_1825162438.jpg)
काठमाडौं । भूकम्प तथा नाकाबन्दीका बेलामा चीनबाट आएको अनुदानसहितको इन्डक्सन चुलो बल्ल सकिने भएको छ । साढे ११ हजार थान आएको इन्डक्सन सरकारले चार वर्षमा बेचेर सिध्याउन लागेको हो ।
चीनले अनुदानमा दिएको इन्डक्सन नेसनल ट्रेडिङ कर्पोरेसनले बेच्ने गरेको थियो । पछि कर्पोरेसन खाद्य संस्थानमा मर्ज भएपछि विभिन्न ५ स्थानबाट बिक्री हुँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेदेखि कम्पनीमा साढे ७ हजार इन्डक्सन बाँकी थिए ।
नयाँ कम्पनी बनेपछि पनि कम्पनीमा इन्डक्सन किन्नेको भीड थिएन । तर, संसारभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम मध्यनजर गर्दै उपभोक्ता इन्डक्सन किन्न भीड लाग्न थाल्यो ।
सरकारले लकडाउन घोषणा गरेपछि यसको माग झन् बढ्यो । दैनिक ५ सयको हाराहारीमा बिक्री हुन थालेपछि अहिले इन्डक्सन सकिने क्रममा पुगेको हो । बुधबार बिहानसम्म कम्पनीसँग १५ सय चुलो बाँकी थियो । बुधबार साँझको तथ्यांकअनुसार पाँच बिक्री स्थलको भण्डारण कक्षमा अब ७ सय ५८ वटा इन्डक्सन चुलो बाँकी छ ।
इन्डक्सन बिक्री केन्द्रमध्ये एक स्थान कम्पनीको अञ्चल कार्यालयमा बुधबार बाह्रखरीकर्मी पुग्दा एक सयको संख्यामा मानिस किन्नकै लागि आएका थिए । एक मिटरको फरकमा बनाइएको गोलो घेरामा लाम लागेर नाङ्लोमा पैसा राखेर भुक्तानी गर्दथे ।
भुक्तानी गरेर भण्डारण कक्षमा पुग्दा एकजना धमाधम चुलो हस्तान्तरण गर्दै थिए, ठीक अवस्थामा छ/कि छैन भन्ने जाँच गरेर । कुनामा ५०–६० को संख्यामा इन्डक्सन बाँकी थियो ।
“कोरोनाबाट प्रभावित हुने डरले मैले इन्डक्सन किनेको हुँ । ग्यास सकिए पनि लोडसेडिङ त नहोला नि !,” इन्डक्सन किन्न पुगेका स्वयम्भूका नवीन सञ्जेलले चुलो किन्दाको अनुभव बाह्रखरीलाई सुनाए । उनले आफूले एक मिटरको दूरीमा रहेको गोलो घेराभित्र बसेर लाम लागेको र नाङ्लोमा पैसा राखेर भुक्तानी गरेको पनि सुनाए । “भुक्तानी गरेपछि भण्डारण कक्षबाट चुलो लिएँ,” उनले भने, “विश्वास गरेर किनेको छु । राम्रै चल्यो भने सरकारलाई धन्यवाद ।” सञ्जेलले भने झैं भण्डारण कक्षमा निकै कम संख्यामा चुलो थियो ।
थापाथली कार्यालयमा कोरोनाको संक्रमणसँगै सरकारले घोषणा गरेको लकडाउनपछि खाद्यान्न किन्ने ग्राहकको भीड कम भए पनि इन्डक्सन किन्नेको लाम लागेको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अञ्चल कार्यालय प्रबन्धक रणबहादुर बुढाथोकीको भनाइ छ ।
बुढाथोकीले भने, “ग्यासको विकल्पका रूपमा रहेको यो विद्युतीय चुलो हामीसँग रहेको मौज्दात सकिने क्रममा छ ।” बिहान ११ सयको संख्यामा बाँकी रहेको चुलो १ सयको हाराहारीमा रहेको उनले सुनाए ।
भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले करिब ११ हजार थान इन्डक्सन चुलो अनुदानमा दिएको थियो । नाकाबन्दीका कारण ग्यास नपाएर सास्ती बेहोर्नुपर्ने अवस्थामा चीनले नेपाललाई सर्वसाधरणलाई वितरण गर्न भन्दै अनुदानमा इन्डक्सन सहयोग गरेको थियो ।
पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य प्रतिगोटा १२ हजार रुपैयाँ कायम गरिएको थियो । तर, ती बिक्री भएका थिएनन् । दोस्रो चरणमा आएका १० हजार वटालाई पनि १२ हजार तोक्दा बिक्री नभएपछि घटाएर ४ हजार कायम गरियो ।
४ हजार तोके पनि साढे ३ वर्षमा ३ हजारको संख्यामा मात्र चुलो बिक्री भएको थियो । इन्डक्सनसँगै एउटा कराही पनि निःशुल्क पाइन्छ । बुधबार थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अञ्चल कार्यालयमा इन्डक्सन किन्दै गरेका सर्वसाधारण ( थप तस्बिरमा) :