
मोहन श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्षसमेत रहेका श्रेष्ठले खुलातर्फ महासंघको कार्यकारी समिति सदस्यमा उमेदवारी दिएका छन् । लामो समयदेखि जिल्ला उद्योग वाणिज्य संघमा रहेर काम गरेका श्रेष्ठसँग महासंघ केन्द्रीय कार्यसमितिका लागि उमेदवारीका विषयमा केन्द्रित रहेर बाह्रखरीले गरेको कुराकानी :
महासंघको केन्द्रीय कार्यसमितिमा पहिलोपटक जान उमेदवारी दिनुभएको छ । महासंघ केन्द्रीय समितिमा किन जान खोज्नुभएको हो ?
जिल्ला नगरको समस्या, हाम्रो हक, हित सुनिश्चित गर्न लबिइङ गर्नुपर्ने, सरकारसँग पैरवी गर्न कम भएको हो कि, जिल्लाको कुराहरु नसुनेको हो कि भन्ने भएर जिल्ला नगरको समस्या समाधानका लागि पैरवी गर्न केन्द्रिय कार्यसमितिमा जान लागेको हो । विशेषगरी जुन सुकै देशमा पनि निजी क्षेत्र र सरकारसँगसँगै नहिँडेको अवस्थामा विकास कम भएको पाइएको छ । नेपाल पनि सोही कारण पछाडि परेको अवस्था छ, त्यसमा केही पैरवी गर्न सकिन्छ कि भनेर नै पाल्पा उद्योग वाणिज्य संघले विश्वास गरेर अगाडि बढाएको छ ।
मैले पाल्पा उद्योग वाणिज्य संघमा रहेर यहाँका उद्योगी व्यवसायीको हकहितमा काम गर्न जस्तो भूमिका निर्वाह गरेँ, त्यो भूमिका महासंघमा गएर पनि गर्न सक्छु भन्ने विश्वास पाल्पा उद्योग वाणिज्य संघले गरेको छ । अहिले निजी क्षेत्रलाई हेरिने नजरमा फरक पार्न सकिन्छ कि भनेर नै महासंघमा जान खोजेको हो, मेरो उमेदवारी दर्ता भएको छ ।
निजी क्षेत्रका कुराहरु सरकारलाई सुनाउन, काम गर्न महासंघमा जान खोजेको भन्नुभयो । तर, सरकारले महासंघ वा निजी क्षेत्रको कुरा किन सुनेन भन्ने विषयलाई तपाईँले कसरी हेर्नुभएको छ ?
अहिले दह्रो रुपले सरकारसामु महासंघको आवाज पनि नगएको अवस्था हो । महासंघसहित निजी क्षेत्रको नै हो । कोभिड १९ ले जसरी आर्थिक क्षेत्रलाई थिलोथिलो पार्यो तर सरकारले कुनै पनि सम्बोधन गर्न सकेन । सरकारले गर्न सक्ने धेरै ठाउँहरु थिए, तर सकेन । यसको पैरवी गर्न महासंघले पनि नसकेको हो कि, हामी पनि टुट–फुटमा छौं, हाम्रो पहल सरकारसामु नपुगेको हो कि भन्ने लाग्छ । पहल पुग्न सकेको खण्डमा सरकारलाई पनि फाइदा हुन्छ र निजी क्षेत्रलाई पनि फाइदा हुन्छ ।
राज्यलाई निजी क्षेत्रले सहयोग नै गर्ने हो, सहयोग गर्दै हिँडेका पनि छौं । हिजो जनप्रतिनिधिहरु नहुँदा उद्योग वाणिज्य संघहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकै हो । अहिले तिनै तहको निर्वाचनपछि राजनीतिक स्थायित्व आएर पनि निजी क्षेत्रलाई हेर्ने, निजी क्षेत्रको कुरा सुन्ने विषयमा नसुनेको हो कि वा हामीले पनि सरकारलाई बाटो देखाउन नसकेको हो भन्ने छ ।
केही कुरा सुने जस्तै पनि गर्ने तर कार्यान्वयन हुँदैन, कार्यान्वयन कठिनाइ छ । सरकार र निजी क्षेत्रसँगसँगै नहिडेसम्म देशको आर्थिक समृद्धि सम्भव पनि छैन । सरकारको समृद्धिको नारा अधुरो नै हुन्छ ।
अहिले महासंघमा चुनाव लागेको छ । दुईवटा प्यानल नै बनेको छ । फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्नेमा यो टुट–फुटले सरकारसँग महासंघले कसरी दह्रोसँग कुरा राख्न सक्ला ? महासंघ स्वयम् कसरी बलियो होला ?
वास्तवमा निजी क्षेत्र एक ढिक्का हुनै पर्ने हो । समझ्दारीमा जाने, मिल्ने, सर्वसहमति होस् भन्नेतर्फ हामीले प्रयास नगरेको होइन । सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि चुनाव नै प्रजातान्त्रिक प्रक्रिया हो ।
‘सेलेक्टेड’ भन्दा ‘इलेक्टेड’ आएपछि सरकारसँग लविबइङ गर्न सकिन्छ, त्यो नेतृत्व लिनेले बुझ्ने कुरा हो । निर्वाचित गरिसकेपछि आग्रह वा पूर्वाग्रह राख्ने गर्नुहुँदैन । निर्वाचन प्रक्रियासँग मात्रै फरकफरक हो, निर्वाचन पनि सबै मिलेर नै काम गर्ने हो भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ ।
निर्वाचनले सरकारसँग, प्रशासनसँग निजी क्षेत्रका कुराहरु प्रभावकारी ढंगले राख्न सक्छ भन्ने व्यक्तिलाई नै छान्छ, छान्न पाउने पनि अधिकार हो । हिजो जे कमी कमजोरी भएको थियो, फेरि त्यही कमीकमजोरी होस् भन्ने त कसैले चाहन्न । निर्वाचनले गर्दा महासंघमा आकर्षण पनि बढेको छ र सक्षम नेतृत्व पनि पाएको छ । निर्वाचित भएर आउँदा महासंघ झन् बलियो हुन्छ ।
निर्वाचित व्यक्तिले लबिइङ गर्न सक्नुपर्छ, सबै निजी क्षेत्रका प्रतिनिधिले पत्याएको मान्छे निर्वाचित भएपछि निजी क्षेत्रको हकहितका लागि नै काम गर्नुपर्छ ।
तर, त्यसरी नेतृत्व अगाडि नबढेको हामीले देखिरहेका छौं । निर्वाचन एउटा प्रक्रिया हो, जो सक्षम छ, उ अगाडि बढ्छ । निर्वाचनले कमजोर मात्रै होइन झन् बलियो पनि बनाउन सक्छ । निर्वाचित व्यक्तिलाई सरकारले पनि पत्याउन सक्छ । निर्वाचनले महासंघ कमजोर हुन्छ की भन्ने कुरामा म मान्दिन ।
महासंघलाई कस्तो खालको नेतृत्व आवश्यक हो ?
अब आउने नेतृत्व कुनै पनि विषयमा तत्काल निर्णय लिन सक्ने क्षमता भएको हुनुपर्छ । सरकारसँग लबिइङ गर्न सक्ने, निजी क्षेत्रको कुरा सुनाउन सक्ने, अन्य क्षेत्रसँग पनि काम गर्न सक्ने, लगानी भित्र्याउन काम गर्न सक्ने, देशलाई आर्थिक समृद्धितर्फ लैजान निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन सक्ने नेतृत्व हामीले खोजेको हो ।
कसलाई नेतृत्व दिदा अगाडि बढ्न सक्छ भन्ने कुरा जिल्ला–नगर, एसोसिएट, वस्तुगतका साथीहरुले पक्कै पनि बुझ्नु भएको छ । त्यो विश्वासका साथ अगाडि बढेका छौं ।
महासंघमा अब नेतृत्व परिवर्तन हुँदैछ । अब आउने नेतृत्वको चुनौती के हो ? कसरी काम गर्नुपर्छ भन्ने लाग्छ ?
हुन त हाम्रो साधारणसभा गत चैत्रता नै हुनुपर्ने हो । तर, कोभिडको कारणले पछाडि धकेलियो । अबको निर्वाचन भनेको प्रेसिडेन्ट इलेक्टको हो । अब अध्यक्ष हुनुहुने भनेको शेखर गोल्छा नै हो । उहाँ सबैको अध्यक्ष हो । निर्वाचित भएर नै आउनुभएको हो । तर, अहिलेको निर्वाचनको बेलामा उहाँ तटस्थ नै बस्नुभएको भए त अझ राम्रो हुन्थ्यो । जो जितेर गएपनि उहाँकै टिममा बसेर काम गर्ने हो । एउटा टिम जितेर गइसके पनि मिलाउने जिम्मेवारी उहाँकै हो । शेखर गोल्छाले मात्रै काम गर्ने होइन, टिम स्प्रिडमासबैले काम गर्ने हो । त्यसैले टिम चाहिन्छ ।
आगामी अध्यक्ष भएपछि उहाँ कुनै पनि टिममा हिँड्न हुँदैनथ्यो तर हिँडिसकेपछि पनि जो विजयी भएपनि उहाँलाई नै सघाउँदै अगाडि बढ्ने हो । उहाँ त यसअघि नै निर्वाचित भइसक्नु भएको हो । अहिले उहाँले बोकेको टिम हार्यो भने त उहाँ पनि पराजित हुने हो । तरपनि निर्वाचन भईसके पनि आगामी अध्यक्ष शेखर गोल्छालाई नै सफल बनाउन सबै टिम लाग्छ । निर्वाचन पछि एकै ठाउँमा हुन्छौं ।
विशेष गरी निजी क्षेत्रलाई कसरी हुन्छ बलियो बनाउनेतर्फ नै नेतृत्व लाग्नुपर्छ । अरु छिन्नभिन्न भएको संस्थालाई, लगानीकर्तालाई एकै ठाउँमा ल्याएर निजी क्षेत्रकै सिंगो संस्था महासंघ सुझबुझका साथ अगाडि बढ्नुपर्छ । म अहिले चन्द्र ढकालको टिममा छु । शून्यबाट व्यापार व्यवसाय सुरु गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छबि छ । त्यस्तै जिल्ला नगरबाट गुणनिधी तिवारी हुुनुहुन्छ । पाँच पटकसम्म कार्यसमिति सदस्य हुनुभएको । १५ वर्ष भन्दा बढी महासंघमा बिताइसक्नुभएको छ । प्रदेशको पनि अध्यक्ष भइसक्नुभएको व्यक्ति हुनुहुन्छ । हामी सबै मिलेर जाने हो ।
निर्वाचन एउटा प्रक्रिया हो, हार जितलाई स्वीकार्नु नै पर्छ । १३ गते निर्वाचन हो । १४ गतेपछि महासंघलाई एक ढिक्का बनाउने काम शेखर गोल्छाले गर्नुपर्छ । त्यस्तै निवर्तमान अध्यक्ष हुँदै हुनुहुन्छ भवानी राणा, उहाँले पनि सोही किसिमले भूमिका खेल्नुपर्छ । अन्य उपाध्यक्ष, पूर्वअध्यक्षहरु पनि त्यस्तै भूमिका खेल्नुपर्छ ।
त्यसरी सबैलाई सँगसँगै मिलाएर अगाडि लैजान शेखर गोल्छाले सक्नुपर्दथ्यो, सक्नुपर्छ पनि र चन्द्र ढकालले पनि उहाँको टिम आएपछि उहाँले पनि त्यसैगरी महासंघलाई अगाडि लैजान सक्नुहोला ।
अब निजी क्षेत्रलाई बलियो बनाएर अगाडि बढ्नुपर्छ । सोही सन्देश राखेर अगाडि बढ्ने हो । जिल्लाबाट साथीहरु परिपक्व भएर आउनुभएको छ । पुरानोको अनुभव र नयाँको उर्जाले अगाडि बढ्ने हो ।