरो प्रयास हुनेछ ।
साथमा, जिल्ला र व्यवसाय तहका सदस्यहरूको केन्द्रीय नेतृत्वसँगको पहुँचलाई सहज बनाउँदै उनीहरूका निरन्तर आइपर्ने समस्यालाई तत्क्षण सुन्ने र समाधान गर्ने संयन्त्रको विकास महासंघको केन्द्रीय कार्यालयमा गरिने छ ।
तपाईं सफल एवम् ठूलो उद्योगी व्यवसायी । तपाईंले साना उद्योगी व्यवसायीलाई कसरी मिलाएर लैजानुहुन्छ ?
म आफू पनि सानो व्यवसायबाटै सुरु गरेकाले होला मलाई साना मझौला उद्योगप्रति अत्यन्तै लगाव छ । नेपालको मौलिक व्यवसायप्रति त झन् बढी रुची छ र तिनको मौलिकता नहराउने गरी आधुनिकीकरण गर्नुपर्छ भन्ने मान्यताको पक्षपाती हुँ म । यसैले आज देशैभरका साना मझौला उद्योगी व्यवसायीसँग गएर तपाइँले मेरो बारेमा सोध्न सक्नुहुन्छ ।
साना मझौला उद्योग देशको अर्थतन्त्रको मेरुदण्डमात्र नभइ दिगो आर्थिक विकासको आधार हो भन्नेमा सन्देह छैन । अहिले कोरोना कहरमा पनि साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्रका चार लाख उद्योग व्यवसायहरु बन्द भएको तथ्यांक सार्वजनिक भइसकेको छ ।
सानादेखि मझौला एवम् ठूला सबै प्रकृतिका उद्योग व्यवसायमा असर पारेको छ ।
तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रमबिना पुनर्जिवित हुनै नसक्ने जोखिम देखिएको छ । यसर्थ, महासंघ र यसको नेतृत्वको पहिलो जिम्मेवारी बन्द भएका यी उद्योग व्यवसायहरू पुनः सञ्चालन गराउनमा केन्द्रित हुने म प्रतिवद्धता जनाउन चाहन्छु ।
महासंघलाई एक बनाउन आवश्यक छ, त्यसैले सहमतिका आधारमा अगाडि बढ्नुपर्छ भनेर पूर्वअध्यक्षहरुले सहमतिको प्रयास पनि गर्नुभएको थियो । अब सहमतिको सम्भावना सकिएको हो ?
सहमतिको सम्भावना अब रहेन । अब निर्वाचन परिणाम स्वीकारेर महासंघलाई एक बनाउनेगरी अघि बढ्नु नै श्रेयसकर हुनेछ । सहमतिको प्रयास ढिलो गरी भएकाले पनि परिणाम दिन नसकेको हुनसक्छ । यद्यपि सहमति नहुँदैमा आकाश नै खसिहालेको छैन । महासंघको छवि बचाउन हामीले प्रजातान्त्रिक संस्कार र स्पोट्र्सम्यानसीपको भावना भने देखाउनैपर्छ ।
महासंघलाई तपाईँ किन आवश्यक छ ?
म महासंघलाई किन आवश्यक छ भन्ने मेरो अवधारणा र एजेन्डा अर्थात एफएनसीसीआई भिजन–२०२५ मार्फत प्रष्ट पारेको छु ।
मैले आफ्नो उम्मेदवारीसँगै नेपाल उद्योग वाणिज्य महासंघको विरासतलाई अझ उजिल्याउने, महासंघलाई मुलुकभरका उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउने र यसको प्रभावकारिता राष्ट्रिय आर्थिक निर्णयहरुसम्म विस्तार गर्ने आवश्यकतालाई केन्द्रविन्दुमा राखेर संस्थागत रुपान्तरणको ‘एफएनसीसीआई भिजन–२०२५’ अवधारणा अगाडि सारेको छु ।
अहिले निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने हो । महासंघको दीर्घकालीन उद्देश्य प्राप्तिका लागि दरिलो अधारशीला खडा गर्न पनि म मैदानमा आएको हो । यसबाहेक अहिलेको संकट समाधान गर्ने सामथ्र्य राख्ने भएकाले पनि महासंघमा मेरो र हाम्रो समूहको नेतृत्व आवश्यक छ ।
साधारण सभामा आउने देशभरका उद्योगी व्यवसायीलाई तपाईं के भन्न चाहनुुहुन्छ ?
महासंघ तपाइँ हामी सबैको साझा संस्था हो । यसको नेतृत्वको कार्यशैलीसँग सिंगो निजी क्षेत्रको प्रतिष्ठमात्र जोडिएको छैन कि नेपाली अर्थतन्त्रको भविष्य पनि गाँसिएकाले तपाइँहरुले मतदानमा विवेक पुर्याउनुपर्छ । महासंघलाई निजी उद्यम व्यवसायको हितरक्षा, औद्योगीकरणको प्रवद्र्धन र अर्थतन्त्रलाई उल्लेख्य योगदान पु¥याउन सक्ने र त्यस कार्यका लागि सरकार एवम् सबै सरोकारवालाहरुबीच सहज समन्वय गर्न सक्षम एक गतिशील नेतृत्वको आवश्कता छ ।
वरिष्ठ उपाध्यक्षका रुपमा मैले आपूmलाई त्यो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्ने विश्वास म सबैलाई दिलाउन चाहन्छु । मैले यसअघि व्यवसायीहरूको विश्वासकै कारण महासंघको एसोसियटतर्फको उपाध्यक्षको भूमिका निर्वाह गर्ने अवसर पाएँ । यो भूमिकालाई मैले जिम्मेवारीपूर्वक सम्पन्न गरेको अनुभूति तपाइँ उद्यमी व्यवसायी मित्रसहित शुभचिन्तक, सञ्चारकर्मीलगायत सबै सरोकारवालाहरुले दिनुभएको कदर र हौसलाले मलाई भएको छ । महासंघको नेतृत्वमा रहेर थप योगदान गर्नका लागि प्रेरित गरेको छ ।
मेरो उमेदवारीको मूल आधार यही हो । मुलुकभर उद्यम व्यवसाय प्रवद्र्धन, प्रोत्साहित गर्न र स्थापित उद्यम व्यवसायहरुको उन्नति एवं व्यवसाय विस्तारका लागि सघाउन महासंघको नेतृत्व प्रत्यक्ष रुपले क्रियाशील हुनुपर्छ । यो हाम्रो राष्ट्रिय जिम्मेवारी बहन गर्न म हरतरहले तत्पर छु र सबै उद्यमी व्यवसायी साथीहरुको अमूल्य मत पाउने कुरामा विश्वस्त छु ।