site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
 उर्मिलाको आँखामा रित्तिएको आँसु

विसं २०६० साल असोज २६ गते उर्मिलाको जिवनमा कहिल्यै नहट्नेगरी कालो बादल लाग्यो । वि.सं. २०३२ साल फाल्गुणमा रामेछापको बाबियाखर्कबाट विवाह गरेर सिन्धुलीको देउरालीटार आएदेखि उहाँले जीवनमा पछाडि फर्केर हेर्नुपरेको थिएन । कहिल्यै आँखाबाट आँसु खसाल्नु परेको थिएन । तर २०६० असोजमा उहाँका पति वशिष्ठ कोइरालालाई सशस्त्र द्वन्द्वमा रहेका माओवादीका तीन कार्यकर्ताले अपहरण गरी घरभन्दा अलि परको महाभारतको घनघोर जंगलमा लगेर हत्या गरेपछि न त उहाँ चैनले निदाउन सक्नुभएको छ, न त उहाँले आनन्दको सास नै फेर्न सक्नुभएको छ । दिनरात रुँदारुँदा उहाँको आँखामा आँसु पनि रित्तिसकेको छ ।

जसले पनि उहाँलाई भेट्नेबित्तिकै सोध्छन् – तपाइँका पतिको हत्या किन गरियो ? यो प्रश्नले उर्मीलालाई थप पीडा दिन्थ्यो र बर्बरती आँसुका धारा छुट्थे । अब त मनलाई दह्रो पारिसक्नुभएको छ । त्यसैले उहाँ सजिलै उत्तर दिन सक्नुहुन्छ – मेरो पतिको हत्या गरिनुको एउटै कारण उहाँ नेपाली कांग्रेसको जिल्लाको नेता हुँदा पनि गाउँकै सेवा गरेर बस्नु । माओवादीलाई आफ्नो जन्म भएदेखि नै कांग्रेस वर्ग शत्रु लाग्थ्यो । कांग्रेसका नेता कार्यकर्तालाई भेटेसम्म सकेसम्म तथाकथित सामन्तीको बिल्ला भिराइदिएर सफाया (मार्न) गर्ने उनीहरुको योजना हुन्थ्यो र सम्भव भएसम्म ज्यान लिई पनि हाल्थे । त्यसैको सिकार हुनुभयो मेरो पति पनि । उहाँको उत्तर अहिले यही हो । 

वशिष्ठ कोइराला पञ्चायत कालमा पनि कांग्रेसको निडर नेतामा चिनिनुहुन्थ्यो । विसं २०४५ सालमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला सिन्धुली सदरमुकाम गएको बेलामा कांग्रेसको जिल्ला कार्यसमिति गठन गर्ने तयारी गर्दा जिल्ला कार्यसमितिमा बसे पञ्चायतको आँखामा अराष्ट्रिय तत्त्व बनिन्छ र पञ्चायतले कतिबेला समातेर हत्या गरिदिन्छ भन्ने डरले कसैले पनि आँट नगरिरहेको बेलामा सबैभन्दा पहिला “गिरिजाबाबु म सदस्यमा बस्छु” भनेर निडरताका साथ भन्ने व्यक्ति नै उहाँ हुनुहुन्थ्यो । उहाँको निडरताको त्यो बेलामा चिरञ्जिवी वाग्लेले खुबै प्रशंसा गर्नुभएको थियो । त्यसपछि पटकपटक कहिले महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य त कहिले जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी उहाँले सम्हाल्नुभयो । 
माओवादी हिंसा चरममा पुगेको थियो । कहिले माओवादी आउने खाना बनाएर खुवाउनुपर्ने वा अन्य सहयोग माग्ने त कहिले सेना—पुलिस आउने र माओवादीलाई सहयोग गर्ने भनेर हप्काउने दप्काउने । जताबाट पनि चेपुवामा परेका थिए सिन्धुलीका अधिकांश गाउँका बासिन्दा । त्यस्तै चेपुवामा परिरहेकै थियो वशिष्ठको परिवार पनि । दैनिक जसो रेडियोमा फुकिरहेको हुन्थ्यो – आज माओवादीका कार्यकर्ता यति मारिए, माओवादीद्वारा यहाँ आक्रमण गरियो र प्रहरी जवानको ज्यान गयो, सेनाका यति जवानले वीरगति प्राप्त गरे, माओवादीद्वारा नेपाली कांग्रेसका फलाना नेताको अपहरणपछि घाँटी रेटेर हत्या गरियो वा गोली ठोकेर हत्या गरियो । 

Argakhachi Cement Island Ad

यस्तो समाचारले वशिष्ठलाई नपिरोलेको होइन तर उहाँको मनमा के थियो भने अन्त जे भएलपनि हाम्रोतिरका माओवादीका कार्यकर्ता त्यस्ता छैनन् । किनभने बारम्बार भेट हुँदा तपाईँजस्तो पञ्चायतविरुद्ध लडेको व्यक्ति यस्तो शालीन नेताबाट हामीले पनि सिक्न सक्छौँ भनिरहन्थे । त्यसले पनि उहाँलाई एकप्रकारको ढाडस दिइरहन्थ्यो । त्यसैले उहाँले गाउँ नछोडी कांग्रेसको सच्चा पहरेदार भएर गाउँको सेवा गरिरहनुभएको थियो । तर माओवादीले त्यसलाई पहाड ठान्यो र बशिष्ठ कोइरालाको हत्या गर्ने योजना बनाएर सामन्ती र सुराकीको तथाकथित बिल्ला भिराउँदै नाटकीय ढंगले हत्या गर्‍यो । 

त्यस दिनदेखि सिन्धुलीमा कांग्रेस गर्ल्याम्म ढलेको थियो भने माओवादीले जितको गीत गाउन थाल्यो । माओवादीले अब सिन्धुलीको महाभारत उत्तरका सम्पूर्ण गाविसमा माओवादीका नेता कार्यकर्तामात्रै बाँकी रहेको देख्न थाल्यो । तर, वशिष्ठको कांग्रेस उनको एउटा ज्यान लिँदैमा सकिँदैन भन्ने बुझेन । अनि तयार भए साराका सारा वशिष्ठ बन्नलाई । पूरै जिल्ला शोकमा डुब्यो । माओवादीकै कति कार्यकर्ता मुखामुख भन्न थाले हामीले यस्तो व्यक्तिको हत्या गर्‍यौँ जसले समाज परिवर्तनको लागि लामो आन्दोलन लडेको थियो । उनीहरु नै कता कता भन्न थाले माओवादीले साख आफैँ गिराए भनेर । त्यसपछि वशिष्ठकी पत्नी उर्मीलाले हर मञ्च हर क्षेत्रमा भन्न थाल्नुभयो – मेरो पतिको लास देऊ, तिमीहरुको अत्याचारको कुनै दिन पर्दा च्यातिनेछ । त्यसपछि तिमिहरु नाङ्गिनेछौ । 

उहाँको एउटै प्रश्न छ के मेरो पति कांग्रेस हुनु अपराध हो ? जसले विनाकारण माओवादीको शान्तिपूर्ण राजनीति गरेको व्यक्तिको गिरफ्तारीको विरोध गथ्र्यो, जसले माओवादीले पनि शान्तिपूर्ण राजनीति गर्न किन नपाउने ? भनेर हरेक मञ्चमा लड्थ्यो आज तिनै योद्धाको हत्या गर्नुपर्ने के त्यस्तो आइलाग्यो ? यसको जवाफ उहाँले माओवादीको जिम्मेवार नेतृत्वबाट कहिल्यै पनि पाउनु भएको छैन । 

बन्दुकको नालबाट सत्ता जन्मिन्छ भनेर लडाइँ लडेको माओवादी आज मतदानबाट सरकारको नेतृत्वमा छ । आखिर यही व्यवस्था ल्याउनको लागि त वशिष्ठहरु लडेका थिए र यो व्यवस्थाको उदय भएको थियो । 

त्यसपछि उर्मिला आफ्ना पतिको सहादतको उत्तर खोज्न लाग्नुभयो । उर्मिलाजस्तै हजारौँ सिउँदो उजाडिएका, काख रित्तिएका, लौरो भाँचिएका, पवन, पद्मा, अञ्जनीजस्ता कलिलै उमेरमा टुहुरा बनाइएकाहरु न्यायको ढोका ढकढक्याउन चारैतर्फ लागे । फलस्वरुप, विसं २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले राज्यको तर्फबाट वशिष्ठजस्ता राजाको निरंकुशता र माओवादीको अधिनायकवादको विरुद्धमा लडाइँ लडेर सहादत प्राप्त गरेका व्यक्तिलाई सहिदको दर्जा दियो । 

सहिदको दर्जा त दियो राज्यले तर राज्यले वास्तवमै बिचल्लीमा परेका र सडक सडक भौँतारिएका परिवारलाई न्यायको लागि कुनै पनि सरकारले चासो दिएन । अझ कतिपय फोरममा त तिनै व्यक्ति पीडितलाई अझ चिढ्याउने र पीडितको घाउमा नुनचुक छर्किने गरि भाषण गर्दछन् । यस्ताखाले व्यवहारले उर्मिला जस्ता वास्तविक पिडितलाई कति रुवाउँदो होला कहिल्यै किन सोच्दैनन् ? के यसले दिगो शान्ति स्थापनाको उर्मिलाको सपना पूरा होला त ? त्यसैले सरकारले त्यसबेलाको द्वन्द्वको सत्यतथ्य पत्ता लगाएर जघन्य अपराधका घटना केलाएर अपराधीलाई हदैसम्मको कारबाही गर्न सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर द्वन्द्व समाधान गर्नेतर्फ बेलैमा सोचेर काम अगाडि बढाउँदा सहिद वशिष्ठको प्रजातान्त्रिक आन्दोलनको लगावप्रति सच्चा सम्मान हुने थियो र उहाँको आत्माले शान्ति पाउने थियो । 

(कोइराला, सहिद बशिष्ठ कोइराला स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् )  
 

प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  २०:२३
प्रतिक्रिया दिनुहोस्