site stats
बाह्रखरी :: Baahrakhari
खेल
उद्घाटनसम्म पनि भीआईपी प्यारापिट अधुरै !

नेपालगन्ज । खेलकुदको कुम्भ मेला आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता यतिबेला प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा चलिरहेको छ । तर प्रतियोगिताको औपचारिक उद्घाटन भने बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ । 

भीआईपी प्यारापिटको निमार्ण कार्य समयमै सम्पन्न नहुने भएपछि उद्घाटन अघि नै खेल सञ्‍चालन गरेको राष्ट्रिय खेलकुद परिषद जोडतोडका साथ रंगशालामा निर्माणमा केन्द्रित छ । उद्घाटनका लागि एक दिनमात्र बाँकी रहँदासम्म पनि भीआइपी प्याराफिटको कार्य सम्पन्न भएको छैन् । 

मंगलबारसम्म भीआइपीतर्फको छाना हाल्ने काम सकिए पनि सिट बिछ‍्याउने काम सकिएको छैन् । समय भइसक्दा पनि पूर्वाधार निर्माणको काम अधुरै छ । 

आठौं राष्ट्रिय खेलकुदको पूर्वाधार निर्माण लागि सरकारले नेपालगञ्जमा मात्र करिब एक अर्बको लगानीमा भौतिक संरचनाको निर्माण गरेको छ । नेपालगञ्ज रंगशाला निर्माण गर्न लागेको भीआईपी प्यारापिट आठौं राष्ट्रिय खेलकुदको सबभन्दा ठूलो योजना हो । आठौंको चर्चा नेपालगञ्‍जले जति पाएको छ । त्यो भन्दा बढी भीआईपी प्यारापिटको निर्माणको छ ।

'भीआईपी प्यारापिटको निर्माण सम्पन्न भइसकेपछि प्रतियोगिताको उद्घाटन गर्नै कि, पहिले नै उद्‍घाटन गर्ने’ भन्‍ने अन्योलकाबीच सुरुआतमा गरेको आयोजक यतिबेला रनभुल्लमा छ । 


उद्घाटनको दिनसम्म रंगशालाको प्यारापिट निर्माणले पूर्णता पाउने वा नपाउने भन्‍ने विषयमा निर्माणमा संलग्न इन्जिनियर नै अनविज्ञ छन् । यदी निर्माण कार्यले पूर्णता नपाए अस्थायी प्यारापिट बनाएर भएपनि उद्घाटन गर्ने आयोजकको तयारी छ । 

समयमा सामान नआएकोले पनि प्यारापिट निर्माण कार्यमा ढिलाइ भएको निर्माण कार्यमा संग्लन इन्जिनियर बताउछन् । ती इन्जिनियरले भने, "सामान चैत १८ गतेसम्म आइपुग्ने कार्यतालिका थियो । तर, सामान २५ गते मात्र रंगशाला परिसरमा पुगेको थियो ।" चिनियाँ ठेकेदारले प्यारापििट निर्माणको जिम्मा लिएका थिए । हाल ठेकेदार र कामदारहरु प्यारापिट निर्माणको कामको चापमा छन् ।
 
वैशाख ५ गतेभित्र प्यारापिट जडानले पूर्णता पाउने विश्वाससहित कामदाहरु दिन रात खटीरहेका छन् । निर्माण शाखाका इन्जिनियर विश्वमित्र सञ्जेलका अनुसार निर्माण कार्य उदघाटनको एक दिन अघि नै काम सक्ने विश्वास रहेको बताउँछन् । 

“यही तरिकाले काम गर्दै गए, प्याराफिट उद्घाटनको लागि तयार हुनेछ हामी त्यसैमा जुटि राखेका छौ”, ईन्जिनियर सञ्जेलले भने । एकातर्फ रंगशालाको प्यारापिटले पूर्णता पाएको छैन भने अर्कोतर्फ पौडी पोखरीको काम पनि अधुरै छ । 
 
पौडी पोखरीमा ‘टायल’ हाल्ने काम अन्तिम चरणमा पुगे पनि पूर्णता भने पाएको छैन् । पौडी पोखरी कै काम पूरा गर्नको लागि पोखरीमा कामदारहरुको घुइँचो लागेको देख्न सकिन्छ । 

‘टायल’ हाल्ने काम सकिए लगत्तै पोखरीमा पानी हाल्ने काम अघि बढाउने ठेकेदार टोलीको तयारी छ ।  नेपालगञ्ज रंगशालाको फुटबल मैदान उद्‍घाटनको लागि तयारी अवस्थामा छ । मैदानमा ‘ट्रयाक’ को आधारभूत काम सकिसकेको छ । भव्य उद्‍घाटनका लागि बनाउन थालिएको भीआईपी प्याराफिट उद्‍घाटनको दिनसम्म पनि बन्‍ने वा नबन्‍ने भन्ने अन्योल नै छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १९:४२
प्रतिक्रिया दिनुहोस्