site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मरिच भियतनाम फिर्ता भइसकेपछि र केराउ कुहिन थालेपछि सरकारले दियो आयात अनुमति

काठमाडौं । लामो समय रोक्का भएको मरिच र केराउ आयात सरकारले खोले पनि निकै ढिलो भएको खुलेको छ । पाँच महिना बन्दरगाहमा रोकिँदा कुहिसकेको मरिच र केराउ सरकारले आयात गर्न अनुमति दिए पनि त्यस्ता सामग्री कामै नलाग्‍ने स्थितिमा पुगेको हो । भदौ १४ गते बसेको मन्त्रिपरिषद्ले चैत १६ गते अगाडि सिपिङ भइसकेको मरिच र केराउ आयात गर्न स्वीकृति दिएको हो । विदेशी मुद्रा बाहिरिन रोक्न भन्दै चैत १६ गते बसेको मन्त्रिपरिषद्ले मरिच र केराउनसँगै मदिरा, छकडा र महंगा गाडी आयात रोकेको थियो ।

नधुल्याइएको मरिचसँगै केराउ आयातका लागि आइतबार स्वीकृति मिले पनि बन्दरगाहसम्म आइपुगेका सामग्री प्रयोगलायक छैनन् । जसको उदाहरण सिर्सियास्थित सुख्खा बन्दरगाहको लिन सकिन्छ ।

Argakhachi Cement Island Ad

सिर्सियामा आएर थन्किएको पुरानो मरिच कुहिने डरले भियतनाम फिर्ता भइसकेको छ भने केराउको जाँच गर्दा कुहिएको पाइएको छ । बन्दरगाहको भन्सारमा कार्यरत एक अधिकारीले बाह्रखरीलाई भने, “केराउको एउटा कन्टेनरबाट केही स्याम्पल हेर्दा कुहिएको छ । त्यस्तो चीजको के काम लाग्ला र ?“ बन्दरगाहको यार्डमा करिब ६ सय कन्टेनर केराउ छ । त्यो के गर्ने भन्ने अन्योलको विषय हो किनकि काम नलाग्‍ने सामान कसले लैजालान् ?”

बन्दरगाहका भन्सार प्रमुख उमेश श्रेष्ठ भने सरकारबाट निर्णय भएको सुन्‍नमा आएको तर औपचारिक पत्र नआइसकेकाले के गर्ने अझै यकिन नभएको बताउँछन् । उनका अनुसार सरकारले आयात गर्ने अनुमति दिएको हो भने व्यवसायी आफ्नो सामान छुटाउन आए भन्सार क्लियर गरिदिने उनले बताए ।

श्रेष्ठका अनुसार भन्सार यार्डमा आएका ४७ कन्टेनर मरिच भियतनाम फिर्ता पठाउने सहमति अनुसार फिर्ता भइसकेको छ ।

उल्लेखित मरिच र केराउ सिर्सियास्थित सुख्खा बन्दरगाहको मात्र हो । यसबाहेक कलकत्ता बन्दरगाहमा पनि नेपाल आयात हुने क्रममा रहेका केराउ छन् । सामान कुहिन लागेको भन्दै व्यवसायीले पटकपटक सरकारलाई आग्रह गरेका थिए । सो ही माग अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात खुला गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

विश्वव्यापी महामारीका रूपमा फैलिसकेको कोरोना भाइरसका कारण विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत रहेको पर्यटन र विप्रेषण समस्यामा परेपछि सरकारले विदेशी मुद्राको सञ्चिति बचाउन यस्तो निर्णय गरेको थियो । नेपालमा केराउ र मरिचको माग उच्च हुने थालेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १८:४५
प्रतिक्रिया दिनुहोस्