site stats
बाह्रखरी :: Baahrakhari
विशेष
रामहरीको मुद्दामा अख्तियारको अनुसन्धानमै विशेष अदालतले उठायो प्रश्‍न  

काठमाडौं ।‘प्रतिवादी रामहरी सुवेदीको मृत्यु् भइ निजको हकमा आरोप दाबी खारेज हुने ठहरी फैसला भएकाले निजले यस अदालतमा ०७६ भदौं ३१ गते १ हजार धरौटी राखेको देखिँदा उक्त धरौटी फिर्ता पाउँ भनि म्यादभित्र निजको हकदारको निवेदन परे मुद्दा अन्तिम भएपछि फिर्ता दिनू’ विशेष अदालतले गरेको फैसला हो यो ।

विशेष अदालतका न्यायाधीश चन्द्रबहादुर सारु र डा. रवि शर्मा अर्यालको इजलाशले एक हजार घुस काण्डमा मुछिएपछि आत्महत्या गरेका मालपोल कार्यालय कलंकीका खरिदार सुवेदीलाई सफाई दिँदै यस्तो फैसला सुनाएको हो । असार ३० गते भएको फैसलाको पूर्णपाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमजोर अनुसन्धानका आधारमा मुद्दा लगाएको ठहर गर्दै सुवेदीलाई सफाइ दिइएको छ । सुवेदीले ०७६ असोज ६ गते आत्महत्या गरेका थिए । 

फैसलाको पूर्णपाठमा अख्तियारले मुद्दामा दाबा गरेका जिकिरहरु कमजोर भएको पनि उल्लेख छ । अख्तियारका अनुसन्धान अधिकृत प्रविण पोख्रेलको प्रतिवेदनका आधारमा सुवेदीविरुद्ध एक हजार घुस लिएको आरोपमा मुद्दा चलाइएको थियो । लेखापढी व्यवसायी कृष्ण प्रसाद घिमिरेले सुवेदीको गोजीमा हात लगेको सीसीटिभी फुटेज, उनीहरुको बयान र प्रत्यक्षदर्शीको जिकिर गर्दै अख्तियारले आरोपपत्र दायर गरेको थियो । 

Argakhachi Cement Island Ad

मुद्दा लगाउने यस्तो कमजोर आधार 

फैसलाको पूर्ण पाठमा भ्रष्टाचार हुनका लागि के हुनुपर्छ भन्‍ने व्याख्या गरिएको छ । सर्वोच्च अदालतले यसअघि प्रतिपादन गरेको  नजिरमा ‘भ्रष्टाचारको कसूर स्थापित हुनका लागि प्रतिवादीले आफू वा अरु कुनै व्यक्तिलाई गैर कानुनी लाभ पुर्‍याएको भन्ने कुरा प्रत्यक्ष, सार्थक र विश्वासपरक प्रमाणबाट शंकारहित तवरले पुष्टि भएको हुनुपर्दछ ।’ 

तर, अख्तियारले सुवेदीले घुस लिएको दाबा गरेको एक हजार कुनै काम गर्न वा नगराउनका लागि दिएको पुष्टि गर्न सकेको देखिँदैन । त्यस्तै, उसले लिएको बयान र प्रत्यक्षदर्शीको जिकिर पनि पुष्टि हुन नसकेको फैसलामा जनाइएको छ । 

अख्तियारको अनुसन्धान खरिदार सुवेदीलाई लेखापढी व्यवसायी घिमिरेले उनको गोजीमा हात लगेको सीसीटिभी फुटेजबाट सुरु हुन्छ । ‘गोप्य रुपमा खिचिएको सिसिटिभी फुटेजको दृश्यमा घिमिरेले सुवेदीको खल्तीमा नै  हात पुर्‍याई घुस दिएको दृश्य देखिएको भन्‍ने वस्तुस्थिती विवरण र प्रतिवादीहरुले मौकामा गरेको बयानलाई मुख्य आधार प्रमाणका रुपमा ग्रहण गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने नेपाल सरकारको दाबी’ रहेको थियो । जसमा सुवेदीले घुस नलिएको बयान गरेका थिए भने घिमिरेले घुस नभई फोटोकपी प्रयोजनका लागि ५ सय दिएको बयान दिएका थिए । 

फैसलामा यस्तो ठहर 

विशेष अदालतले फैसलामा भ्रष्टाचार हुनका लागि केही काम गर्न वा नगराउनका लागि रकम दिइएको हुनुपर्ने उल्लेख छ । घटनामा प्रतिवादी बनाइएका घिमिरेले सुवेदीसँग केही काम गर्न वा नगराउनका लागि पैसा दिएकोतर्फ अख्तियारको अनुसन्धान मौन छ । मौकामा बयान गर्दा सुवेदीले घिमिरेको पुर्जा बनाइदिए बापत १ हजार खाजा खान दिएको बयान गरेका थिए । त्यस्तै, अर्का प्रतिवादी घिमिरेले फर्पिङमा जग्गा किन्‍नका लागि मोठ भिडाउनका लागि एक हजार दिएको बयान गरेका थिए । 

प्रतिवादीहरुले दिएको बयानअनुसारको काम मालपोत कार्यालय कलंकीबाट भएको वा नभएको, कारवाहीका अवस्थामा रहेको-नरहेको र सो काम गर्ने ठाउँमा सुवेदी रहेको-नरहेको अख्तियारको अनुसन्धानमा खुलेको छैन । यस्तो अवस्थामा विना प्रयोजन घुस लिने, दिने अवस्था नरहने फैसलामा ठहर गरिएको छ । त्यस्तै, सीसीटिभी फुटेजमा पनि एक हजार दिएको प्रष्ट नदेखिएको र प्रत्यक्षदर्शीबाट पनि घुस लिएको-दिएको देखेको प्रमाणित गर्न नसकेको उल्लेख छ । 

“रामहरी सुवेदीलाई फोटोकपी गर्नका लागि ५ सय दिएको भनी अदालतमा गरेको बयानकै आधारमा उक्त रकम घुसवापत दिएको अर्थ लगाइ प्रतिवादीलाई भ्रष्टाचारजस्तो गम्भीर कसुरमा कसुरदार ठहर्‍याउन न्यायसम्मत हुने देखिँदैन”, विशेष अदालतको फैसलामा भनिएको छ ।  त्यस्तै, विशेष अदालतले नगद बरामद नभएको भन्दै  घिमिरेले पनि घुस दिएको पुष्टि नभएको भन्दै सफाइ दिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्