site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकामा दूतावासले क्वारेन्टाइनको व्यवस्था गर्न मिल्दैन : राजदूत

बोष्टन (अमेरिका) । कोरोना भाइरसको अमेरिकी उद्गम मानिएको न्यूयोर्कमा सरकारले न्यूयोर्कवासीलाई घरभित्रै बस्नु भने पनि कतिपय नेपालीहरु पूर्णरुपले घर नबस्ने गरेको पाइएको छ । 

जसका कारण नेपालीहरुको बाक्लो वस्ती रहेको क्विन्सस्थित ज्याक्सन हाइट्समा संक्रमितको संख्या भयावह रुपले बढेको छ । कतिपय नेपालीहरुले अझैपनि सामाजिक दूरी कायम नगरी सार्वजनिक यातायातको प्रयोग गर्ने गरेको र बाहिर त्यत्तिकै निस्कने गरेको पाइएको वरिष्ट इमिग्रेशन अधिवक्ता खगेन्द्र जिसीले बताए ।

“अझै पनि सब वे र सार्वजनिक यातायातमा नेपालीहरु प्रशस्त भेटिने गरेका छन्,” जिसीले भने, “यस्ता गतिविधिले उनीहरुले आफू र आफ्नो सम्पर्कमा आउनेको ज्यान जोखिममा पारेका छन् ।”

नेपाली दूतावासले बिहीबार साँझ आयोजना गरेको भिडियो कन्फ्रेन्समा अधिवक्ता जिसीले आफ्नो आफ्नो धारणा राख्दै थिए ।  ज्याक्सन हाइट्समा बंगाली समुदायमा पनि यो कोभिड १९ को संक्रमण द्रूत गतिले फैलिएको छलफलमा सहभागीले बताए । 

महँगो सहर न्यूयोर्कमा एउटा अपार्टमेन्टमा धेरैजना मिलेर बस्नुपरेका कारण पनि भाइरसको संक्रमण छिटो छिटो भएको हो ।  नेपालीहरु मात्र होइन न्यूयोर्कमा अन्य समुदायका मानिस पनि त्यस्तै गरी बाहिर निस्कने गरेका तस्बिरहरु मिडियामा आइरहेका छन् ।

त्यसकारण पनि सोसल ‘डिस्ट्यान्सिङ’ ले कोभिड १९ को ‘कर्भ’लाई घटाउन चुनौती खडा भएको छ । 

सामाजिक दूरीको निर्देशन पालना प्रभावकारी रुपमा नभएपछि केहीदिन यता न्यूयोर्क गभर्नर एन्ड्र्यू कुमोले सार्वजनिक प्ले ग्राउन्डहरु बन्द गर्ने घोषणा गरेका थिए । 

प्रहरीलाई कडा रुपमा परिचालन गरेर भए पनि सामाजिक दूरीलाई कार्यान्वयन गरिने उनले बताएका थिए ।  न्यूयोर्कवासी नेपाली जनसम्पर्क समितिका पूर्वसंयोजक विष्णु सुवेदीले केही नेपालीहरु अझै काम गरिरहेको बताए । 

सुवेदीले केही दिन अघिको घटना सुनाउँदै भने “मौसम राम्रो छ भनेर घर बाहिर निस्कने नेपाली पनि धेरै छन् । केही नेपालीले क्यासेट गाडीमा लगाएर नाचेको लाइभ गरका थिए । किन यस्तो गरेको भनेर फोन गरेर सोध्दा वेदर राम्रो भएकोले भन्ने जवाफ दिए ।”

मिलेर अपार्टमेन्ट सेयर गरेर बस्ने र संयुक्त परिवारमा बस्नेहरुले आफूलाई कोरोनाभाइरस भएको नभन्नाले अरुलाई संकटमा पार्ने गरेको सुवेदीको भनाइ थियो ।  जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले पनि सबैभन्दा प्रभावित क्विन्स र त्यसमा पनि ज्याक्सन हाइट्स कोभिड १९ बाट बढी प्रभावित भएको बताए । 

“संक्रमितलाई क्वारेन्टाइनमा राख्ने छुट्टै ठाउँको केही व्यवस्था होलाकि भनेर कानुनी प्रावधानको छलफल गर्दै आएका छौं,” चेम्जोङगले भने, “तर समाधान निस्केको छैन ।” अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले दूतावासले नेपालीहरुको लागि क्वारेन्टाइनको व्यवस्था गर्न नमिल्ने बताए ।
“मर्यादाको कारणले गर्दा मिल्दैन,” उनले स्पष्ट पारे, “मिल्ने भए भारतीय दूतावास र चाइनिज दूतावासले खोल्थे ।”

राहतबारे जानकार छैनन्

अमेरिकी सरकारले कोरोना महाव्याधीका कारण स्टेट अफ इमर्जेन्सी घोषणा गरेपछि सर्वसाधारणलाई राहत दिन विभिन्न राहतका प्याकेज घोषणा गरेका छन् ।  डा. मोहन उप्रेतीले सर्वसाधारण नागरिकदेखि साना व्यवसायी सबैले राहत पाउने बताए । उनले साना व्यवसायीले कम ब्याजदरको ऋणका अलावा तत्काल १० हजार डलर अनुदान पनि प्राप्त गर्न सक्ने बताए । 

भाषाको दक्षता र जानकारीको अभावका कारण धेरै नेपालीलाई राहतबारे थाहा नभएको जिसीले बताए ।  नेपाली समूदायका विभिन्न पेशाकर्मी र संघसंस्थाका प्रतिनिधिले यो विषयमा सहयोग गर्ने बचनबद्धता व्यक्त गरे ।  नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले भने, “सहयोग त हाम्रै वरिपरी रहेछ । तरिका थाहा पाउने हो भने सुविधा लिने थुप्रै ठाउँ छ व्यवस्थित रुपमा ।”

भिसाको चिन्ता नगरौँ

कोभिड १९ को कारणले भिसाको म्याद सकिएका नेपाली पर्यटक वा विद्यार्थीले चिन्ता गर्नु नपर्ने राजदूत कार्कीले बताए ।  उनले अमेरिकाको स्टेट डिपार्टमेन्टलाई पत्राचार गरिएको र उनीहरुले अहिले भिषाको चिन्ता नगरौँ, स्वस्थ रहन ध्यान दिऔँ भन्ने जवाफ पाएको बताए । 

संक्रमणको अनुमान 

कोरोनाबाट सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना भएका दुई नेपाली घर फर्केका छन् ।  यसरी खतरामूक्त भएर अस्पतालबाट डिस्चार्ज भएका नेपालीहरुमा शम्भु मोक्तान र जीवन बम हुन् ।  उनीहरु दुवै जनाले आफूलाई कोरोना भाइरस संक्रमण भएको कुरा सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । 

र, जसै अस्पतालबाट डिस्चार्ज भए त्यो पनि सुखद समाचारको रुपमा फैलियो ।

कति नेपाली संक्रमित छन् भन्ने ठोस तथ्यांक नेपाली समूदायका अगुवाहरु कसैलाई यकिन छैन । तर यो कुरामा विवाद छैन कि समग्र संक्रमित नेपालीहरुको तथ्यांक पनि न्यूयोर्कमा संक्रमित हुनेको कूल संख्यामा जोडिन्छ । यो समाचार तयार पार्दासम्म न्यूयोर्कमा कूल संक्रमितको संख्या ९२ हजार ७ सय २० र मृत्यू हुनेको सँख्या २ हजार ३ सय ७४ पुगेको जोन्स हप्किन्सस्थित कोरोना रिसोर्स सेन्टरले जनाएको छ । 

अन्यभन्दा बढी सम्पर्कमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुले आफूहरुलाई संक्रमित भनेर फोन सम्पर्क गर्नेहरुको कथनको आधारमा अनुमान गर्ने गरेका छन् । 

नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले अनुमानित ३ सय जना संक्रमित भएको बताएका थिए । 

विष्टसँग बिहीबार सम्पर्क हुँदा उनले फेरि भने, “संक्रमणको त्यो संख्यामा धेरै वृद्धि भएको छ ।”

त्यसैगरी गैरआवासीय नेपाली संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले कोरोना भाइरस लाग्ने परिवारको संख्या न्यूयोर्कमा ९९ पुगेको बताए । 

न्यूयोर्कबाहिरको संक्रमण

जसै कोरोनाको संक्रमण देशव्यापी रुपमा फैलँदो छ, त्यसैगरी विभिन्न राज्यमा नेपालीहरुलाई पनि संक्रमण भएका खबर आउन थालेका छन् ।  न्यूयोर्कपछि न्यूजर्सी, क्यालिफोर्निया, पेन्सलभेनिया, ओहायो, कोलोराडो, टेक्सस, जर्जिया आदि राज्यमा केही नेपाली एवम् नेपालीभाषी भुटानीमा संक्रमण देखिएको छ । त्यसैगरी एनआरएनकी क्षेत्रीय महिला संयोजक उमा कार्की थापाका अनुसार चिलीमा एकजना नेपाली क्वारेनटाइनमा छन् भने क्यानडा मेक्सिको र ब्राजिलमा कुनै नेपालीलाई कोरोना देखिएको जानकारी नआएको बताइन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १६:११
प्रतिक्रिया दिनुहोस्