site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
एनसेल बाह्रखरी एभरेष्ट गल्फः ‘हाइ–एन्ड टुरिजम’ मा टेवा 

काठमाडौं । विश्व पर्यटन ‘साइट सिइङ’ बाट ‘साइट फिलिङ’तर्फ उन्मुख छ । अर्थात्, केही काम विशेष वा बिनाकाम गएर ठाउँमात्रै हेर्नुभन्दा त्यहाँ पुगेर प्रत्यक्ष अनुभव हाँसिल गर्न चाहने पर्यटकको संख्या दिनानुदिन बढ्दो छ । विश्वमै साइक्लिङ, माउन्टेनियरिङ, हाइकिङ, क्यान्योइङ, बन्जि जम्पिङलगायत साहसिक पर्यटन व्यवसाय फस्टाउँदै गएका छन् । पर्यटनकै बिधाकै रुपमा हेरिएका यस्ता खेललाई प्रतिस्पर्धाभन्दा पनि माथि राखिन्छ ।

पर्यटनका यी आयाम नेपालमा पनि फस्टाउँदा छन् । नेपाल पनि यी माध्यमबाट ‘हाइ–एन्ड टुरिजम’ प्रवर्द्धन गर्ने ध्ययेमा लागेको छ ।  सरकारले पनि धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । स्वदेश तथा विदेशबाट ठूलो रकम खर्च गर्न सक्ने व्यक्तिहरु (हाइ–एण्ड टुरिस्ट) लाई पर्यटकीय गन्तव्यमा पुर्‍याएर पर्यटन क्षेत्रको आय र अर्थतन्त्रमा योगदान बढाउने प्रयासस्वरुप सरकारले नै यो खालको पर्यटनलाई विशेष महत्वमा राखेको पाइएको छ ।

र, यही फस्टाउँदा विभिन्न पर्यटनका बिधा तथा ‘हाइ–एन्ड टुरिजम’मा नयाँ आयाम बनेको छ, गल्फ । नेपाल विश्वमा कमै देशमध्ये एक त्यस्तो देश हो जुनसुकै सिजनमा पनि यहाँ गल्फ खेल्न सकिन्छ । त्यसैले नेपाललाई गल्फको ठूलो सम्भावना भएको क्षेत्र मानिन्छ । तर, लगानी र पूर्वाधारको अभावमा नेपालमा विरलै गल्फ प्रतियोगिता हुने गरेका छन् ।

यही बीचमा नेपालको पर्यटन प्रवर्द्धन, नेपाल भ्रमण वर्ष २०२०, गल्फ खेलको विकासका लागि बाह्रखरी मिडियाले यसवर्ष सगरमाथा क्षेत्रमा अर्थात् संसारकै उच्च स्थानमा गल्फ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

‘एनसेल प्रिजेन्टस् बाह्रखरी एभरेस्ट गल्फ, २०१९’ नाम दिइएको यो प्रतियोगिता सगरमाथा क्षेत्रको कोङ्दे री मा चार हजार २५० मिटरको उचाईमा हुने छ । जहाँबाट पृष्ठभूमिमा ८ हजार मिटर उचाईका अग्ला हिमशृङ्खला देखिने गरी ‘टि–अफ’ गरिने छ ।

कोङ्दे री मा एक होल खेलाएर बाँकी १७ होल काठमाडौंमा खेलाइने यस प्रतियोगितामा ४० भन्दा बढी खेलाडी संसारकै उच्च भूभागमा ‘गल्फ सट’ हान्न पुग्नेछन् । कोङ्दे री मा एक होल खेल्ने कार्यक्रम आगामी अक्टुबर २० का लागि तय गरिएको सोमबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।

यो ‘हाइ–एन्ड टुरिजम’को सन्देश विश्वभर पुगोस् भन्ने लक्ष्यले बाह्रखरीले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना हुने प्रतियोगिताले नेपालका बारेमा विश्वभर सकारात्मक सन्देश पुर्‍याउने विश्वास लिइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस प्रतियोगितामा भारत, चीन, अमेरिका, सिंगापुर, श्रीलंका, हङकङ, बेलायतलगायतका मुलुकबाट सञ्चारकर्मीहरुलाई आमन्त्रित गरिएको छ । साथै, सीएनएन, बीबीसी, रोयटर्स, एपी, एएफपी, ब्लुमबर्गजस्ता अन्तर्राष्ट्रिय समाचार संस्थालाई पनि आमन्त्रण गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको उपस्थितिले विश्व मानचित्रमा नेपालमा गल्फ, पर्यटन र पर्यटनमा पनि ‘हाइ–एन्ड टुरिजम’ प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका लागि ४० भन्दा बढी खेलाडी, १५ राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अन्तर्राष्ट्रिय खेलाडीका साथै विशिष्ट व्यक्तिलाई हवाईजहाज र हेलिकप्टरमा लुक्ला हुँदै कोङ्दे लगिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता दुई चरणमा हुनेछ । कोङ्दे री मा एक पार–३ कोर्समा प्रतिस्पर्धा गरेपछि त्यसको एक सातापछि गोकर्ण सफारी रिसोर्टमा बाँकी १७ होल खेलाइनेछ ।

दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरी करिब सय गल्फरले प्रतिस्पर्धा गर्नेछन् । गोकर्ण गल्फ क्लबको प्राविधिक सहयोगमा सगरमाथाको कोङ्दे री मा वान होल गल्फ कोर्स तयार गरिँदैछ । यो प्रतियोगिता नेपालको सबैभन्दा उचाइमा गरिएको पहिलो खेल पनि हो । पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नेपाललाई विश्वभर चिनाउन र नेपालको पर्यटन प्रवर्द्धनका लागि बाह्रखरीले गरेको कामको स्रहाना गरे ।

उनले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पनि आफूहरुले यस्तो कार्यमा सहकार्य गरेको बताए । उनले भने, “यस्तो पवित्र काम सञ्चारमाध्यमले गर्न लागेको छ । हामी सबैले साथ दिनुपर्छ ।”

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पनि बाह्रखरीले आयोजना गर्न लागेको गल्फ प्रतियोगिताले ‘हाइ–एन्ड पर्यटक’ भित्र्याउन मद्दत गर्ने बताए । उनले भने, “एउटा मिडियाले नै यस्तो कार्यको सुरुवात गरेकाले हामीले साथ दिएका छौं । सगरमाथाको नाममा प्रवर्द्धन गर्न यो कार्यले सहयोग पुर्‍याउनेछ । विश्वभरबाट पत्रकार आउने भएकाले यस कार्यक्रमले विश्वको ध्यान खिच्ने पक्का छ ।” 

उनले कम खर्चमा उच्च प्रभाव पार्ने पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले भविष्यमा बोर्डले यस्ता कार्यलाई साथ दिने दाबी पनि गरे । कार्यक्रममा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले यो योजना पर्यटन र खेल दुवै प्रवर्द्धन गर्नका लागि आयोजना गरिएको जानकारी गराए । “नेपाल खेलकुदको गन्तव्य हो । हामी यही सन्देश दिन चाहन्छौं,” उनले भने, “यसले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सघाउ पुर्‍याउँछ ।”

पहिले गल्फ प्रवर्द्धनबारे मात्र सोचेको तर पछि नेपालकै पर्यटन प्रवर्द्धन हुने चाल पाएपछि सरोकारवाला निकायसँग समन्वय गरिएको प्रधानले बताए । कार्यक्रममा बाह्रखरी मिडियाका प्रबन्ध सम्पादक राजेश केसीले मुलुकको जीडीपीमा सबैभन्दा बढी योगदान पर्यटनको रहेको जानकारी गराउँदै नेपाल खेलकुदको गन्तव्य हो भन्ने सन्देश दिन चाहेको जानकारी दिए । 

त्यसैगरी गोकर्ण गल्फ कोर्सका डाइरेक्टर दीपक आचार्यले चारहजार २५० मिटरको उचाईमा गल्फ खेलाउने विषय चुनौतीपूर्ण रहेको बताए ।  वरिष्ठ खेल पत्रकार तथा नेपाल खेलकुल पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले खेलकुद पर्यटनको हिस्सा रहेको र अर्थतन्त्रमा ठूलो योगदान पार्ने कुरा आफूहरुले कयौंपटक प्रवाह गर्न खाजेको भए पनि अहिले आएर मात्र सफल भएको दाबी गरे । उनले भने, “बाह्रखरीले हाम्रो मर्म उजागर गरिदिएको छ ।” 

अब विश्वमा नेपालमा खेलहरु खेलहरु खेलिन्छन् भन्ने सन्देश जाने उनको अनुभव छ । फुयालले थपे, “अब विश्वमा सन्देश जान्छ कि नेपालमा गल्फ खेल खेलिन्छ, त्यो पनि एभरेस्टको काखमा ।”

प्रकाशित मिति: सोमबार, असोज ६, २०७६  १९:३२
प्रतिक्रिया दिनुहोस्