site stats
बाह्रखरी :: Baahrakhari
खेल
जिम्मेवारी झन् थपिएको छ : पारस खड्का 

पोखरा । ‘कमन ब्वाइज’ जोडका साथ आएको हौसलामय आवाज हो यो ।  यही आवाजले नै विगत लामो समयदेखि क्रिकेट खेलाडीहरुको मनमा बेग्लै किसिमको उर्जा थप्दै आएको छ ।  अझ भनौँ यही आवाजको प्रेरणाले धेरै क्रिकेट खेलाडीले आफ्नो खेल यात्रालाई बलियो बनाएका छन् र प्रेरणा लिएका छन् । 

यही आवाज अहिले पोखरामा पनि सुन्न सकिन्छ । नेपाली क्रिकेटको लिजेन्डका रुपमा रहेका तत्कालीन कप्तान पारस खड्काले हाल पोखरा प्रिमियर लिग (पीपीएल) मा चितवन राइनोजको कप्तानी गरिरहेका छन् ।  पारसले कप्तानी गरेको टोली चितवनले हाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ । 
टिममा केही नयाँ खेलाडी र राष्ट्रिय टोलीका खेलाडीसहित तीनजना विदेशी खेलाडीको नेतृत्व पारसले गरेका छन् ।

नेपाली क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तानको रुपमा चिनिने पारस घरेलु प्रतियोगिताहरुमा पनि सफल कप्तानको रुपमा रहेका छन् । 

“कप्तानको जिम्मेवारी आफ्नो ठाँउमा छ । त्योभन्दा पहिले खेलाडीको रुपमा उत्कृष्ट प्रदर्शन गर्नुपर्‍यो । घरेलु प्रतियोगिता होस् या अन्तर्राष्ट्रिय । त्योभन्दा ठूलो कुरा आफूले आफूलाई अघि बढाइराख्नुपर्छ । हाम्रो राष्ट्रिय टिम पनि राम्रो छ । त्यसलाई बलियो बनाएर लैजानु पर्छ,” पारसले भने । 

सन् २००९ देखि कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यतासमेत दिलाएका थिए ।  विगत लामो समयदेखि आईसीसीले नेपाली क्रिकेटमाथि लगाएको निलम्बन फुकुवा गरेको भोलिपल्ट नै कप्तानीको जिम्मेवारी छाडेका थिए । 

कप्तानीपछि पारसले राष्ट्रिय टोलीको जर्सीमा साग क्रिकेट अन्तर्गत श्रीलंकाको यू–२३ टोलीविरुद्धको खेलमा पुनरागमन गरेका थिए । 

“हरेक खेलमा मैले मेरो जिम्मेवारी पूरा गरेको छु, कहिले पनि मलाई कप्तानीको जिम्मेवारी लिँदा मात्र राम्रो खेल प्रदर्शन गर्न सकिन्छ भन्ने लाग्दैन । एउटा खेलाडीको नाताले पनि हेर्ने हो भने सबैले आफ्नो टिमलाई बलियो बनाउन सकिन्छ । हामीसँग भएको टोलीलाई बलियो बनाएर जाने हो भने अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालले बेग्लै छाप छोड्न सक्छ जो पहिले पनि रहेको छ,” पारसले भने ।

कप्तानीको जिम्मेवारी पछि पनि आफूलाई धेरै ठूलो जिम्मेवारी थपिएको पारस बताउँछन् । 

कप्तानीको जिम्मेवारीबाट बाहिरिएपछि गत सागमा राष्ट्रिय टोलीका लागि खेलेका पारसले उत्कृष्ट प्रदर्शन गर्न भने सकेनन् । प्रतियोगिताको चार खेलमा गरी पारसले ८० रन बनाएका थिए ।

जसमा भुटानविरुद्धको खेलमा ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । 

सोही खेलमा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले १०७ रनको शतकीय पारी खेलेका थिए । 

“कप्तानीको जिम्मेवारी छोडेपछि नै मैले आफूमा झनै जिम्मेवारी रहेको ठानेको छु, मेरो भूमिका मात्र फरक भएको हो । जसरी एक कप्तान र खेलाडीको रुपमा नेपाली क्रिकेटको विकासका लागि लागि रहेको छु त्यसरी नै एक खेलाडी र नेतृत्वकर्ताको रुपमा लागि रहनेछु,” पारसले भने । 

चितवनबाट पीपीएलमा कप्तानी गरिरहेका पारसले बिहीबारको खेलमा अर्धशतकीय पारी खेलेका थिए । 

४० बल खेलेका पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाएका थिए ।  पारसले ३५ बलमा ५ चौका र १ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।  पारस घरेलु लिगमा पनि पछिल्लो समय सक्रिय भएर लागेका छन् ।  नेपाली राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी उत्पादनको लागि घरेलु क्रिकेट महत्वपूर्ण रहेको उनी बताउँछन् । 

“घरेलु प्रतियोगिता र राष्ट्रिय टिमबाट गर्ने प्रदर्शन र जिम्मेवारी एउटै किसिमको हुन्छ । देशका लागि खेल्दा अलि फरक किसिमको अनुभूति हुन्छ । जहाँ जता जसरी भए पनि क्रिकेटमा नै लाग्ने छु, खेल र खेलाडीको क्षेत्रबाट सधै क्रिकेटको विकासको लागि लागि रहनेछु,” पारसले भने । 

हाल पारसको टिम चितवन पीपीएलको उपाधि दाबेदार टोली हो । कूल तीन खेल खेलेको चितवन ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । 
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  ०९:१९
प्रतिक्रिया दिनुहोस्