site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवन राष्ट्रिय निकुञ्‍जमा गैंडाको मृत बच्चा भेटियो

चितवन । चितवन राष्ट्रिय निकुञ्‍जमा ६ महिनाको केटी (गैंडाको पोथी बच्चा) मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका १३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको अन्त्यमा अन्दाजी ६ महिनाको केटी आज अपराह्‍न ३ बजेतिर मृत फेला परेको हो ।

निकुञ्‍जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मृत गैंडालाई भाले गैंडाले आक्रमण गरेको हुन सक्ने अनुमान  छ । भर्खर विकसित हुन लागेको खाग (ब्रम्ह खाग) तथा खुर भने सुरक्षित रहेको उनले जानकारी दिए ।

चालु आर्थिक वर्षमा योसँगै निकुञ्‍जमा १५ गैंडा मरेका छन् । तीमध्ये चारवटा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेको निकुञ्‍जले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  २०:२१
प्रतिक्रिया दिनुहोस्