site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
 लकडाऊन डायरी 

(२०७७-१-२१)
देशमा बन्दाबन्दी (लकडाऊन) गरिएको आज एकचालीसौं दिन हो । मैले डायरी लेख्न थालेको पनि एकचालीसै दिन भएछ । आज थप १६ जनालाई कोरोनाभाइरस पोजेटिभ भएको समाचार   छ । तिनमा नेपालगन्जका १५ जना र वीरगन्ज का १ जना छन् । अब  नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७५ पुगेको छ । यिनीहरू पहिलेनै संक्रमित व्यक्तिको सम्पर्कमा रहेका मानिस हुन् रे ! 

नारायणी क्षेत्रीय अस्पतालमा उपचार गरी घर फर्किएका दुई जना फेरि कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका छन् ।  विभिन्न अस्पतालमा कोरोना परीक्षण गर्ने केमिकलको प्रयोगशालामा अभाव हुन थालेपछि कति कोरोना प्रयोगशाला बन्द हुने अवस्थामा पुग्दैछन् रे ! 

नागढुङ्गामा काठमाडौंभित्र छिर्ने सवारी साधनलाई संक्रमण मुक्त बनाउन 'डिस्इन्फेक्सन टनेल' बनाइएको रहेछ । आज दिउँसो टीभीहरूको मुख्य समाचार नै यही धियो । 

Argakhachi Cement Island Ad

अब सरकारले कोरोनासम्बन्धी मुख्य कामहरूको जिम्मा नेपाली सेना लाई दिने रे ! सशस्त्र प्रहरीलाई भने सीमा सुरक्षा बलको रूपमा प्रयोग गर्ने रे । आज लकडाऊनको समयमा सीमा उल्लङ्घन गरेर नेपालबाट भारत छिर्दै गरेका एघार जना भारतीयलाई बगेया बन्ने ठाउँबाट सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

 नेपालका ठूला होटलहरू वैशाख एक गतेदेखि लागू हुनेगरी छ महिनाका लागि बन्द गरिने होटल संघले जनाएको छ । त्यस बीचमा हाल कार्यरत कर्मचारीलाई होटलहरूले साबिककोमा १२.५ प्रतिशतमात्र तलब दिने रे । 

गैरआवासीय नेपाली संघले भनेको छ - कोरोनाभाइरसको संक्रमणबाट विश्वका बिभिन्न देशहरुमा ७३ जना नेपालीको मृत्यु भइसकेको छ । साथै नेपालबाहिर  संसारभर ५ हजार २४७ जना नेपाली भाइरसबाट संक्रमित भएका छन् । यी सबै नेपाली दाजुभाई तथा दिदीबहिनी हाम्रा देशका समाचारमा भने ओझेलमा परेका छन् । 

नेपालमा आजसम्म पीसीआर विधिबाट १३ हजार ४१४ जनाको र आरडीटीबाट ४९ हजार ६८८ जनाको कोरोनाभाइरस परीक्षण गरिएको बताइएको छ । आजको दिनमा  ७७ जना विभिन्न अस्पतालमा रहेका  छन् ।

विश्वका समाचार धेरै छन् । 

जोन हप्किन्स युनिभर्सिटीका दुईजना सीएनएन टेलिभिजनमा कोरोनाभाइरस संक्रमणको तथ्यांक अपडेटको महत्त्वका बारेमा बोल्दै थिए । यो विश्वविद्यालयले दैनिक तथ्यांक अपडेट गर्दैआएको छ । ऊनीहरू भन्दै थिए - दैनिक संक्रमणको विश्वव्यापी अवस्था, मृत्युदर, निको भएका बिरामी तथा संवेदनशील बिरामीको दैनिक तथ्यांक अपडेटले संसारभरका मानिसलाई पूर्वसावधानी अपनाउन, भावि योजना बनाउन तथा समग्र रोगकै विश्वव्यापी भयावहताका बारेमा जानकारी गराउन ठूलो मद्दत गरेको छ । हाम्रा १२-१४ ओटा विश्वविद्यालय तथा तिनका अनुसन्धान निकाय के पो गर्दैछन् कुन्नि ?

न्यु योर्कका गभर्नर एन्डुय्रु क्योमो भन्छन् - 

आज न्यु योर्क बन्द भएको ६४ दिन भयो । आज पनि अस्पताल भर्ना हुनेको संख्या,  इन्टुबेसनको संख्या तथा नयाँ कोभिड बिरामीको संख्या घटेको छ । यी राम्रा समाचार हुन् । तर पनि आज हामीले न्यु योर्कमा २८० जनालाई गुमायौँ । यो दुःखदायी छ ।

हामीले यो संक्रमणबाट के पाठ सिक्ने त ?

सामान्यतया हामीलाई सोधिने प्रश्न यस्ता छन् : 

 - चीनमा के भएको छ ?

- चीनबाट भाइरस कसरी अमेरिका पुग्यो ?

- हामीले अरूभन्दा फरक के गर्न सकेका छौँ ?

- अब आउने समय हामीले के गर्नुपर्छ  ?

म भन्छु - त्यसबेला हामी चीनलाई हेरिरहेका थियौँ । भाइरस भने यूरोप पुगीसकेको थियो र त्यहाँबाट अमेरिकाका केही भागमा छिरिसकेको थियो । त्यसबेला इटाली, युके तथा युरोपलाई हामीले हेरिरहेकै थिएनौ । हामी चीनबाट अमेरिका छिर्दै गरेका मान्छेहरूको परीक्षण गरिरहेका थियौँ तर इटाली, युके तथा युरोपबाट अमेरिका  आउँदै गरेका मान्छे कसैलाई पनि स्क्रिनिङ तथा परीक्षण गरिरहेका थिएनौ । तर, भाइरस युरोपबाट  अमेरिकाको नर्थकोस्टतिर छिरिसकेको थियो ।

अब म अस्पताल प्रणालीको कुरा गर्छु – न्यु योर्कमा अस्पताल प्रणाली त थियो तर सामुदायिक स्वास्थ्य प्रणाली थिएन । न्यु योर्क राज्यभर १ सय ७७ ओटा निजी अस्पताल थिए तर सामुदायिक अस्पताल नगण्य ।

न्यु योर्कमा यति धेरै संक्रमित हुनुमा हाम्रो जनघनत्व धेरै भएर हो । हाम्रो  जनघनत्व नै हाम्रो लागि  दुस्मन बनिदियो ।

ऊनी भन्दै थीए - अब हामीले हिउँदमा हुनसक्ने संभाव्य महामारीको लागि प्रत्येक अस्पतालमा  ९० दिनको लागि पीपीईको मौज्दात राख्नुपर्छ । स्वस्थ्यकर्मी हाम्रा नायकहरू तथा अग्रपंक्तिमा बसेर काम गर्ने अतिआवश्यक कर्मचारी/ कामदार सबैलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु । माक्स लगाऔँ । समाजिक दूरी कायम गरौँ । यो नै हाम्रो सामाजिक उत्तरदायित्व हो । 

(गभर्नर क्योमोको नियमित  पत्रकार भेटघाटको संक्षिप्त अंश )।

न्यूयोर्कका गभर्नर एन्डुय्रु क्योमो ले केही दिनदेखि नियमित   पत्रकार भेटघाटमा आफ्नो भनाइ राख्दा न्यु योर्कमा आजसम्म कति मान्छेको मृत्यु भयो - त्यो तथ्यांक दिन छाडेका छन् । पहिले पहिले उनले त्यो तथ्यांक दिने गर्थे । सायद यति धेरै मान्छे बचाउन नसकेकोमा उनलाई ग्लानि छ । म ऊनको ऑखा र अनुहारको भाव पढ्ने कोसिस गर्छु ।

उनमा सधैँ र सबै राम्रा कुरामा  पहिलो नै हुनुपर्ने अमेरिकी मानसिकतामा कतै हार त भइरहेको छैन भन्ने एककिसिमको क्षोभ र ग्लानि  दुवै छ । पत्रकार भेटघाटमा हरेक दिन  ऊनी नयाँ ऊर्जा, नयाँ योजना र नयाँ कार्यक्रम लिएर आउन खोज्छन् ।

हरेक दिन न्यु योर्कवासीलाई उत्प्रेरणा दिने कोसिस गर्छन् । उनको बोल्ने शैली एकदमै राम्रो छ । हुनत, संसार नै बन्दाबन्दी छ । तर, सबै बन्द भए पनि अमेरिका बन्द हुनुहुँदैन भन्ने अमेरिकी शासकको मानिसकता थियो । एक घन्टा न्यु योर्क बन्द हुँदा अर्बौ डलर नोक्सान हुन्छ भन्ने मान्यता स्थापित गरेको अमेरिकाको सपनाको सहर न्यु योर्क आज घन्टा, दिन, साता हैन ६४ दिनदेखि बन्द छ । ठप्प छ। 


(उप-प्राध्यापक, त्रिभुवन विश्वविद्यालय)

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ०७:३१
प्रतिक्रिया दिनुहोस्